kumari
stcnepal

चेपाङ समुदायको घर भत्काउने र आगजनी गरेको प्रति राज्यमन्त्री प्रजाको असन्तुष्टि

हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जले चितवनको माडी नगरपालिका कुसुम खोलामा चेपाङ समुदायको घर भत्काउने र आगजनी गरेको प्रति बागमती प्रदेश सरकारका राज्यमन्त्री सन्तबहादुर प्रजाले असन्तुष्टि जनाएका छन् ।

वागमती प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री प्रजाले मंगलबार वन तथा वातावरण मन्त्रालयलाई पत्र लेखी सुकुम्बासी चेपाङको घर भत्काउनु र आगजनी गर्नु निन्दनीय भएको बताएका छन् । स्थानीय प्रशासन, प्रदेश र संघीय निकाय सँग राय नलिई सरोकारवाला संघ संस्था बीच छलफल समेत नगरी गत आइतबार घर भत्काएर निकुञ्जले अमानवीय कार्य गरेको राज्यमन्त्री प्रजाले बताएका छन् । ‘नेपालको संविधान २०७२ मा व्यवस्था भएको मानव स्वतन्त्रता, मौलिक हक, आदिवासी, जनजातिको आत्मनिर्णयको अधिकार, जल, जंगल, जमिन माथि आदिवासीको अधिकार हनन् गर्दै निकुञ्ज प्रशासनले ज्याजति गरेको छ । सो विषयमा सरोकारवालाहरु बीच छलफल गरी घरबारबिहीनलाई तत्कालै आवासको व्यवस्था मिलाउन मन्त्रालयको ध्यानाकर्षण गराउँदछौं’ राज्यमन्त्री प्रजाले पत्रमा भनेका छन् ।

उनले घर भत्काउने र आगो लगाउनेहरु माथि आवश्यक छानविन गरी कारबाही र पीडितलाई क्षतिपूर्ति दिन पनि माग गरेका छन् । राज्यमन्त्री प्रजाले माडीको सो क्षेत्रमा बसोबास गर्ने नागरिक माथि पटकपटक अन्याय भइरहेको भन्दै यो समस्या समाधान गर्न गम्भीरता पूर्वक छलफलका लागि वन मन्त्रालयलाई सुझाव दिएका छन् । निकुञ्जले घर भत्काइदिँदा १७ घरधुरी चेपाङ समुदाय घरबार विहीन भएको भन्दै उनीहरुलाई तत्काल बसोबासको व्यवस्था गरिदिन आग्रह गरिएको छ । घटना प्रति दुःख व्यक्त गर्दै राज्यमन्त्री प्रजाले वस्तीमा आगजनीको घटना प्रति अत्यन्त दुःख व्यक्त गर्दै राज्यमन्त्री प्रजाले पीडित नागरिकलाई सान्त्वना दिई आवश्यक व्यवस्था गर्न वन मन्त्रालयलाई आग्रह गरेका छन् ।

 

 

 

footer