kumari
stcnepal

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले भर्चुअल रुपमा शनिबार स्विच थिचेर सोलु करिडोर प्रसारण लाइनको उद्घाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन हुने भएको छ । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा शनिबार स्विच थिचेर प्रसारण लाइनको उद्घाटन गर्ने ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरु बाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रसारण लाइन करिब ३ वर्ष ढिला गरी गत २ फागुनमा यो प्रसारण लाइन चार्ज गरिएको थियो । नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा यसको निर्माण सकिएको हो ।

सिरहाको मिर्चैया देखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्ला सम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरुको संख्या ३०२ वटा छ ।सोलु करिडोर प्रसारणलाइन आयोजना अन्तर्गत तिङ्लामा १३२/३३ केभी, ३० एमभीए र ३३/११ केभी, ८ एमभीए क्षमताको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ २०७६ बाट सञ्चालनमा छ । अहिले तिङ्ला सबस्टेसन बाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत आपूर्ति हुन थालेको छ ।

२३.५ मेगावाटको सोलु खोलासहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु खोला (दूधकोसी) ८२ मेगावाटको तल्लो सोलु खोला लगायतका जलविद्युत आयोजनाको विद्युत् तिङ्ला सबस्टेसनमा जोडिने छ । यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत आयोजना सँग ३२५ मेगावाटको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ ।

 

 

 

footer