kumari
stcnepal

कमल थापाले भने पूर्वराजाले मलाई छोडे

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले राजसंस्थाको एजेण्डा छाडेको नभई पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई छाडेको बताएका छन् । ‘वास्तवमा मैले राजसंस्था छाडेको भन्दा पनि राजाले मलाई छाडेको भन्नु उपयुक्त हुन्छ’, थापाले एक भिडियो मार्फत भनेका छन् । उनले २०६२–०६३ सालको राजनीतिक परिवर्तन पछि देश गणतन्त्रमय हुँदा आफूले राजसंस्थाको एजेण्डा अघि सारेको स्मरण गरेका छन् । तर, राप्रपाको एकता महाधिवेशनका क्रममा पूर्वराजा र निर्मल निवास आफ्नो राजनीति नै सिध्याउने ढङ्गले उत्रिएको थापाको भनाइ छ । उनले पूर्वराजाले आफू विरुद्ध किन यति ठूलो कठोर कदम चाले भन्ने बारे कुनै बेला मौका पाए ज्ञानेन्द्र शाहलाई सोध्ने पनि बताएका छन् ।

‘२०६२–०६३ सालको राजनीतिक परिवर्तन पछि जब सिङ्गो देश गणतन्त्रमय भएको थियो । त्यस अवस्थामा ज्यान हत्केलामा राखेर मैले राजसंस्थाको एजेण्डा बोकेर हिँडे । त्यसको पुरस्कार स्वरूप राप्रपाको एकता महाधिवेशनमा मेरो राजनीतिक जीवनलाई सदैव समाप्त पार्ने गरी निर्मल निवासले नाङ्गो हस्तक्षेप गर्‍यो’, थापाले भने, ‘आखिर निर्मल निवासले म विरुद्ध यति कठोर कदम किन चाल्यो ? कुनै दिन मौका पाएँ भने राजा (पूर्वराजा ज्ञानेन्द्र शाह)लाई यसबारे अवश्य सोध्नेछु ।’

सो घटनापछि आफूले सोचाइमा पुनर्विचार गर्नुपर्ने आवश्यकता महसुस गरेको उल्लेख गर्दै अहिले लोकतन्त्र, हिन्दु राष्ट्र र समृद्धिको एजेण्डा बोकेर हिँड्नुपरेको थापाको भनाइ छ । उनले १५ वर्षको राजनीतिक अभ्यासका क्रममा राजनीतिक दल र जनता सँग सम्बन्ध सुधार तथा विश्वास जित्ने बारेमा निर्मल निवास बाट कुनै सकारात्मक काम हुन नसकेको पनि थापाले बताए । राजसंस्था, राजनीतिक दल र जनताको बीचको दूरी झन् बढ्दै भएको सन्दर्भमा अब राजसंस्था पुनर्स्थापनाको सम्भावना नभएको थापाको निष्कर्ष छ ।
‘वास्तवमा १५ वर्षको राजनीतिक अभ्यासका क्रममा हाम्रो निरन्तरको प्रयासको बाबजुद पनि राजनीतिक दल र जनता सँग सम्बन्ध सुधार तथा विश्वास जित्ने बारेमा राजा वा निर्मल निवास बाट कुनै सकारात्मक काम हुन सकेन’, थापाले भने, ‘जसको परिणाम स्वरूप राजसंस्था र राजनीतिक दल र जनताको बीचको दूरी झन् बढ्दै गयो । र, राजसंस्था पुनर्स्थापनाको सम्भावना क्षीण बन्दै गयो ।’

थापाले यो पृष्ठभूमिमा अब लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेण्डा बोकेर जानु बाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन् । यद्यपि राजसंस्था प्रति आफ्नो सम्मान भने कायमै रहने उनको भनाइ छ ।

 

 

 

 

footer