विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हनुमान सर्वव्यापी छन्, विभीषण कथामात्र हुन्

585
shares

राजन कार्की
राष्ट्रनिर्माताको सालिक फोडेर र इतिहास तोडेर भाषणमात्र गर्ने हुतिहाराहको देश बन्यो नेपाल । ढाल तरवारको भरमा वीरपुर्खाले आर्जन गरेको देश हो तर त्यो गौरव छायाँमा पारियो ।सिपाहीले साम्राज्य खडा गरेको इतिहास हो ः ‘टिपु सुल्तान’ । बाबु हैदर अलिले छोरा टिपुलाई दिमाग यस्तो चिज हो, त्यसलाई चिन्तनमा रगड्नुपर्छ, कोलमा पेलेझैं पेल्नुपर्छ, दिनुसम्म सास्ती दिनुपर्छ, तब स्वच्छ र सुन्दर सोचको विकास हुनसक्छ भनेर प्रशिक्षण दिए । नभन्दै समस्या, सङ्घर्ष र समाधानका उपायका सुझहरू विकास हुँदै गए र टिपु सुल्तान मैसुर साम्राज्य खडा गर्न सफल भए । टिपु सुल्तान इतिहासमा अमर छन्, भूमिपुत्रहरूका लागि प्रेरणाका स्रोत रहेका छन् । ती सोचका सुल्तान ।हामी पुरातत्व, वीरता ढालेर पराई मालिकका कण्डोम र ढाल बनिरहेका छौं । खेताला बनिरहेका छौं । हामी पराइतन्त्रका सुल्तान बनिरहेका छौं । उठेको नेपाली शीर झुक्दै गएको छ ।

०४६ साल । पञ्चायतविरुद्ध लड्ने प्रजातन्त्रवादीहरूले भारतीयलाई बोलाए । घरको झगडामा परचक्रीलाई न्यायाधीश बनाए । भारतबाट चन्द्रशेखरको नेतृत्वमा डीपी त्रिपाठी, हरकिसन् सिंह, डा.फारुकी, एमजे अकवर, सुब्रमण्यम स्वामीहरू गणेशमान निवास चाक्सीबारीमा आए र नेपालको स्वाभिमानलाई खोरिया बनाएर कुल्चे । थपडी बजाउने हाम्रा नेता र हामी थियौं । त्यही मिसनबाट दागिएको मेसिनगनले जनधनको क्षति नहोस् भनेर राजा वीरेन्द्रले दलमाथिको प्रतिबन्ध फुकुवा गरे । पञ्चायत सकियो, पञ्चायतले ३० वर्षमा सुँगुर ढाडिएझैं ढाडिएका कुनै पञ्चको मलामीसम्म पाएन ।

२०६३ साल जेठ ११ गतेपछि बहुदलको नाम लोकतन्त्र भयो । समाजवादको शिरवन्दी लगाउने बहुदलवादीहरूले चुँइक्क गरेनन् । कस्तो अचम्म ?
परराष्ट्र, सुरक्षा र जलस्रोत भारतको जिम्मा दिएको भए अर्थात् भुटानजस्तो बन्न स्वीकार गरे आन्दोलन तुहाइदिन्छु भन्ने दिल्लीको प्रस्तावलाई इन्कार गरेर २०४६ सालमा राजा वीरेन्द्र नेपालीका सामु झुकेका हुन् । जनतासँग झुक्ने राजा होचा भएनन् । अग्ला बनेका नेता होचा बन्दैछन् ।अर्काले दिएको भीखले आत्मसम्मान नबच्ने रहेछ । ०४६ को बहुदल १२ वर्षे कुशासनमा परिणत भयो । ०५२ साल फागुन १ गतेदेखि जनयुद्ध सुरू भयो । त्यो जनयुद्ध ०६२ साल मंसिर ७ गते १२ बुँदे दिल्ली सम्झौतामा घुँडा टेकेपछि थाहा भयो– कांग्रेस, कम्युनिष्टहरूमात्र होइन, जनयुद्धका नायकहरू पनि दिल्लीकै प्यादा रहेछन् । ०४२ सालमा रामराजाले राजधानीमा बम पड्काउँदा ५ जना मरे, ०२८ सालको झापा विद्रोहमा आजका एमालेहरूले १३ जनाको घाँटी रेटेका थिए । ०४६ सालको जनआन्दोलनमा ७ जना मारिए भने ०६३ सालको १९ दिने जनआन्दोलमा २६ जना मारिएका हुन् । १० वर्षे जनयुद्धकालमा १७ हजार २ सय ७४ को हत्या भयो र तिनमा आश्रितमाथिको आततायी प्रहार तथा राष्ट्रको इतिहासको गर्व र वर्तमानका पूर्वाधार ध्वस्त पारियो । कसैले न्याय पाएनन् । पीडक नयाँ नयाँ शासक बनिरहे । मुख्य सवाल, कुनै पनि परिवर्तनबाट एकजना सुन अर्थात् देशभक्त सुल्तान जन्मिएनन्। अर्काले चलाउने हतियार र मतियार शिखण्डी हुन सक्छन् । त्यसैले त हनुमान सर्वव्यापी छन्, विभीषण रामायण कथाका पात्र मात्र हुन् ।

नेपालको वर्णपटमा शिखण्डीका सिलसिलाले वर्तमानलाई पनि छाडेको छैन । विदेशीलाई चाहिने शिखण्डी हुन्, शिखण्डीको आवश्यकता स्वार्थपूर्ति हो । स्वार्थको पछि लाग्ने विवेकहीन भनेका अबसरवादी हुन् । शिखण्डी र अबसरवादीहरूलाई बाह्रै महिना दशैं आइरहेछ, भ्रष्ट डिठ्ठाहरूलार्ई लोकतन्त्र आँखा चिठ्ठा बनेको छ । देशभक्तिको सशक्त भाषण गरिदिएपछि जनता मख्ख पर्छन्, यी डिठ्ठाहरू जनता जनता लडाएर सत्ताको स्वाद फेरिरहेछन् । देशको आधा जनसङ्ख्या दैनिक आधा डलरमा बाँच्छन्, ६२ लाख युवायुवतीहरू साउदीदेखि इजरायलसम्म, काबुलदेखि कंगोसम्म यौन र श्रम शोषणमा मरिरहेका छन् । नयाँ नेपाल बनाउन नरसंहार मच्चाइयो, धर्म र व्यवस्था फेरियो । भोको पेट, नाङ्गो जीउ, लथालिङ्ग जनजीवन उस्तै छ । रगत बग्यो, बरदान आएन ?
छ न त छ नि– वाद छ, तन्त्र छ, नीति छ, संयन्त्र छन् । सुनीति केही देखिदैनन्, कुटिलनीति राष्ट्रव्यापी छ । सबै नीतिमा नेता, नियन्ताको प्राथमिकता आत्मोन्नति, आत्मतृप्ति, आत्मसन्तुष्टि र आत्मकेन्द्रित छन् । आमकेन्द्रित छैनन् । त्यागको टिपु सुल्तान छैनन्, स्वार्थी सुल्तानहरू संविधानको घोडा चढेर बुर्कुसी मारिरहेका छन् ।

घण्टाघरको सुईले पलपल भनिरहेको छ– लोकतन्त्र कौडी पिचासहरूलाई आयो । सत्ताका भूत बन्न रुचाउनेहरूलाई आयो । राजनीतिलाई व्यवसाय बनाउनेहरूलाई आयो । रछ्यानलाई नेताहरूमा चोखो मन र जनताको बलमा उभिने रहर नै देखिएन । अन्धाले लोकतन्त्रको चस्मा लाए के नलाए के ? विवेकहीन फोस्राहरू फुस्रा गफ हाँकिरहेका छन् । आगोले काँचो भन्दैन, सामन्तले कङ्गाल भन्दैन भनेझैं जीवन इमान बढी हो भनेर स्वार्थभन्दा माथि उठ्न कोही तैयार छैनन् । बेइमानको राज चलिरहेछ ।

लोकतन्त्रको प्राण जनविश्वास हो । त्यो जनविश्वास प्राविधिक रूपमा देखिन्छ, वास्तविक रूपमा राक्षस शासनमात्र छ । जुनसुकै देशका नेता केही घण्टाका लागि मात्रै नेपाल आए भने पञ्चदेवलको हण्डी बुझ्न लाम लागेझैं लस्कर लाग्नेहरूका लागि स्वाभिमानको अर्थ चाकरी हो, मालिकबाट प्राप्त हुने खुराकी हो ।
मिनु मसानीको ‘इभोल्युसन् थियोरी अफ सर्भाइल’ भन्छ– जो सक्षम छ, ऊमात्र बाँच्छ । उनको दार्शनिक सिद्धान्त सही हुँदो हो त डायनासोर लोप हुने थिएन, कमिला लोप हुन्थ्यो । चितुवाको एउटा वर्ग दगुर्दा दगुर्दा दहमा प¥यो र सार्कको रूपमा आयो । नेपालका सन्दर्भमा मिनु मसानीको सर्भाभल अफ दि फिटेस्टको अर्थ उल्टो हुन गएको छ । कुनै पनि स्थितिमा जो बाँच्न सक्छ, ऊ नै सक्षम हो । राजतन्त्र असक्षम भएर गएको होइन । हिन्दुधर्म अल्पमतमा परेर फालिएको होइन । कम्युनिष्ट र समाजवादी सक्षम भएर मूलधार बनेका होइनन् । देशभक्तबाट दिल्लीभक्त, विस्तारवादविरुद्ध लम्पसार भएर त्वम् शरणम् गर्न सकेन, राजतन्त्र फालियो । गर्नै नहुने कर्म गरेर वर्तमान बुढोपुस्ता राजनीतिका नाममा सिरूपाते खुकुरी बनेर सक्षमहरूको कलमी गरिरहेको छ ।

बन्दुके मौका पायो कि बुद्ध बोकेर हिड्छ । मौका पायो कि बारुद पड्काउँछ । अन्धविश्वास हटाउने भाषण उही गर्छ, महिष पूजन र गुरुको पाउमा उही ढोग्छ । साइत निकालेर सत्तासीन हुने र पदभार ग्रहण गर्नेहरू नक्कल गर्न बिछट्ट बाठा छन् । यसकारण त यी परिवर्तनका बाहकहरू, स्वाधीनताको धर्तीमा पराधीनताको साम्राज्य खडा कर्ताहरू ‘खतरनाक क्रियचर्सहरू बास गर्ने पेण्डोराको बाकस’ भन्दा कम देखिदैनन् । फोहर सडे गनाउँछ, राजनीति सडे चम्किदो रहेछ । ‘डेभेलपमेन्ट अफ फ्रिडम’ मा अमत्र्यसेनले लेखेका छन्– गुलाफको फूल भनेपछि फूलमा सुगन्ध हुनैपर्छ । जनयुद्धलाई वसन्त पर्व भन्नेहरू कागजी फूललाई बास्नादार भनेर थाक्दैनन् । टिपु सुल्तान मान्छे थिए, यी मान्छे हुन् कि ढुङ्गामा कुँदिएका सिंहहरू ? झट्ट हेर्दा डरलाग्दा छन् । मुसोलिनीले इटलीको प्रजातन्त्रमा अधिनायकवादको जग बसाले । जर्मनीमा हिटलरभएको परिवर्तनको स्थापना लोकतन्त्रको जग थियो कि निरंकुशतन्त्रको महल ?

१९८१ मा विश्वबाट दासप्रथा उन्मूलन भएको हो । नेपालमा पनि दासप्रथा छैन, कमलरी र कमैयाप्रथासमेत उन्मूलन भइसकेको छ तर, नेपाली जनताको सार्वभौमिकता आज पनि नेतातन्त्रको करियाभन्दा भिन्न हालतमा देखिन्न । लोकतन्त्र लोकको दुब्लो अनुहारमा रोगले ख्याउटे देखिन्छ । लोकतन्त्र बन्धकमा परेपछि यस्तै हुन्छ । यही लोकतन्त्र नेताका लागि लघु ताजमहल, पेरिस दरवार हुने, यही लोकतन्त्र लोकका लागि गाँस, बास, कपास, स्वास्थ्योपचार पनि नहुने ? यही लोकतन्त्रमा बाघको छालामा स्यालको रजाइँ हुने, सुकुम्बासी, सीमान्तकृत वर्गलाई राज्यले लघार्ने ? असमानताको यति ठूलो दूरी ? बेइमानहरू चिनिएका छन्, चिनेर के गर्नु, सत्ताको बजारमा बेइमानी हातोहात हारालुछ खपत भइरहेको छ । गोरूले दाउनुपर्छ खेती गर्न, राजनीतिको खेतीमा बोकाले दाई गरिरहेको छ । धुत्र्याइँ चम्केपछि सत्य छिमोलिनु स्वाभाविक हो ।

दक्षिण एसिया विज्ञ लियोरोजका अनुसार नेपाल विश्वमै स्वर्गको एक टुक्रा हो । स्वर्गको एक भाग । यस्तो स्वर्ग नरपिचासहरूको नरक कसरी बन्यो ? हुने र हुँदा खानेबीचको महामारी रोक्न लोकतन्त्र किन असफल भयो ? कस्तुरीको सुवास आउनुपर्ने स्वर्गको टुक्रा देशभरि कुहिगन्धे हुरी चल्यो । अन्यायको सिङ्जुरो उम्रेको छ नेपालमा ।९५ प्रतिशत ॐकार परिवार बसोबास गर्ने र सर्वधर्म समभावको नेपालमा पोप देखिन्छ, एक चीननीति अपनाएको नेपालमा दलाई लामा भेटिन्छ । १२६ जातिको देशमा एकता थियो, भाँडियो । समृद्धिको सूचक लोकतन्त्रलाई भँडुवा बनाएर बदनाम गरियो । संस्कारमा स्वदेश थियो, विदेशी संस्कृति लादियो । नासो, गलाको पासो बन्यो पद्धति ।

१८१५ डिसेम्बर २ मा गीर्वाणविक्रमको अधिकार बोकेर गएका गजराज मिश्र र चन्द्रशेखर उपाध्याय दाहालले बृटिश इण्डियाका कर्णेल पेरिसब्राडसँग (मिलोमतो गरेको र गोप्य लाभ लिएको आरोप छ) सम्झौता गरे, त्यही सम्झौता ४ मार्च १८१६ मा सुगौली सन्धिका नाममा अनुमोदन भयो । त्यतिबेलाका गजराज र चन्द्रशेखर र अहिलेका ठूला दलका नेताहरूले गरेका देशघातक निर्णयहरू हेर्दा कहाली लागेर आउँछ । यस्तो लोकतन्त्रलाई कृष्णावतार भन्ने कि कंशावतार मान्ने ?

वैकुण्ठजस्तो नेपाललाई नयाँ नेपाल बनाउँछु भन्नेहरूले वैरागलाग्दो बनाइदिए । मुर्दाहरूले बास बस्ने चिहानजस्तो चिसो भइसक्यो वीरहरू र भूमिपुत्रहरूको वीरतापूर्ण देश ? राजतन्त्रलाई तासको पत्ताजसरी फेकियो, लोकतन्त्रलाई लाहाको घरजस्तो बनाइँदै छ । कुनै दिन नेपालको दुरुपयोग गर्न चाहने शक्तिले आगो झोसिदियो भने खरानी हुनुको विकल्प रहने छैन । किनकि भूराजनीतिमा शक्तिराष्ट्रहरूको चास र चासो बेस्सरी बढेको छ । सकस सुरू भइसक्यो । सस्ता भ्रम छर्नेहरू कसैले समाजवाद, कसैले मुठ्ठी उठाएर के गर्ने ? लोकको नियति अचार जसरी पिसिरहने न हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports