kumari
stcnepal

ओलीको नेपालको प्रथम शहीद बारे दिएको अभिव्यक्ति प्रति नेपाल मगर संघ रुपन्देहीको आपत्ति

बुटवल । नेपाल मगर संघ रुपन्देहीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको प्रथम शहीद बारे दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएको छ । ओलीले गत चैत १८ गत एक कार्यक्रममा नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकाबीर हुन् भनी दिएको अभिव्यक्ति प्रति संघले आपत्ति जनाएको हो ।

संघले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी ओलीको अभिव्यक्तिले शहीद लखन थापा र आम मगर समुदाय माथि अपमान भएको जनाएको छ । ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए नेपाल मगर संघको आसन्न केन्द्रीय महाधिवेशन बाट आन्दोलन घोषणा गर्ने संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर बिरकट्टा मगरले बताए । पटकपटक प्रधानमन्त्री भइसकेका व्यक्ति बाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु खेदजनक रहेको भन्दै मगरले बाकाबीरको बिषयमा तथ्य पेश गर्न चुनौती दिए ।

ओलीको अभिव्यक्ति सुनियोजित र षड्यन्त्रपूर्ण रहेको भन्दै उनले ओलीले कम्युनिस्टको नाममा जातिवादी राजनीति गरेको र विभिन्न जाति र समुदायलाई हेप्ने र लान्छना लगाउने गरेको बताए । पूर्वप्रधानमन्त्रीले भ्रामक कुरा गरेर सबै शहीदहरू प्रति गम्भीर अपमान गरेको पनि उपाध्यक्ष विरकट्टा मगरले आरोप लगाए । २०७२ असोज ३ गते तत्कालिन मन्त्रिपरिषदले लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गरेको थियो । पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष आनबहादुर सोती, सचिव थर्कबहादुर बाह्रघरे राधिका श्रीस लगायतले ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए देशब्यापी आन्दोलन गर्ने चेतावनी दिए ।

 

 

footer