kumari
stcnepal

भीमबहादुर विकको कुटपिट बाट हत्या भएको घटनालाई चितवन जिल्ला अदालतले भवितव्य ठहर गर्यो

चितवन । यसवर्षको दसैंको महानवमीको दिन चितवनको भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा स्थानीय ५८ बर्षका भीमबहादुर विकको कुटपिट बाट हत्या भएको घटनालाई चितवन जिल्ला अदालतले भवितव्य ठहर गरेको छ । आवेश प्रेरित हत्या भनी मुद्दा चलाइएकोमा जिल्ला अदालतले भवितव्यमा ज्यान गएको ठहर गरेको हो । न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले शुक्रबार गरेको फैसला अनुसार आरोपित सीताराम बस्नेतले सफाइ पाएका छन् भने अर्का आरोपित दिलीप श्रेष्ठलाई ६ महिना कैद सजाय तोकिएको अदालतका सूचना अधिकारी श्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए ।

प्रहरी हिरासतमा बसेको दिन देखि कैद समय गणना हुने हुँदा श्रेष्ठको कैद अवधि चैत २८ गते ६ महिना पुग्ने देखिन्छ । हाल सम्म दुवै आरोपित पुर्पक्षका लागि थुनामा छन् । दुवै आरोपितलाई कात्तिक २२ गते पुर्पक्षका लागि थुनामा पठाइएका थिए । प्रहरीले घटना भएकै दिन त्यसमा संलग्न भनिएका ४० वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । दिलिप पल्लवी फार्मेसीका सञ्चालक हुन् । केही दलित अधिकारकर्मीले मन्दिर पस्न खोज्दा, बलि चढाउन माग गर्दा भीमबहादुर माथि कुटपिट र त्यसपछि हत्या भएको दावी गर्दै आन्दोलन गरेका थिए ।

तर, जातीय विभेद हुने कुनै पनि प्रमाण र तथ्य नभेटेको प्रहरीले बताउँदै आएको थियो ।
मृतकका छोरा २८ बर्षका किसन बिकले लेखेको जाहेरीमा समेत जातीय विभेद सम्वन्धी विषय उल्लेख थिएन । भीमबहादुर माथि आरोपित सीताराम र दीलिपले कुटपिट गरेका थिए । उनीहरुले जाँडरक्सी खाएर होहल्ला गरेकाले कुटपिट गरेको बताएका थिए । पोष्टमार्टम रिपोर्टमा भीमबहादुरको मृत्यु टाउकोमा लागेको चोटकै कारण भएको उल्लेख थियो ।

प्रहरीले अनुसन्धानमा जातीय विभेदको केही तथ्य नभेटिएको बताएको थियो भीमबहादुर विकको मृत्यु सम्बन्धमा जाँचबुझका लागि मानवअधिकार आयोग, दलित आयोग र विभिन्न सामाजिक संघसंस्थाको टोली चितवन आएको थियो । मृतकको परिवारले गृह मन्त्रालय बाट १० लाख रूपैयाँ राहत रकम पाएका छन् । राहत रकम र दोषीलाई कानुनी कारबाहीको माग गर्दै परिवारले भीमको शव बुझेको थिएन । घटना भएको तीन महिनापछि मात्र आफन्तले शव बुझेका थिए ।

 

 

 

footer