kumari
stcnepal

एमाले विरूद्ध गठबन्धन गरेको होइन : नेता पुन

बारा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त)ले सत्ता गठबन्धन दलहरुको चुनावी तालमेल कुनै शक्ति विरुद्ध लक्षित नरहेको बताएका छन् ।

पुनले एमाले विरुद्ध नभई संविधान र व्यवस्था माथि प्रहार गर्ने केपी ओली प्रवृत्ति विरुद्ध आफूहरु उभिएको बताए । लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गरिएकाले त्यसबाट कोही पनि आतंकित हुनुनपर्ने उनको भनाइ थियो । ‘हामीले कुनै दल वा शक्ति विरुद्ध गठबन्धन गरेका होइनौं’ बाराको कलैयामा चुनाव लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सोमबार पुनले भने, ‘संविधान बचाउन, लोकतन्त्र बचाउन र राजनीतिक क्रान्तिका उपलब्धी रक्षा गर्नुपर्छ भन्ने विचार बोकेका शक्तिबीच सहकार्य गरेका हौं ।’

उनले गठबन्धनलाई राजनीतिक चरित्रको संज्ञा दिए । उनले एमाले अध्यक्ष केपी ओलीले दक्षिणपन्थी प्रवृत्तिको नेतृत्व गरेको भन्दै गठबन्धन आवद्ध दलहरु लोकतन्त्र पक्षधर भएको दाबी गरे । राप्रपा र राप्रपा नेपालका नेताहरु सँग भेटेर चुनावी सहकार्यको प्रस्ताव राख्नु तथा मधेसमा महन्थ ठाकुर सँग घाँटी जोड्नुले ओली घोर दक्षिणपन्थी भएको प्रमाणित भएको तर्क गरे ।

विगतमा मधेसी जनताको अधिकारको विरुद्ध खडा भएका ओली अहिले कसरी मधेसका पक्षमा उभिन सक्छन् भनि पुनले प्रश्न गरे । ओली धार्मिक राज्यको एजेण्डा बोकेर मधेस पसेको भन्दै उनले अन्धराष्ट्रवादी शक्ति बाट मुलुकलाई खतरा रहेको टिप्पणी गरे । पुनले मधेसको अधिकारका लागि माओवादी लडेको भन्दै मधेसमा निर्वाचन जित्ने हक माओवादीलाई मात्र भएको दाबी गरे ।

footer