kumari
stcnepal

भारतको कुदृष्टि, नेपाली नेतृत्वको अन्धोपन

राजन कार्की
जबदेखि भारतले नेपालको लिपुलेक, कालापानी क्षेत्र भारतको नक्सामा गाभ्यो र यसको नेपालमा उग्रविरोध भयो तवदेखि नेपाल भारत सम्बन्ध चिस्सिएको छ । नेपालको संसदले सर्वसम्मतिले संविधानमा लिपुलेक, कालापनी क्षेत्रको नक्सा अध्यावधिक गरेपछि त भारत यसरी रिसायो कि प्रवुद्ध समूहले तयार पारेको रिपोर्टसमेत बुझ्न मानेन ।

प्रवुद्ध समूक नेपाल र भारतका प्रधानमन्त्रीले गठन गरेको समितिले तयार गरेको थियो । आफैले गठन गरेको समितिले दिएको रिपोर्ट पनि नबुझ्ने भारतको नेपालमाथि कतिसम्म कुदृष्टि रहेछ स्पष्ट भइसकेको छ ।
नेपालसँग अझै पनि संवाद नगरेर भारतले एकतर्फी रुपमा महाकालीमा तटबन्ध निर्माण गरिरहेको छ । कालापानीबाट तिब्बत जोड्ने राजमार्ग खोलेकोमात्र होइन, झन फराकिलो र सर्वकालिक बनाइरहेकै छ । नेपालको नेतृत्व यी सब दृश्य टुलुटुलु हेरेर बसेको छ । चुनाव आयो, चुनावमा समेत सीमामाथिको अतिक्रमण

विषय बनेको छैन । कुनै पनि दलका कुनै पनि नेताले सीमा समस्या उठाएका छैनन् । यद्यपि यो ५ दलीय गठबन्धन सरकार हो ।
अचम्म छ, पुँजीवादी कांग्रेसलाई जनवादी माओवादीसहितका कम्युनिष्टले बोकेका छन् । यी गठबन्धन मिलेर चुनावमा जाने रे ? कस्तो लोकतन्त्र हो यो ? लोकतन्त्रमा त पार्टीहरुले आआफ्ना घोषणापत्र, कार्यक्रम, प्रतिवद्धता बोकेर चुनावमा जानुपर्ने थियो तर जनवादी र समाजवादी दुबै मिलेर सत्ता चलाइरहेका छन्, मिलेर चुनावमा जाने तयारीमा जुटेका छन् । जब सिद्धान्त, नीति, कार्यक्रम केही पनि भिन्नता छैन भने अलग अलग पार्टी किन भनिरहनु पर्छ र ? पार्टी एकीकरण गरेर चुनावमा गए पनि हुन्छ । विश्वमै नभएको लोकतान्त्रिक तमासा नेपालमा देखिएको छ ।

मुख्य सवाल भारतको दादागिरीको हो । १८८० किलोमिटर लामो खुला सीमा छ, आवत जावत कुनै कुरामा रोकतोक छैन । प्रवुद्ध समूले यही खुला सीमालाई कसरी नियमन गर्ने र आपराधिक क्रियाकलाप रोक्ने तथा नेपाल भारतबीचका थप समस्या अरु के के छन्, १९५० को सन्धिलाई के गर्न सकिन्छ भन्ने अध्ययन रिपोर्ट तयार पारेको थियो । भारत सीमा मिच्न चाहन्छ । नियमन गर्न चाहदैन । त्यसैले ७१ स्थानमा सीमा मिचिएका छन् । सीमामात्र होइन, कालापानी, लिपुलेक, लिम्पियाधुराका ठूला नेपाली भूभाग भारतले हकभोगमा लिएको छ । भारतको कुदृष्टि यसरी अघि बढेको छ र नेपाली नेतृत्व अन्धोपन देखाइरहेको छ । भारतको ज्यादतिबारे हाम्रो नेतृत्व कान थुने, आँखा चिम्लेर र मुख बन्द गरेर बस्नुले नेपाल र नेपालीको सतित्व र अस्तित्व दिनदिनै जोखिममा परेको छ ।
भारत कसरी एकपक्षीय रुपमा दङ्गा गराउन फिल्मको समेत सहारा लिन्छ भन्ने शिक्षा हालैको काश्मिर फाइल्स भन्ने फिल्मबाट नेपालले सिक्न सक्छ ।
‘काश्मिर फाइल्स’को सन्देश दङ्गा भड्काउनु हो

नेपाल दक्षिण एसियामा शान्ति, सद्भाव चाहन्छ । यो चाहना विपरितको फिल्म सार्वजनिक भएको छ– काश्मिर फाइल्स । हिन्दु मुस्लिमबीच भड्काउ भाव फैलाउनु दक्षिण एसियामात्र होइन, विश्वभरि नै यसको दुस्प्रभाव पर्छ । यसतिर भारत सरकारले ध्यान दिएन । सत्ताधारी मोदी सरकारले आफ्नो राजनीतिक लाभमात्र हेरेको विश्लेषकहरुले आरोप लगाएका छन् ।
१९४७ मा अलग भएको भारत र पाकिस्तानबीचको मुस्लिम–हिन्दु द्वन्द्व ७५ वर्षसम्म पनि सुल्झिन सकेको छैन । कसरी जातीय द्वन्द्व समाप्त पार्ने भन्ने प्रयास गर्ने बेलामा भारतमा ‘काश्मिर फाइल्स’ भन्ने फिल्म रिलिज भएको छ । यो फिल्मले हिन्दु मुस्लिम हिंसा अरु भड्काउने खतरा देखिएको छ ।
काश्मिर बलिउड फिल्माङ्कनका लागि आकर्षक प्राकृतिक साइट हो । हिन्दु मुस्लिमको पीडा छोपिएको काश्मिर हलिउडपछिको बलिउडले फिल्ममा सबैभन्दा बढी प्रेमगीत फिल्माइएको भूगोल हो ।

यतिबेला ‘काश्मिर फाइल्स’ले जातीय हिंसा भड्काउन १९४७ देखि निभ्न नसकेको आगोमा पेट्रोल हाल्ने काम गरेको छ । काश्मिरको प्राकृतिक छटाभित्रको रक्तकुण्डलाई छचल्क्याउन भारत सरकारसमेत लाग्नु मानवीय दृष्टिकोणले समेत दुर्भाग्यपूर्ण हो ।फिल्मका कलाकार छन् अनुपम खेर, डाइरेक्टर हुन् विवेक अग्निहोत्री । यिनले काश्मिरको घाउलाई ताजा बनाउने प्रयास गरेका छन् ।यो प्रयासमा भाजपा सरकारको समेत समर्थन र सहयोग हुनुले भाजपा र भाजपाको भातृसंगठन आरएसएस भारतमा चुनाव जित्न हिन्दु भावनालाई उराल्न र मुस्लिमविरुद्ध विषबमन गराउन पछि पर्दैन भन्ने स्पष्ट बुझ्न सकिन्छ ।

फिल्ममा सन ९० को दशकको सुरुमै आतंकवादको निशानामा परेर आफ्नै भूमिमा शरणार्थी जीवन बाँच्न बाध्य काश्मिरी पण्डित हिन्दुहरुको कथा देखाइएको छ । फिल्म सफल भयो, पैसा कमायो । यो फिल्मको सफलताको कारण भाजपा र हिन्दुवादी संगठनहरु हुन् । विश्लेषकहरु भन्छन्– भाजपाले आफ्नो सिद्धान्त र काश्मिर एजेण्डासँग जोडेरका छन् । स्वयम प्रधानमन्त्री नरेन्द्र मोदी र उनीपछिका नेताहरुले समेत यो फिल्मको प्रचार गरिदिएका छन् । यो फिल्मले भाजपाको सरकार भएका प्रान्तहरुमा कर छुट पाएको छ । यो फिल्म हेरेर टिकट पेश गर्नेलाई भाजपा शासित राज्यमा विदासमेत दिइएको छ । तर फिल्मले साम्प्रदायिक द्वेष फैलाएर हिन्दु मुस्लिमबीच जुन दुर्भावनाको आँधी चलाएको छ, त्यो साह्रै गहिरो हिंसा भड्काउने खालको छ ।

यसअघि पनि ‘उरी सर्जिकल स्ट्राइक’ अर्थात पाकिस्तानभित्रै घुसेर हमला गरेको विषयमा पनि मोदी सरकार र भाजपा नेताहरुले समर्थन गरेका थिए । अहिले जातीय दङ्गा भड्काउवादी फिल्मलाई समर्थन गरेको छ । यो फिल्मले हिन्दुवादीको संरक्षण गर्ने र मुस्लिम समुदायमाथि घृणा फैलाउन उक्साएको देखिन्छ । काश्मिर फाइल्स फिल्मका कारण हिन्दु मुस्लिम बीच द्वेष बढेर रक्तपात भयो भने यसको जिम्मेवार मोदी सरकार हुनेछ । सामाजिक सञ्जाललाई हेर्दा थाहा लाग्छ– हिन्दु दर्शकहरु फिल्म हेरेपछि मुस्लिमविरुद्ध उत्तेजना प्रकट गर्ने गरेका देखिन्छन् । यो फिल्म साम्प्रदायिकता फैलाउने झिल्को हो, डढेलो नसल्कियोस् । सामाजिक सद्भावना भत्कियो भने यसको नतिजा मानवताका लागि दुर्भाग्यपूर्ण हुनेछ ।

मोदी सरकारले नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेकमात्र भारतीय नक्सामा हालेको छैन, भारत शासित जम्मु काश्मिरलाई विशेष राज्यको मान्यता दिने धारा ३७० खारेज गरेर विवादित क्षेत्रलाई भारतमा गाभेको थियो । काश्मिर फाइल्स फिल्म कम, मोदी सरकारको प्रचारवाजी ज्यादा हो भनिदैछ ।
काश्मिर फाइल्समा काश्मिरी पण्डितको बिस्थापित जीवन दर्शाइएको छ । यो पूर्ण यथार्थ फिल्म होइन भन्छन् गम्भीर खालका विश्लेषकहरु । फिल्ममा काश्मिर किन अशान्त छ भनेर देखाइदैन । फिल्मको उद्देश्य बहुसंख्यक मुसलमान समुदायबाट अल्पसंख्यक हिन्दुलाई खतरा छ भनेर मात्र देखाइएको छ । मुस्लिम समुदायले हिन्दुलाई त्यहाँबाट लखेटिरहेका छन् भन्ने देखाउनु फिल्मको स्पष्ट उद्देश्य देखिन्छ ।

त्यतिबेला हिन्दुकोमात्र होइन, मुसलमानको पनि हत्या भएको थियो । त्यो कुरा फिल्ममा देखाइएको छैन । यसकारण फिल्म एकपक्षीय छ । इतिहास भन्छ– पहिलो राजनीतिक हत्या १९८९ अगस्त ३१ मा भएको थियो । ती नेसनल कम्फरेन्सका नेता मोहम्मद युसुफ हलवाईको थियो । यसअघिका आतंकवादी हमला पनि मुसलमानमाथि नै भएको थियो । काश्मिरका प्रहरी महानिरीक्षक जिएमए बटाली बाल बाल बाँचे तर उनका अंगरक्षक मारिएका थिए । यसको केही दिनमै जिएमए बटालीका भाइ गुलशन बटाली आतंककारीबाट मारिएका थिए ।
१९४७ को देश विभाजनको क्रममा धेरै हिन्दु भारत आए, धेरै मुसलमान पाकिस्तान गए । यसक्रममा भड्किएको दङ्गामा २० लाखभन्दा बढी हिन्दु, मुस्लिम मारिए । त्यसपछि पनि मारिनेक्रम जारी रह्यो । काश्मिर स्वतन्त्रताको माग गर्नेहरु त सवालाखभन्दा बढी मारिएका छन् । भारतीय सैनिक हस्तक्षेपका कारण समष्टि काश्मिर दङ्गा क्षेत्र बनाइएको छ । दङ्गाको मुख्य कारण भारतको पक्षधर हो कि होइन भनेर मात्र हेरियो । यो फिल्ममा हिन्दु पूर्वन्यायाधीशको हत्या देखाइएको छ । त्यही समयमा ८० वर्षका मौलाना मसुदी भन्ने नेताको हत्या देखाइएन किन ?

नेसनल कन्फ्रेन्सका मुसलमान समुदायका पूर्वमन्त्री, सांसद मारिएका थिए । फिल्ममा यी दृश्यको दबाइएका छन् । आतंककारीहरुले धेरै मुस्लिम सञ्चारकर्मी मारेका थिए, त्यसबारे पनि फिल्म मौन छ । भारतको पक्षमा हिन्दुमात्र होइन, मुसलमान पनि उभिने गरेका छन्, ती सबैमाथि भएका दमन केही पनि फिल्ममा देखिदैन ।
काश्मिर फाइल्सले इतिहास खोतल्छ, एकपक्षीय रुपमा खोतल्छ । जुन इतिहासलाई तोडमरोड गर्ने कुकर्म हो । यस्ता फिल्मले शान्ति खलबल्याउँछ, दक्षिण एसियालाई अरु लामो समय अशान्त पार्न सघाउँछ । यो फिल्मले समाजलाई उद्वेलित पार्छ, समाजलाई बिथोल्छ । मान्छे मान्छेबीच बिभेद बढाउँछ ।

 

footer