kumari
stcnepal

ओली सरकार चुकेकै हो ?

काठमाडौ । भारतले नेपालको लिपुलेक हुँदै चीनसँगको नाका जोड्ने सडक वषौं अघि देखि बनाउँदै आएको थियो । भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार त्यसको उद्घाटन गरेपछि मात्र नेपाल सरकारले थाहा पाएको जस्तो गरी प्रतिक्रिया जनाएको छ । त्यसले गर्दा पुष्टि हुन्छ नेपाल सरकार कति कमजोर रहेको रहेछ भनेर के उक्त सडक एकै दिनमा बनेको थियो त ?

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भनेका छन् भारत सरकारसँग विस्तृत विवरण मागेर हेर्ने हो भने त्यस पछिमात्र उचित कदम चाल्ने भनेर । मन्त्री ज्ञवालीको उक्त भनाईलाई एकछिन स्वीकार गर्ने हो भने पनि सरकारलाई त्यस विषयमा पहिला थाहा थिएन भनेर तर सत्य वास्तविकता त्यो होइन । उक्त सडक एकै दिनमा बनेको होइन । भारतले उक्त सडक बनाइरहेका तस्वीरहरु सञ्चारमाध्यमले प्रकाशित गरेका थिए । त्यस क्षेत्रका प्रतिनिधिहरुले त्यस विषयमा बोलेका थिए । त्यहाँ भएका सुरक्षा निकायले त्यस विषयमा थाहा नपाएका होइनन् । त्यस विषयमा पहिला नै प्रर्याप्त सूचनाहरु आएका भएपनि भारतलाई चिढ्याउनु हुन्न भनेर सरकार कुनै प्रतिक्रिया नदिई चुपचाप बसेको जस्तो देखिएको छ ।

केही दिन पहिला प्रधानमन्त्री केपी ओलीले नेपाली सरकारी सञ्चार माध्यमका प्रतिनिधिहरुसँग भनेका थिए सरकारले थाहा नपाउने विषयमा पत्रकारहरुले कसरी थाहा पाए भनेर । सरकारले थाहा पाएपनि पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थलाई हेर्ने गरेर प्रतिक्रिया जनाउने भएकाले सीमा विवादका बारेमा सरकार चुक्दै गएको छ । १९ किलोमिटर सडक एकै दिनमा बनेको जस्तो गरी सरकारले प्रतिक्रिया जनाएको छ । त्यस विषयमा सुरक्षा निकायका अधिकारीहरुले बेलैमा आ आफ्नो निकायबाट भारतले गरेको सीमा अतिक्रमण र सडक निर्माणका विषयमा सम्बन्धीत निकायलाई जानकारी गराएको बताएका छन् ।

प्रधानमन्त्री नै अध्यक्ष रहने राष्ट्रिय सुरक्षा परिषद् देखि सेना मार्फत रक्षा मन्त्रालय सशस्त्र प्रहरीबलमार्फत गृह मन्त्रालय र राष्ट्रिय अनुसन्धान विभागमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई भारतले गरेको सीमा अतिक्रमण र दार्चुलामा भारतले बनाएको सडकका बारेमा पटक पटक रिपार्ट प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीलाई बुझाईसकेको बताएका छन् । प्रधानमन्त्रीसहित अन्य सबैले त्यस्ता रिपोर्टहरुलाई तामेलीमा राखेको आरोप उनीहरुले लगाएका हुनाले यहाँनिर आफूलाई राष्ट्रवादी भन्ने केपी ओली सरकार चुकेको प्रष्ट भएको छ ।

सत्ताधारी दल भित्रको आन्तरिक द्वन्द्वले गर्दा सरकारले सीमा विवाद र सडक बनाएको विषयलाई वेवास्ता गरेको प्रष्ट हुन्छ । केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न सत्ताधारी दलभित्रै द्वन्द्व चलेको र कतै आफूलाई प्रधानमन्त्रीबाट हटाइहाल्छन् कि भन्दै प्रधानमन्त्रीले पनि भारतकै सहयोगमा पदमा टिकिरहन भारतलाई चिढ्याउन नचाहेकाले भारतले नेपालमा आफूखुसी कार्य गर्दै आएको छ । सुरक्षा निकाय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले समेत आ आफ्नो माथिल्लो निकायमा त्यस विषयमा जानकारी गराउँदा समेत संघीय सरकार चुप रहनुले प्रष्ट हुन्छ सरकार भारतको सरकारलाई चिढ्याएर सत्तामा टिकिरहन नसकिने विश्वासमा रहेर भारतले गरेको ज्यादतीमा समेत मौन बसेको छ भनेर । अब नेपाली जनताले बुझ्नुपर्ने भएको छ कि अब आफ्नो भूमिको रक्षाका लागि हामी नै उठ्नुपर्ने बेला भएको छ ।

footer