kumari
stcnepal

राजनीति सेवा हो कि मण्डी ओढेर खाने मेवा ?

राजन कार्की
विगत १५ वर्षमा लोकतान्त्रिक गणतन्त्र जनताका लागि भतभती पोल्ने सिस्नो घारी मात्र भयो । २०६३ सालको परिवर्तनपछिका १५ वर्षको राजनीतिक बेथिति भोगेका जनताले निर्वाचनमा मत माग्न आएका प्रत्येक पार्टी, नेतालाई प्रश्न गर्नुपर्ने भएको छ– राजनीति सेवा हो कि मण्डी ओढेर खाने घिउ वा मेवा ?
विद्वान गेटेले भनेका थिए– व्यवहार त्यो ऐना हो, जसमा प्रत्येक प्रतिविम्ब देख्न सकिन्छ । विवेक छ भने हाम्रा नेता, शासकहरुले आफूलाई आफ्नै व्यवहारको ऐनामा हेरुन्, उनीहरुभन्दा विवेकहीन अरु कोही देखिने छैनन् । सत्य यही हो । यसकारण आसन्न निर्वाचनमा पार्टी र नेताको भन्दा पनि जनताको अग्नि परीक्षा हुनेछ । उनीहरु जनविरोधी नेतालाई स्वीकार गर्छन् कि अस्वीकार गरेर हराइदिन्छन् ?

नेतृत्वको स्वार्थी राजनीति र भ्रष्ट चरित्रका कारण लोकतन्त्र, राष्ट्रवाद, सुशासन र समृद्धि जुवाडेको थर्की बन्यो, राजनीति नेताहरुका लागि महाभारत कालका शकुनी अथवा राणाकालको दीव्यदेवको चमत्कारिक कौडा बन्नपुग्यो । यति सम्मको अतिसार राजनीतिक व्यभिचार जनताले सहिरहेका छन् ।जहाँनियाँ शासन चलाए पनि राणाहरुले अंग्रेजलाई रिझाएर १८५७ मा नयाँ मुलुक फिर्ता लिएका थिए । लोकतान्त्रिक शासनले त भएको मुलुकलाई पनि खँगार पारिरहेका छन् ।

सन १९५० मा मोहनशमशेरले भारतसँग सन्धि गरेर प्रतिगामी पाइला के चाले ७२ वर्षसम्म नेपाल त्यो दलदलबाट उम्कन सकेको छैन । १९५० मै भारतसँग सन्धि गर्ने सिक्किमले त राष्ट्र नै गुमायो । त्यसअघि नै १९४९ मा भारतसँग सन्धि गरेर परराष्ट्र र सुरक्षानीतिमा पराधीन बनेको भुटान आज नेपालभन्दा आर्थिक र कूटनीतिक पक्षमा दह्रिलो छ । एउटा चुङ्खा आयोजनाले भुटानी जनताको कायापलट नै गरिदिएको छ ।
नेपाली लोकतन्त्रको प्राथमिकता जनता र राष्ट्र भएको भए ब्राजिलपछिको दोस्रो जलस्रोतको धनी नेपाल समृद्धिको लय समातिसकेको हुनेथियो । एउटा मेलम्चीका लागि २८ वर्ष खर्चियौं, ३२ अर्वभन्दा बढी खर्च गरेर पनि काठमाडौं ल्याउन सकेका छैनौं । देशको प्राथमिकताको योजनाको यो हाल छ । देशमा विकास आयोजना भनेका चाल्नो हुन्, चाल्नोबाट चुहिनेबाहेक अरु के नै हुन्छ र ?

आफ्ना नागरिकलाई बाँकी दुनियासँग अलग राख्ने उत्तरकोरिया अमेरिकासँग आमनेसामने कुरा गर्ने हैसियतमा पुगिसक्यो । उत्तरकोरियामा लोकतन्त्र छैन तर राष्ट्रतन्त्र मजबुत छ । मजबुत राष्ट्रतन्त्रमा लोकले चाहेको कुनै पनि तन्त्र कुनै पनि बेला स्थापित गर्न सकिन्छ । स्वाभिमानको अभिमानले देश उठाउँछ । हामीसँग लोकतन्त्र छ, स्वाभिमान मैनबत्ती पग्लिएजसरी दिनदिनै पग्लिदै गएको छ । वर्तमान कालखण्डमा यो नियति झन झन दुर्भाग्यजनक रुपमा बढेको छ ।प्रत्येक वर्ष तिहारको पञ्चक, राणाकालमा जुवा फुक्नु र लोकतन्त्रमा भ्रष्टाचार फुक्नु बराबर भएको छ । यिनलाई न कानुनले, न राज्यसञ्जालले, कसैले पनि छुन सक्दैन । भ्रष्टाचार सर्वकालिक र सर्वक्षेत्रमा फैलिएको छ । देशमा ७६१ सरकार छन्, प्रत्येक सरकारमा पार्टीका कार्यकर्ताहरु नयाँ नयाँ श्री ३ बनेर लुटिरहेका छन् । लुटिने जनता हुन्, लुटिने देश हो ।

देशका जननेताहरु विदेशीका तोक आदेशमा चल्ने विश्वासिला खजाञ्ची बनेका छन् । परिवर्तन भयो भनेर मूलाजत्रो नाक फुलाएर के गर्ने ? लोकतन्त्र आयो भनेर धक्कु लगाएर के गर्ने ? कुन दिन नेपालको दण्डहीनता जेनेभाको मुद्दा बन्नसक्ने खतरा बढेको छ । सोझा जनतालाई झुक्याएर त्रिदेव– ब्रम्हा, विष्णु, महेश्वर हामी नै ह्वौ भनेर गुड्डी हाँक्नेहरु नेताहरुको जनताको सेवक हुनुपर्ने हो, विदेशी मालिकका भरिया पो बनिरहेका छन् । भरियाको काम अर्काको भारी बोक्ने र ज्याला लिने हो । यस्ता भरियाले लोकलाई सुशासन र सेवा कसरी दिनसक्थे र ? त्यसैले देश बेहाल, बेथितिको भूमरीमा फस्न पुगेको छ ।

लोकतन्त्र अगाडि छ, राजनीति पछाडि हेर्छ । लाटोकोसेरो अँध्यारोमा देख्छ, हाम्रो राजनीति उज्यालोलाई अँध्यारो पार्छ । छातीमा देश र नेपाली भेष भएको भए, मुखमा लोकतन्त्र र व्यवहारमा शक्तिको भोकतन्त्र नदेखाएको भए, भाषणमा क्रान्तिकारिता र कृयाकलापमा दासता प्रदर्शन नगरेको भए, नेताहरु दक्षप्रजापतिको बोको टाउकेजस्तो बन्ने थिएनन् । जनताका नजरमा यति धेरै घृणित हुने थिएनन् । जनताले लोकतन्त्रका नेतृतवलाई श्रीखण्ड भनेर टीका लगाए, नेताहरुले लोकतन्त्रलाई उपहास बनाइदिए । जनता, जनमत, जनबल र जनअपेक्षालाई कुल्चिनाले देश जंगलराजमा परिणत हुनपुगेको हो ।
चम्कने बस्तु सबै हीरा हुँदैनन् भनेको सही साबित भएको छ । अब्राहम लिंकनले भनेका थिए– कुशल शासक भविष्यको चिन्ता गर्छन् राजनीतिज्ञ आगामी चुनाव । नेपाल राजनीतिका नाममा व्यवसाय बन्यो ।लोकतन्त्र नीतिकथामा सत्तलसिंह महाराजको कथाजस्तो भयो ।लोकतन्त्रले देश बेच्यो कि बेचेन भन्ने यक्ष प्रश्न खडा छ । नासिर र नासूरमा अन्तर नदेख्ने अझै भ्रमको सदबिज छर्दैछन् । जनताले थाहा पाइसकेका छन्– वीरका सन्तान नेताहरु खाँटी भूमिपुत्रसम्म बन्न सकेनन् । जनता मारेर र देश समस्यामा पारेर आफू धनाड्डे हुने, शक्तिशाली बन्ने र विदेशी पोस्ने नेतृत्वको सिद्धान्त, नीति नैतिकता भयो ।

लोकतन्त्रमा यो मूर्दा राजनीति हो । मूर्दा राजनीतिले जीवन दिनसक्दैन ।
देश मै हुँ भन्छन् यिनीहरु । यी देश होइनन् देशका दशा हुन्, सराप हुन् । दलीय स्वार्थभन्दा माथि उठ्न नसक्नेहरु सपनामा छन् । यिनीहरुको अनुहारमा छर्लङ्गै देखिन्छ– गणतान्त्रिक लोकतन्त्रको भ्रष्टाचारी क्यान्सर लागेको ख्याउटे र मरञ्च्याँसे अनुहार । मृत्युनिकट पुगिसकेको यो चरित्रले हाँकेको लोकतन्त्रले न स्वर्गको सुख दिन्छ, न वर्तमानलाई नै सुख दिनसक्छ । जनताले नेताको दुश्चरित्र चिनेका छन्, अब जनताले यिनलाई दण्डित गर्ने समय आयो ।
जनताले साहस देखाउलान् । राम्रालाई जनप्रतिधित्व सुम्पेलान् ?

नेपाल दक्षिण एसियामात्र होइन, विश्वमै ऐतिहासिक परिवर्तन भएको मुलुक हो । १५ वर्ष भयो परिवर्तन भएको । तर यो १५ वर्षमा नेता मोटाए, जनता दुब्लाए । अस्तित्व साँघुरियो, विदेशी चलखेल बढ्यो । एक से एक शेरहरू थिए परिवर्तनका बेलामा, तिनीहरु सत्तामा पुग्नासाथ यसरी रङ् बदल्ने छेपारोजस्तो बने कि जनताको विश्वासमा तुषारापात भयो । जनताले घृणा गर्न थालेका छन् ती नेताहरूलाई । पार्टीका नेताहरू कलाकारको गीतसँग, हास्याव्यङेगसँग, पत्रकारको लेखनीसँग थरहरि हुन थालेका छन् ।

कारण यिनीहरुको भ्रष्टाचारी चरित्रले हो । लोकविरोधी व्यवहारले हो । यस्ता नेताहरुको चिरफार गर्ने हो भने यिनको पेटमा लोकतन्त्र होइन, भ्रष्टाचारको कन्टेनरमात्र फेला पर्नेछ । देशमाथि यति ठूलो गद्धारी ? गद्धारीका लागि दण्ड पाउनु पर्नेहरू शासक बनेका छन् । नेपालभन्दा कान्छो अमेरिका, विश्वशक्ति हो । जेठो नेपाल, कहिल्यै उपनिवेश नबनेको नेपाल भिखारीबाट माथि उठ्न सकेको छैन । नेपालभन्दा धेरै पछिमात्र खुलापनको बाटोमा हिंडेको स्वीट्जरलैण्ड कहाँ पुग्यो ? चमत्कारको प्रतिक्षालय भेट्न नेपाल बामे सर्दैछ । कठै हाम्रा नेता, हाम्रो परिवर्तन, हामीले देखेका शान्ति र समृद्धिको सपना ?
एकथान राजा फालेर हजारौं महाराजा बनाउनुको मूल्य नेपाल र नेपालीले चुकाइरहेका छन् । विनोवाभावेले जो उपकार गर्नेलाई नीच मान्दछ, त्योभन्दा नीच अर्को कोही हुँदैन भनेकोसाबित भयो । जनता सोझा भएकाले भ्रष्ट नेताले हेपेका हुन् । जनता अव सालिक बन्नुहुन्न । जनता जिवन्त बन्नुपर्छ ।
आप्mनो र देशको भविष्य सुनिश्चित गर्न प्रत्येक पार्टी र नेतालाई जनताले सोध्नैपर्छ– राजनीति सेवा हो कि मण्डी ओढेर खाने घिउ वा मेवा ? अनिमात्र जनताले निर्णय गरुन् ।

footer