kumari
stcnepal

पार्टीका नेता–कार्यकर्तालाई सदाचारका सात नीति अपनाउन निर्देशन दिए एमाले अध्यक्ष ओलीले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई सदाचारका सात नीति अपनाउन निर्देशन दिएका छन् ।

बिहीबार तेस्रो केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरुलाई आसन ग्रहणको लोभ त्याग्न देखि दुखका बेला जनताकोमा पुग्नुपर्ने सम्मको सात सदाचार अपनाउन निर्देशन दिएका हुन् ।

आसन ग्रहणको लोभ नगरौं, वक्ता घटाऔं

अध्यक्ष ओलीले पार्टी कार्यक्रम आयोजना हुँदा नेताहरुले मञ्च भरिने गरेकाले त्यस्तो प्रवृत्ति त्याग्न निर्देशन दिएका छन् । अधिकतम ५ जना सम्म वक्ता राख्न र उनीहरुलाई मात्रै मञ्चमा राख्न उनले आग्रह गरेका छन् ।

‘एउटा जिल्लामा लगभग ५० जना प्रदेश कमिटी सदस्य हुनुहुन्छ । मञ्चमा किन आसन ग्रहण ? यो कुरा छोडौं’, ओलीको निर्देशन छ ।

स्थानीय फूल प्रयोग, खादाको तमासा नगरौं

आगामी निर्वाचनमा सके सम्म मालाको कम प्रयोग गर्न अध्यक्ष ओलीले निर्देशन दिए । ‘माला र खादाको तमासा नगरौं, भरसक स्थानीय फूलहरु प्रयोग गरौं’, ओलीले भने ।

तर पार्टी प्रवेश हुँदा उत्सव हुने भएकाले स्थानीय फूलले स्वागत गर्नु उचित हुने ओलीले बताए । ‘साथी प्रवेश गर्दा उत्सव मनाउनै पर्छ, त्यो ठूलो उत्सव हो नि’, अध्यक्ष ओलीले भने ।

नेता खोपीको देउता र हाकिम होइन

अध्यक्ष ओलीले पार्टीका नेताहरुले ‘हाकिम’ हुन छोड्नुपर्ने पनि बताए । नेता खोपीको देउता नभएको भन्दै उनले भने, ‘नेता हुने भनेको हाकिम हुनु होइन । हाकिम हुन छोडौं, साथी हो कमरेड भनेको ।’

पार्टी सदस्यहरु समान हुने भएकाले ठूलो र सानोको व्यवहार नगर्न ओलीले निर्देशन दिए । ‘साथीहरु (कमरेड) को जिम्मेवारी फरक कुरो हो । तँ ठूलो कि म ठूलो नभनौं’, अध्यक्ष ओलीले निर्देशन दिए ।

नबोल्ने र कुरा काट्ने होइन, मित्रता गरौं

पार्टी भित्र मन नपरेको मान्छे सँग नबोल्ने र अरुको कुरा काट्ने प्रवृत्ति त्याग्न अध्यक्ष ओलीले निर्देशन दिए । ‘हामी भित्र धम्क्याउने, मन नपरेको मान्छे सँग नबोल्ने प्रवृत्ति छ, त्यो रोकौं’, ओलीको निर्देशन छ । पार्टी सदस्यहरु बीच कुरा काट्ने नभएर मित्रता गर्न पनि उनले सुझाव दिएका छन् ।

सरल जीवनशैली अपनाऔं, अध्ययन बढाऔं

अध्यक्ष ओलीले कसैलाई धम्क्याएर नेता बन्न नसकिने भन्दै फरक ढंगले सोच्न निर्देशन दिए । नेता बन्न सरल जीवनशैली अपनाउनुपर्ने उनको सुझाव छ ।

‘सदब्यबहार गरौं, सदाचारी बनौं । सरल जीवनशैली अपनाऔं, नेता त्यसरी बन्ने हो’ अध्यक्ष ओलीले भने, ‘अध्ययन र व्यवहारले हामी उत्कृष्ट बन्नुपर्छ । हाम्रा शैलीहरु बेटर हुनुपर्छ ।’

सकारात्मक सोचौं, मस्तिष्क सफा राखौं

सही विचारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यमा पुगिने भएकाले सकारात्मक सोच्न ओलीले निर्देशन दिएका छन् । नकारात्मक सोच त्याग्न निर्देशन दिँदै ओलीले भने, ‘हामी दराजमा त फोहोरमैला राख्दैनौं भने हाम्रो मस्तिष्कमा फोहोरमैला राखेर हुन्छ !’

मान्छेको मन जित्नु, दुखमा पुग्नु

केन्द्रीय सदस्यहरुलाई निर्देशन दिने क्रममा अध्यक्ष ओलीले हरेक मान्छेलाई एमाले बनाउन उनीहरुको दुखमा साथ दिन सुझाव दिए । ‘सुखमा पुग्नु भएन भने पनि दुखमा पुग्नू, मान्छेको मन जित्नू’ ओलीको निर्देशन छ, ‘मिठो बोलेर हरेक मान्छेलाई एमाले बनाउनुहोस् ।’

दबाएर कसैलाई ठीक लगाउन नसकिने उनले बताए । ‘दबाएर मान्छेलाई ठीक लगाउन सकिन्न । त्यस्तो हुन्थ्यो भने त म पञ्चे हुन्थे होला नि त !’

 

footer