kumari
stcnepal

नेपाली सेना र अमेरिकी सेना बीच संयुक्त अभ्यास हुने

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम ‘ब्यालेन्स नेल’ आइतबार देखि सुरु हुँदै छ । सेनाको रेन्जर फौज र अमेरिकी सेनाको स्पेसल फौज बीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ हुन लागेको हो ।

अमेरिकी सेना र नेपाली सेना बीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्त बाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए। हाल सम्म ब्यालेन्स नेलका ३९ वटा अभ्यास पूरा भइसकेका छन् । उनका अनुसार रेन्जर फौजका करिब चार हजार सकल दर्जालाई यस्तो तालिम प्राप्त भइसकेको छ ।

प्रवक्ता सिलवालले भने, ‘यसपटकको ब्यालेन्स नेल चैत २० देखि वैशाख १३ गते सम्म रेन्जर गणको सिंह महावीर योजना तथा समन्वय महाशाखा छाउनी र रेन्जर तालिम केन्द्र नगरकोटमा सञ्चालन हुनेछ ।’ संयुक्त राज्य अमेरिकाका २० सैनिक र नेपाली सेनाका ९० सैनिक तालिममा सहभागी हुनेछन् ।

तालिममा द्वन्द्वका समयमा मानवअधिकार एवं कानुनको परिपालना, जंगल वारफेयर र सैनिक ट्याक्टिस लगायत अरू विषयमा समेत व्यावहारिक अभ्यास र ज्ञान दिइनेछ । यस्ता तालिम बाट नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न योगदान पुग्नेछ ।

परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको समन्वय र स्वीकृतिमा सञ्चालन भएको उक्त तालिम फिल्ड, टेबल र कक्षाकोठामा सञ्चालन हुनेछ। अमेरिकाले विश्वका विभिन्न देश सँग यस किसिमका संयुक्त अभ्यास गर्दै आएको छ । दुई साता अघि अमेरिकी सेना र नेपाली सेनाको मेडिकल जनशक्ति बीच समेत संयुक्त तालिम सञ्चालन भएको थियो ।

 

 

footer