kumari
stcnepal

प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लोक्सोमलाई नियुक्त गर्यो

विराटनगर । प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लोक्सोमलाई नियुक्त गरेको छ । यसैगरी प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त पनि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरु गरेको हो ।

पाँचथरका डा. लोक्सोम माओवादी केन्द्रको कोटा बाट योजना आयोगको उपाध्यक्ष बनेका हुन् । शेरधन राई नेतृत्वको सरकारले लोक्सोमलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो । राजेन्द्र राई नेतृत्वको वर्तमान पाँच दलीय गठबन्धनले उनलाई उपाध्यक्षमा नियुक्त गर्यो । प्रदेश १ सरकारका प्रवक्ता तथा यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेका अनुसार बैठकले आयोगको सदस्यमा डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खड्कालाई नियुक्त गरेको छ । कार्की संखुवासभा, कोइराला सुनसरी, राई भोजपुर र खड्का मोरङका हुन् ।

बैठकले प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई पनि बर्खास्त गरेको छ । मन्त्री घिमिरेले सदस्यसचिव बस्नेत र उपाध्यक्ष बाबा मेन्याङ्बोलाई पनि जिम्मेबारी बाट हटाएको जानकारी दिए । एमाले नेता भीम आचार्यले आफ्नो दुई महिने कार्यकालमा खेलकुद बोर्डको पदाधिकारी नियुक्त गरेका थिए । बोर्डको पदाधिकारीको कार्यकाल चार वर्षको हुन्छ । तर गत असोज तेस्रो साता नियुक्त भएका बस्नेतालाई पदीय जिम्मेवारी अनुसार काम नगरेको भन्दै बर्खास्त गरिएको हो । गत माघमा सामाजिक विकास मन्त्री राजन राईले बस्नेतलाई स्पष्टीकरण सोधेका थिए ।

 

 

 

footer