kumari
stcnepal

चैत मसान्तमै मेलम्चीको पानी उपत्यकामा वितरण हुन्छ : खानेपानी मन्त्री

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिना भित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको दावी गरेका छन् ।

विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय, सोफेन लगायत सरोकार भएका निकायले आयोजना गरेको कार्यक्रममा उहाँले मेलम्ची बाट दैनिक १७ करोड लिटर पानी ल्याउँदा पनि अभाव हुने भएकाले याङ्री र लार्केको पानी पनि राजधानीमा ल्याउने सहमति भइसकेको बताए। ‘सुक्खाग्रस्त क्षेत्रमा पम्पिङ र लिफ्टिङ गर्दा सिँचाइकै जस्तो मूल्य निर्धारणका लागि पहल गर्नेछु, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौँ वासीलाई खुवाउने सपना यही चैत मसान्त सम्ममा पूरा हुनेछ, मेलम्चीको विकल्पका रुपमा सिस्नेरी लगायतका स्रोतको पनि अध्ययन भइरहेको छ’ उनले भने ।

शुद्ध खानेपानी नपुगेको सामुदायिक विद्यालयमा मन्त्रालयले पानी पुर्‍याउने प्रतिबद्धता मन्त्री चौधरीले बताए । तराई मधेसमा ८० देखि ९० प्रतिशत सम्म राज्यको लगानी गरेर ठूला ठूला ओभरहेड ट्याङ्की निर्माण गरिए पनि पूरा नभएको उल्लेख गर्नुहुँदै मन्त्री चौधरीले पूरा गर्ने गरी योजना अघि बढाइएको बताए । मन्त्रालयका सचिव सुरेश आचार्यले आर्सेनिक युक्त पानीलाई स्वच्छ र सुरक्षित बनाउन जरुरी रहेको उल्लेख गर्दै भूमिगत जलस्रोतका विषयमा थप अध्ययन र अनुसन्धान गरिनु अवाश्यक रहेको सुनाए । मन्त्रालयले ‘पानीको स्रोत सँग जोडिएको हाम्रो ज्ञान, मूल फुटाउने हाम्रो अभियान’ का साथ विशेष कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ४० प्रतिशत चुहावट रोक्न सके यसले पनि धेरैलाई राहत मिल्ने भएकाले ध्यान दिन सचिव आचार्यले निर्देशन दिए । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले भूमिगत पानी व्यवस्थापन गर्न नसक्दा समस्या भएको बताए । वर्षामा एक हजार ६०० मिलिलिटर पानी पर्ने देशमा वर्षाको पानी सङ्कलन नगर्दा समस्या हुने गरेको उनको बुझाइ थियो ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले सुन्दरीजल बाट अहिले पनि उपत्यकामा ७० प्रतिशत पानी जाने गरेकामा मूलमुनि भने खानेपानी नभएकाले पानीको व्यवस्था गर्न मन्त्रालय सँग माग गरे । मेलम्चीको पानी पनि सुन्दरीजलमै प्रशोधन भएर उपत्यकामा वितरण हुन जाने भए पनि सुन्दरीजलवासी पानी हेरेर मात्र बस्ने गरी बनाइएको नीति गलत रहेको उनको भनाइ छ ।

कार्यक्रममा बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुसाल, सोफेनका अध्यक्ष अनिलभद्र खनाल लगायतले भूमिगत पानीको सही रुपमा उपयोग एवं व्यवस्थापन गरिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा पानीका बारेमा माध्यमिक तहका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगित समेत आयोजना गरिएको थियो । सो अवसरमा मन्त्रालयका सचिव आचार्यले रचना गरेका पानी सम्बन्धी चेतनामूलक गीतको मन्त्री चौधरीले विमोचन गरेका थिए ।

 

 

footer