kumari
stcnepal

धमलाको क्रियाकलाप प्रति वायुसेवा सङ्घको ध्यानाकर्षण

काठमाडौं । वायुसेवा सञ्चालक सङ्घले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाजमा ऋषि धमलाले गरेको क्रियाकलाप प्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण बाट स्वदेश फर्किने क्रममा निगमको जहाजमा धमलाले गरेको क्रियाकलाप अमर्यादित भएको सङ््घले विज्ञप्ति मार्फत जनाएको छ ।

प्रधानमन्त्री सहितको भीभीआईपी टोली सवार उक्त उडानमा मिडिया ग्रुपका व्यक्तिहरु बाट उडानका क्रममा अपनाउनुपर्ने नियमलाई समेत उल्लङ्घन गर्दै निषेधित कक्षमा क्यामरा सहित प्रवेश गरी अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण रहेको सङ्घले उल्लेख गरेको छ । प्रधानमन्त्री सहित भीभीआईपी टोली सवार उक्त उडानमा धमलाले असभ्य र उडान सुरक्षामा गम्भीर असर पुग्ने अमर्यादित व्यवहार देखाएको प्रति सङ्घले आपत्ति जनाएको छ ।

उक्त उडानमा यात्रुलाई अनावश्यक हैरानी हुने कार्य नगर्न चालक दलको पटक पटकको अनुरोधलाई बेवास्ता गर्दै जबरजस्ती भिडियो क्लिपिङ गरी लाइभ समाचार प्रसारण गर्नु भीभीआईपीको सुरक्षा प्रोटोकलको समेत उल्लङ्घन भएको ठहर गर्दै यस्ता अवाञ्छित कार्य आगामी दिनमा नगर्न समेत सङ्घले अनुरोध गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन सुरक्षा नियमावली, २०७३ मा वायुयान भित्र शान्ति सु–व्यवस्था र अनुशासन कायम गर्ने सम्बन्धमा कानूनी व्यवस्था गरिएको छ । प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०६७ मा नागरिक उड्डयन कार्यालयको बिनाअनुमति विमानस्थल क्षेत्रभित्र छायाङ्कन गर्न नपाइने कानूनी व्यवस्था रहेको छ । उडान सुरक्षा र हवाई सुरक्षामा उक्त नियमहरु तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन बाट प्रतिपादित सिद्धान्तहरुको प्रतिकूल हुने गरी कहीँकतै वा कुनै क्रियाकलाप भएमा देशको समग्र हवाई उड्डयन क्षेत्रको छविमा नकारात्मक प्रभाव पर्ने भन्दै सङ्घले वायुयान भित्र सौहार्दपूर्ण व्यवहार गरी हवाई सुरक्षालाई व्यवस्थित तथा अनुशासन कायम राख्ने विषयमा सम्पूर्ण सबैको सहयोगको अपेक्षा गरेको जनाएको छ ।

 

 

 

footer