kumari
stcnepal

मागको तेबर म्यादी प्रहरीका लागि आबेदन

काठमाडौं । स्थानीय निर्वाचनका लागि सुरक्षामा खटिने म्यादी प्रहरीको दरखास्त फारम लिने समय सकिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार चैत ६ देखि ११ गते सम्म दरखास्त फारम लिँदा देशभर २ लाख ८० हजार ४९५ जनाले फारम भरेका छन्। प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरीका लागि दरखास्त फारम खुलाएको थियो। निर्वाचन आयोगले वैशाख ३० गते स्थानीय निर्वाचनको तयारी गरे सँगै म्यादी प्रहरी भर्नाको फारम खुलाइएको थियो।

फारम भरेका बाट १४ गते देखि छनोट सूची प्रकाशनको कार्य सुरू हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताए। अन्तिम नामावली २६ गते सम्म प्रकाशन भएर २७ गते नियुक्तिको काम थालिने र त्यही दिन बाट तालिम सुरू हुने केसीले बताए। म्यादी प्रहरीका लागि हरेक जिल्ला प्रहरी कार्यालयहरूले फारम लिएका छन्। जिल्ला बाट अन्तिम नामावली प्रकाशन भई नियुक्ति भएपछि सम्बन्धित ठाउँहरूका प्रहरी युनिटहरूमा म्यादी प्रहरीलाई तालिम दिन थालिन्छ।

तालिम एक साता देखि १० दिन सम्म हुने प्रधान कार्यालयले जनाएको छ। म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्ष उमेर भएकाले निवेदन दिन पाउने व्यवस्था थियो। म्यादी छनोटमा पूर्वप्रहरी, पूर्वसैनिक लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय फौजी संगठनमा काम गरेका व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ। त्यस बाहेक मापदण्ड भित्र पर्नेहरूलाई समावेश गरिन्छ। म्यादी प्रहरी ४० दिनका लागि नियुक्त हुँदैछन्। ४० दिन खटिँदै तलब-भत्ता-राशन वापत एक जनाले ४३ हजार रुपैयाँ सम्म बुझ्छन्।

त्यसपछि हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि छुट्टै आवेदन मागिने प्रधान कार्यालयले जनाएको छ।

 

 

footer