kumari
stcnepal

सत्तारूढ गठबन्धनका दलहरूको धादिङमा स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय

काठमाडौं । धादिङमा रहेका सत्तारूढ गठबन्धनका दलहरूले स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन् । शुक्रबार गल्छीमा बसेको जिल्ला स्थित गठबन्धनका दलहरूको संयुक्त बैठकले जिल्लामा रहेका १३ वटा स्थानीय तह, १ सय ४ वडा र जिल्ला समन्वय समितिमा पनि चुनावी तालमेल गर्दै निर्वाचन सफल बनाउने निर्णय गरेको बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता राजु नेपालले जानकारी दिए ।

स्थानीयत तहमा चुनावी तालमेलका लागि १३ वटै स्थानीय तहमा नेपाली कांग्रेसको पालिका सभापतिको अध्यक्षतामा संयुक्त संयन्त्र निर्माण गर्ने निर्णय भएको नेता नेपालले जानकारी दिए । बैठकले गठबन्धनको मर्म र भावना अनुरूप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । तालमेलमा भागबण्डाका लागि दलगत वस्तु स्थितिका बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दल बाट २/२ जना प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने सहमति पनि दलहरू बीच बनेको छ ।

बैठकले गठबन्धन दलहरू बीच हार्दिकता कायम गर्न एक अर्का विरुद्ध आक्षेप नलगाउने र गठबन्धन दल बीच नेता कार्यकर्तालाई पार्टीमा प्रवेश नगराउने निर्णय गरेको छ । बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरू सहभागी थिए । गठबन्धनको कार्यदलको सचिवाल जिल्ला सदरमुकाम धादिङबेसीमा राख्ने सहमति भएको छ ।

 

 

footer