kumari
stcnepal

नक्कली हनुमानहरुकै कारण प्रधानमन्त्री असफलताको मार्गतर्फ

काठमाडौ । गत चैत्र ११ गते अर्थात रामनवमी देखि मुलुक लकडाउनमा रहेको छ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकारले पटक पटक गरेर लकडाउनको समयावधि यहि वैशाख १५ गतेसम्म थपेको छ । मुलुकको लागि लकडाउन आवश्यक भएपनि ओली नेतृत्वको सरकारले जनतालाई भने खासै राहत दिन सकेको अवस्था देखिएको छैन । लकडाउनले गर्दा दैनिक मजदुरी गरी आफ्ना परिवार पाल्ने व्यक्तिहरुको अवस्था दिन प्रतिदिन नाजुक अवस्थामा रहेको छ । बजारमूल्य व्यापक मात्रामा बढेको छ । मुलुकलाई संकट पर्दा पनि कालाव्यापारीहरुले जनतालाई लुट्न छाडेका छैनन् । विभिन्न मुलकुहरुबाट आवश्यक सामान आयात भइरहे पनि उद्योगी व्यापारीहरुले प्रत्येक सामानमा केही न केही मूल्यबृद्धि गरिरहेका भएपनि सरकारले त्यसतर्फ ध्यान पु¥याउन सकेको छैन ।

पछिल्लो समयमा ओली सरकारका मन्त्रीहरु, सल्लाहकारहरु र प्रधानमन्त्रीकै निजी सचिवालय भने रणनीतिक चिन्तन, इमान्दारिता र ज्ञानको अभावमा रुमलिएको छ । मन्त्रीहरु र सल्लाहकारहरुले जनताको सेवालाई भन्दा आफ्ना नातेदारहरुलाई फाइदा पु¥याइरहेका छन् । मन्त्रीहरुले आफ्ना नातेदारहरुलाई यही बेला हो नियुक्ति दिने भनेर धेरै ठाउँमा नियुक्त दिएका छन् । त्यसरी नियुक्ति दिँदा राम्रालाई भन्दा हाम्रालाई नियुक्त दिइएको छ । प्रधानमन्त्री ओलीको अहिलेसम्मको असफलताको कारण सक्कली हनुमानको अभाव हो । प्रधानमन्त्रीको वरिपरि नक्कली हनुमानहरुको लावालस्कर रहेको छ । प्रधानमन्त्री ओलीले आफू सफल हुने हो भने सक्कली हनुमानहरुलाई मन्त्री र सल्लाहकारमा ल्याउन सक्नुपर्दछ । मुलुकलाई अप्ठ्यारो पर्दा प्रधानमन्त्री ओलीले रामायणका केही भाग पढेर त्यसबाट शिक्षा लिन सक्नुपर्दछ । जुब राम बनबास गए त्यसबेला रामले आफ्ना भाई लक्ष्मणलाई भन्दा हनुमानलाई विश्वास गरेको थिए, त्यसलाई प्रधानमन्त्रीले मनन गरेर त्यसै अनुरुप अघि बढ्न सकेको खण्डमा ओलीलाई सफल हुने बाटो अझै बाँकी रहेको छ । हाम्रा मान्छे भन्दा पनि राम्रा मान्छेलाई समेट्न सक्नुपर्दछ ।

दृढ शक्ति, सत्ता भनेको जिम्मेवारी र जवाफदेहिता हो । यी चीजमा इमान्दारिता र कर्तव्यपरायणका साथ जिम्मेवारीको निर्वाह गर्न सक्नुपर्दछ । दृढ शक्ति र सत्तालाई लोककल्याणमा सदुपयोग गर्ने हो । व्यक्तिगत स्वार्थका लागि सत्ताको दुरुपयोग गर्ने होइन । जिम्मेवारीले गर्दा व्यक्ति सानो ठुलो हुन्छ । रामारयणमा हनुमान विभिषणलाई राजा बनाउने सर्तमा रामको पक्षमा ल्याउने कुशल कलाकार थिए । उनी रामप्रति सम्पूर्ण रुपले समर्पित थिए । रामले गलत निर्णय गर्लान् भनेर उनी सँधै चनाखो रहने पात्र रहेका रामायणमा उल्लेख गरिएको छ । तर प्रधानमन्त्री ओलीका मन्त्रीहरु र सल्लाहकार निजी सचिवालयका सहयोगी अर्थात कार्यकारी हात हुनेहरुमा रणनीतिक चिन्तन, इमान्दारिता, ज्ञान र सीपको अभाव अहिले प्रष्ट रुपमै देखिएको छ । उनीहरु जसरी भएपनि प्रधानमन्त्रीलाई खुसी पारेर आफ्नो स्वार्थ पुरा गर्न मात्र लागिपरेका छन् । मन्त्रीहरु र सल्लाहकारहरुले आफ्ना नातेदारहरुलाई विभिन्न ठाउँमा नियुक्त गरेका छन् । यदि केही अपवादहरुलाई छोडेर भन्ने हो भने मन्त्री र सल्लाहकारहरु प्रधानमन्त्रीलाई बद्नाम गराउने प्रयासमा लागेका छन् । सच्चा हनुमानले रामको बद्नाम गराउन सक्दैन । लोकतन्त्रका लागि यति वर्ष लडेका थियो यति वर्ष जेल बसेका थियो भनेर जेल बसेको सावाँ ब्याज समेत केहीले उठाइरहेका छन् । जेल बस्दैमा र लड्दैमा मान्छेमा ज्ञान, सीप र अनुभव हुँदैन भन्ने प्रमाण त ओली सरकारले नै देखाइसकेको छ ।

पछिल्लो समयमा नक्कली हनुमानहरुबाट घेरिएका प्रधानमन्त्री ओली असफल भइरहेका छन् । प्रधानमन्त्री ओलीले अझ सत्तामा रहेर काम गर्ने हो भने रामले किन आफ्नै भाइलाई विश्वास नगरेर हनुमानलाई विश्वास गर्न पुगे भनेर प्रधानमन्त्रीले मनन गर्नुपर्ने आवश्यकता देखिन्छ । रामले आफ्ना भाइ लक्ष्मणलाई भन्दा हनुमानलाई महत्वपूर्ण जिम्मेवारी दिएका थिए, त्यसले पुष्टि हुन्छ हाम्रा मान्छे भन्दा राम्रा मान्छेलाई जिम्मेवारी दिनु पर्ने सन्देश यो कथाले दिएको छ । प्रधानमन्त्री ओलीका विश्वासपात्र भनिएकाहरुको दोहोरो चरित्र समेत देखिएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहेको अवस्थामा अहिले प्रधानमन्त्रीका विश्वासपात्र भनिएका एक दुई बाहेक अन्य सबै दलाहालकै पक्षमा उभिन पुग्ने छ, त्यो त केही समय अघिको पार्टीभित्रको नौटंकीले देखाइसकेकोले प्रधानमन्त्री ओली सफल बन्न चाहने हो भने अहिले केही मन्त्रीहरुलाई छाडेर अन्य सबैलाई बर्खास्त गरी नयाँ टिम ल्याउन सक्नुपर्दछ । मुलुक संकटको भूमरीमा पर्दा पनि व्यक्तिगत स्वार्थ पूरा गर्नेतर्फ उन्मुख भएका मन्त्री र सल्लाहकारहरुलाई तत्काल बर्खास्त नगरे प्रधानमन्त्री ओली समेत असफलताको पगरी गुथ्न बाध्य हुनेछन् ।

प्रधानमन्त्री ओलीले सञ्चार क्षेत्रको सहयोग नै लिन चाहिरेको जस्तो देखिएको छैन । सञ्चार माध्यमलाई गाली गरेर मात्र सरकार सफल हुन सक्दैन । सञ्चारमाध्मको काम भनेको सरकारका काम कारबाहीलाई जनतासामू पु¥याउने र जनताका समस्याहरु सरकारसामू पु¥याइदिने पुलको काम सञ्चार माध्यमको हो । त्यो भूमिका सञ्चार माध्यमहरुले राम्ररी निभाइरहेका छन्, तर ठीक त्यो विपरितका कार्यहरु सरकारबाट हुने गरेको छ । स्वयम् प्रधानमन्त्री नै सञ्चार माध्यमको विरुद्ध खनिनु भनेको लोकतान्त्रिक चरित्रको विरुद्ध हो । आफ्ना केही हुक्के र पिछलग्गुहरुले सञ्चालन गरेका सञ्चारमाध्यमले जति सरकारको बख्याइँ गरे पनि जनताले त्यस्तो सञ्चारमाध्यममा उल्लखे भएका विषयलाई पत्याउन नसकेको हुनाले तत्काल प्रधानमन्त्री ओली सञ्चार माध्यममैत्री बन्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

footer