kumari
stcnepal

तीन क्यासिनोको इजाजत रद्द

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारलाई राजस्व नतिर्ने तीन वटा क्यासिनोको इजाजत पत्र रद्द गरेको छ ।

पटक-पटक सूचना निकालेर तिर्न आग्रह गर्दा समेत तिर्न अटेर गरेका इन्टरनेशनल प्रालि काठमाडौं, ह्याप्पि आवर प्रालि काठमाडौं र ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन) काठमाडौंको नाममा जारी भएको सञ्चालन इजाजत पत्र/अनुमति पत्र रद्द गर्ने निर्णय मंगलबार मन्त्रीस्तरीय निर्णयले गरेको पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले जानकारी दिए ।ती क्यासिनाको अनुमतिपत्र रद्द गरी खेल सञ्चालनमा रोक लगाउने र उक्त निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्ने निर्णय मन्त्रालयले गरेको हो ।

यी क्यासिनो सर्वोच्च अदालत बाट अन्तरिम आदेश लिएर सञ्चालनमा आएका थिए । यी कम्पनी बारे सरकारले ७ कात्तिक, २७ पुस, १९ माघ र १० चैतमा सूचना निकाल्दै रकम तिर्न ताकेका गरेको थियो । तर, रकम नतिरेपछि इजाजतपत्र रद्द गर्ने निर्णय मन्त्रालयले गरेको हो ।

दुई क्यासिनाको धरौटी जफत

दुई वटा क्यासिनोको भने धरौटी जफत गर्ने निर्णय समेत मंगलबार नै भएको छ । विभागका अनुसार होटल टाइटर वान परिसर भैरहवा र होटल सांग्रिला परिसर काठमाडौंमा सञ्चालित एचएचएल म्यानेजमेन्ट सर्भिसेज (कैटीएम) प्रालिको भने धरौटी जफत गर्ने निर्णय भएको छ ।यो कम्पनीले सरकारलाई तोकिएको रोयल्टी रकम र इजाजतपत्र नविकरण दस्तुत नबुझाएपछि उसले बैंकमा राखेको धरौटी वापतको रकम नेपाल सरकारको राजस्व खातामा खिच्ने निर्णय मन्त्रालयले गरेको हो ।

सो कम्पनीको १४ करोड २० लाख रुपैयाँ बराबरको धरौटी राजस्व खातामा खिचिएको छ । विभागका अनुसार सरकारको राजस्व नबुझाउने क्यासिनो माथि कारबाही गर्ने क्रमलाई पछिल्लो समय तीब्रता दिइएको छ ।

footer