kumari
stcnepal

लुम्बिनी प्रदेशका काँग्रेस नेताहरूले भने गठबन्धन नगरौ, गरिए स्वीकार हुन्न

बुटवल । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तीन तहकै निर्वाचन गठबन्धन गरेर प्रतिष्प्रर्धा गर्ने बताइरहेका बेला लुम्बिनी प्रदेशका काँग्रेस नेताहरु भने गठबन्धनको विपक्षमा छन् । गठबन्धन गरेर चुनावमा जाँदा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई फाईदा भएपनि काँग्रेसलाई घाटा हुने भन्दै कांगैस नेताहरु गठबन्धनको विपक्षमा उभिएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहे पनि स्थानीय नेता कार्यकर्ता त्यसको विपक्षमा देखिएका हुन् । संस्थापनइतर समूहमा रहेका नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले केन्द्र बाट गठबन्धन लादिए त्यो स्वीकार्य नहुने र काँग्रेस एक्लै चुनावमा जाने बताए । कार्यकर्ताको भावना पनि काँग्रेस एक्लै चुनावमा जानुपर्ने रहेकाले नेतृत्वले कार्यकर्ताको भवना बुझेर निर्णय गर्ने उनको विश्वास छ । कार्यकर्ताको भावना विपरित गठबन्धन गरिए त्यो काँग्रेसकै निम्ति दुर्भाग्य हुने उनको भनाइ छ । केन्द्र बाट गर्ने गठबन्धनको निर्णय आफूहरुले स्वीकार नगर्ने उनले बताए ।

उनले गठबन्धनको निर्णय पार्टीको स्थानीय कमिटीलाई दिनुपर्ने तर्क गरे । ‘कहीं कतै आवश्यकता ठानिए स्थानीय कमिटीले निर्णय गर्न सक्ने गरी केन्द्र बाट खुला गरिनुपर्छ, आम रुपमा गठबन्धन सम्भव छैन’, उनले भने । काँग्रेसले अहिले लुम्बिनी प्रदेशमा पालिकाहरुमा चुनाव केन्द्रित रणनीति बनाइरहेको छ । काँग्रेस नेता फणिन्द्र शर्माले गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरा कार्यकर्ताको मनोभावना बुझे पछि मात्र थाहा हुने बताए । ‘काँग्रेसले गरिरहेको चुनाव केन्द्रित अभियानका क्रममा अधिकांश कार्यकर्ताको मत गठबन्धन गर्नु हुँदैन भन्ने छ, तर केहीको मत भने गठबन्धन स्थानीय आवश्यकताका आधारमा गर्नुपर्ने भन्ने छ’, उनले भने ।

निर्वाचन सम्भाव्यता अध्ययन तथा रणनीति योजना निर्माण समिति संयोजक तथा काँग्रेस रुपन्देही उपसभापति डा.अनिता शाहले निर्वाचन संभाव्यता अध्ययनका क्रममा अधिकांश कार्यकर्ताको मत गठबन्धनको विपक्षमा रहेको बताइन् ।

तर, लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा भने स्थानीय कमिटीको निर्णयका आधारमा आगामी स्थानीय तहमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपा बीच गठबन्धन गर्ने सहमति भएको छ ।

 

 

 

footer