kumari
stcnepal

पेट्रोलियम पदार्थको मूल्य फेरि बढन सक्ने सम्भावना

काठमाडौं । भारतमा चार महिना पछि पेट्रोल, डिजल र खाना पकाउने ग्याँसको मूल्य वृद्धि भएको छ । भारत बाटै नेपालमा इन्धन आयात हुने भएकाले त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने निश्चित छ । भारतले फेरी नयाँ मूल्यसूची पठाउने सम्भावना पनि बढेको छ ।

भारतका पाँच राज्यमा विधानसभा निर्वाचन सकिए लगत्तै मूल्यवृद्धि गरिएपछि चौतर्फि विरोध भइरहेको छ । राज्य सभा र लोकसभा सदस्यहरुले सोमबारको बैठकमा हंगामा गरेपछि बीचमै बैठक स्थगित गर्नुपरेको थियो । रुस बाट छुटमा इन्धन किनेपछि किन मूल्य बढाउनुपर्यो भन्दै सांसदहरुले सरकारलाई प्रश्न गरेका छन् । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले त अब सन् २०२३ मा कांग्रेस सत्तामा फर्किने भविष्यवाणी नै गरेका छन् ।

भारत सरकारले मंगलबार देखि लागू हुने गरी पेट्रोल र डिजेलमा ८० पैसा प्रतिलिटरको दरले मूल्य बढाएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ बढाइएको छ ।हरेक १५–१५ दिनमा भारतले पठाएको मूल्य अनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन हुने भएकाले त्यसको असर नेपालमा पनि पर्ने गरेको छ । नेपाल आयल निगमले पछिल्लो पटक २ चैतमा पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ५–५ रुपैयाँले मूल्यवृद्धि गरेको थियो । यस वृद्धि अनुसार हाल पेट्रोल एक लिटरको मूल्य १५५ रुपैयाँ पर्छ भने डिजल र मट्टीतेलको १३८ रुपैयाँ पर्छ ।

यसै महिना अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्य अत्यधिक बढेर १३ वर्षयताकै महँगो रेकर्ड कायम गरेको थियो । यद्यपि अहिले १४० डलर प्रति ब्यारेल मूल्यमा केही कमी आएर ११८.५९ डलर प्रति ब्यारेल कायम छ । नेपालमा भारतीय आयल कर्पोरेसनले पठाउने मूल्य सूची अनुसार महिनामा दुई पटक स्वचालित प्रणाली अनुसार मूल्य घटबढ हुँदै आएको छ । रुस–युक्रेन युद्ध पछि लगातार मूल्यवृद्धि हुँदा उपभोक्ताहरु मर्कामा परेका छन् ।

 

 

 

footer