kumari
stcnepal

जनकपुर–जयनगर रेल शनिबार देखि सञ्चालनमा आउने, रेल चढ्न परिचय पत्र अनिवार्य

जनकपुरधाम । जनकपुर–जयनगर रेल शनिबार देखि सञ्चालनमा आउने भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले शनिबार भर्चुअल माध्यम बाट संयुक्त रुपमा उद्घाटन गरेपछि रेल सञ्चालनमा आउनेछ ।

रेल उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाले बताए । जनकपुरधाम रेल्वे स्टेशनमा रेलको उद्घाटन हुनेछ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउस बाट गर्ने उद्घाटन हेर्नका निम्ति यहाँ ठूलो स्क्रिन जडान गरिनेछ । रेलको उद्घाटन हुने भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले शुक्रबार जनकपुरधाम रेल्वे स्टेशनको अनुगमन गरेकी छन् । उनले उद्घाटनको तयारी भव्य रुपमा गर्न निर्देशन दिएकी छन् ।

रेल चढ्न परिचप पत्र अनिवार्य

नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल संचालन हुन लागेको छ । दैनिक दुई पटक रेल जयनगर बाट कुर्था सम्म सञ्चालन हुने महाप्रबन्धक झाले बताए ।

दुई देशीय यात्रा भएका कारण दुवै देशका नागरिकलाई रेल चढ्न पहिचान खुल्ने प्रमाण पत्र बोक्नुपर्नेछ । नेपाली नागरिकलाई नागरिकताको प्रमाण पत्र, पासपोर्ट या मतदाता परिचय पत्र अनिवार्य बोक्नुपर्नेछ । भारतीय नागरिकलाई पनि पहिचान खुल्ने परिचय पत्र बोक्नुपर्ने महाप्रबन्धक झाले बताए । १० देखि १८ वर्ष सम्मका बालबालिकाको हकमा भने विद्यालयको परिचय पत्र बोक्नुपर्ने उनले बताए ।

 

 

footer