kumari
stcnepal

आदिवासी जनजाति महासंघमा कांग्रेस र एमाले बीच गठबन्धन हुने

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनमा नेकपा एमाले र नेपाली कांग्रेस निकट संगठन बीच गठबन्धन हुने भएको छ ।

नवलपरासीमा जारी महासंघको १० औं महाधिवेशनमा नेतृत्व छान्ने तयारी भइरहँदा एमाले र कांग्रेसले एउटै ‘प्यालन’ बनाएर चुनाव लड्ने तयारी गरेका हुन् । एमाले नेता पासाङ शेर्पाले एमाले र कांग्रेस निकट संगठनबाट एउटै प्यानल बनाएर प्रतिस्पर्धा गर्ने गरी छलफल भइरहेको जानकारी दिए । ‘सबै टुंगिसकेको छैन, अहिले छलफल गरिरहेका छौं,’ उनले भने । नाम टुंग्याउने बारे छलफल भइरहेको उनले बताए ।

कांग्रेसलाई अध्यक्ष दिएर अन्य पदाधिकारी एमालेले लिने तयारी गरिरहेको छ । महाधिवेशनमा नेतृत्व चयनका लागि बिहीबार नै उम्मेदवारको मनोनयन दर्ता हुने छ ।कांग्रेस र एमालेले एउटै प्यानल बनाउने भएपछि माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी निकट संगठनको अर्को प्यानल बनाउने तयारी भइरहेको छ ।

‘कांग्रेस एमालेका नेताहरु नै प्यानल बनाउन लागि परेका छन्,’ माओवादी केन्द्र निकट एक नेताले भने, ‘उनीहरुले प्यानल बनाए पछि अब हाम्रो पनि प्यानल बन्छ ।’ महासंघको चुनावमा यसअघि पनि एमाले र कांग्रेस एकै प्यानल बनाएर प्रतिस्पर्धा गर्ने गरेका थिए ।

 

 

footer