kumari
stcnepal

नेपाली कांग्रेसलाई आफूहरुले बुई चढाएर सत्तामा पुर्‍याएको : वर्षमान पुन

बुटवल । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले पाँच वर्षका लागि सडकमा पछारिएको नेपाली कांग्रेसलाई आफूहरुले बुई चढाएर सत्तामा पुर्‍याएको टिप्पणी गरेका छन् । तर कांग्रेस नेताहरुमा उन्माद देखिएको भन्दै उनले फेरि सत्ता बाट सडकमा पुर्‍याउन सक्ने बताएका छन् ।

माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले माओवादी केन्द्र र सत्ता गठबन्धन आवद्ध अरु दललाई सार्वजनिक टिप्पणी मार्फत नहेप्न चेतावनी दिए ।‘कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन्,’ पुनले भने, ‘हामी सरकार बनाउन सक्छौं, भत्काउन सक्छौं । सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्‍याउने ताकत हामी सँग छ । कांग्रेस नेताहरुले बुझ्न जरुरी छ ।’

उनले चुनावी गठबन्धन विरुद्ध रहेका कांग्रेस नेतालाई ०७४ को निर्वाचन परिणाम स्मरण गर्न सुझाव दिए । केपी ओलीमा सत्ता उन्माद चढे पछि उनले भोगेको हविगत बाट पाठ सिक्न र आफ्नो वास्तविक शक्ति सम्झिएर के बोल्ने, के नबोल्ने बारे विचार गर्न आग्रह गरे । ‘सत्ता उन्मादले केपी केपी ओली प्रतिगमनको नाइके हुनुभयो । पटकपटक संसद विघटन गर्नुभयो’, उनले भने, ‘आफ्नो कर्मका कारण दुई तिहाइ विशाल जनमत सहितको शक्तिशाली प्रधानमन्त्री आज सडकमा पुग्नुभएको छ, ६ महिना देखि बिना एजेण्डा संसदमा नारा लगाइरहनुभएको छ ।’

सम्बोधनका क्रममा नेता पुनले माओवादी केन्द्र कसै सँग तालमेल नगरी निर्वाचन लड्न र जित्न सक्षम रहेको दाबी समेच गरे । स्थानीय तह र संघीयताका लागि माओवादी लडेको चर्चा गर्दै पुनले त्यसको नेतृत्व गर्न पनि माओवादी सक्षम साबित भएको बताए ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादनका आधारमा घोषणा गरेको पाँच उत्कृष्ट पालिका मध्ये पहिलो, तेश्रो र पाचौं माओवादी केन्द्रले नेतृत्व गरेका भएको उनले सुनाए ।

 

 

footer