kumari
stcnepal

बाहिर जे भनेपनि नेकपाभित्रको लडाईं पदकै लागि

काठमाडौं । अहिले मुलुकमा कम्युनिष्ट पार्टीको सरकार रहेको छ । उक्त पार्टीका सबै नेताहरुले आफूहरुलाई कम्युनिष्ट पार्टीकै नेता भनिरहेका छन् । त्यसै कारण अहिलेको केपी ओली नेतृत्वको सरकार आफूलाई कम्युनिष्ट नेता भनाउने सबैको सरकार हो । तर बाहिरी रुपमा हेर्दा कम्युनिष्ट पार्टी नेतृत्वको सरकार जस्तो देखिएता पनि भित्री रुपमा हेर्दा ओली नेतृत्वको सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्न सुहाउने अवस्था देखिएको छैन भने पार्टीलाई समेत कम्युनिष्ट पार्टी भन्न सकिने अवस्था रहेको छैन । सत्ताधारी दलभित्र एकै प्रकारको आन्तरिक लोकतन्त्र छैन । पार्टीका कार्यकर्ताहरुलाई कार्यकर्ता नबनाएर नेताहरुका दास बनाइएको छ । कार्यकर्ताहरु विभाजित भएका छन् । पार्टीका दुई अध्यक्ष मध्येका एकका समर्थकहरुले अर्कोलाई भारतीय दलाल भनिरहेका छन् भने अर्का अध्यक्षका समर्थकहरुले अर्का अध्यक्षलाई अहिलेको लोकतन्त्रलाई समाप्त पार्न लागि परेको आरोप लगाउँदै आएका छन् । कम्युनिष्ट पार्टीमा फलामको अनुसशासन हुन्छ भन्ने गरिएको छ । तर यहाँ भने ठीक त्यसको उल्टो भएको छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण हुँदा गलत तबरले एकीकरण गरिएको र दुवै पार्टीका तत्कालिन अध्यक्षहरुलाई एकीकृत पार्टीको अध्यक्ष नै कायम गरिएका हुनाले उक्त पार्टीमा अहिले समस्या देखिएको हो । तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको व्यवहारबाट दिक्क भएर तत्कालिन माओवादी केन्द्रका नेताहरु बाबुराम भट्टराई मोहन बैद्य सीपी गजुरेल लगायतका धेरै नेताहरुले पार्टी परित्याग गरेका थिए । पुष्पकमल दाहाल त्यस्ता नेताहरु उनी आफ्नो स्वार्थका लागि जस्तोसुकै कदम उठाउन तयार हुन्छन्, हिजोको उनका क्रियाकलापले त्यही बताउँदै आएको छ । अहिले पनि उनी त्यसै गर्ने रणनीतिमा व्यस्त रहेका हुनाले विगतमा उनीसँगै लडेका व्यक्तिहरुले उनको साथ छाडेका छन् । तत्कालिन नेकपा एमालेभित्र रहेका गुट उपगुटहरुको अन्त्य नभएको अवस्थामा अहिले दाहालले तिनै गुटभित्र खेलेरै आफ्नो स्वार्थ पूरा गर्न लागि परेका छन् । केपी ओली नेतृत्वको सरकारले केही राम्रा काम गरेको छ । भारतले अतिक्रमण गरेको नेपालको भूभागलाई नेपालको नक्साभित्र राखेर निसान छापमै समावेश गरेको छ । विभिन्न कालखण्डमा भएका गल्ती, कमीमजोरी सच्चाउने काम ओली सरकारले गरेको भएपनि त्यसको जस प्रधानमन्त्री ओलीले मात्र लिन खोजेको अभिव्यक्ति अध्यक्ष दाहालले दिएर आफूले पनि त्यसको जस पाउनुपर्ने बताईसक्नुभएको छ । त्यहीबाट प्रष्ट हुन्छ, अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीलाई नेकपाको अध्यक्ष नै मान्न तयार देखिँदैनन् भनेर । नेकपाको सरकार भएको हुनाले सरकारको नेतृत्व जसले गरेपनि राम्रा र नराम्रा कामको जस अपजसका भारी पार्टीले नै बाुक्नेपर्ने होइन र ?

पछिल्लो समयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने माग अध्यक्ष दाहालले नै गरेका हुन् । त्यो उद्घोष स्वयम् दाहालले नै गरिसकेका छन् । आफूले राजिनामा माग गरेपछि प्रधानमन्त्री ओलीले खुरुक्क राजिनामा देलान् भन्ने विश्वास दाहाललाई लागेको थियो रे तर त्यसो हुन सकेन । त्यही कारण अध्यक्ष दाहालले पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ सहितका नेताहरुको साथ लिएर ओलीलाई एक्ल्याउने प्रयास गरिरहेका छन् । बाहिरी रुपमा हेर्दा पार्टी विधानसंगत ढँगले चलेन, सरकारले पार्टीलाई वास्ता गरेन । नियुक्ति सरुवा, बढुवामा पार्टीलाई सोधिएन भने अभिव्यक्ति दाहाल नेपाल पक्षले दिएपनि भित्री रुपमा यो पदकै लडाई नै हो । पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री बन्दा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउने निर्णय गर्दा उहाँले पार्टीलाई सोध्नुभएको थिएन उहाँले एक्लैको निर्णय हो भनेर त्यसैबेला बाबुराम भट्टराई लगायतका नेताहरुले बोलेका थिए ।

सरकारले सरकारको सञ्चालनका लागि आफूलाई आवश्यक पर्ने सहयोगीहरु नियुक्त गर्न सक्छ । अहिले सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशिल भट्टलाई नियुक्त गरेको छ । तिनै भट्टको भाइ दिपक भट्टसँग दाहालको बाक्लो उठबस रहेको र प्रायः दिपक दाहालकै निवासमा भेटिने गरेका छन् । तिनै भट्ट दाजुभाईहरुलाई ठुलाठुला योजना आयोजनाहरुको ठेक्का दिलाउन दाहाल लागि परेका थिए । अहिले ओली सरकारले लगानी बोर्डको सिइयोमा नियुक्त गरेपछि नैतिकताका आधारमा दाहालले विरोध गर्न मिल्दैन । भट्ट दाजुभाई विचौलिया हुन्, त्यसमा दुईमत छैन । सरकारले गल्ती गरेकै हो । अरुले विरोध गर्न पाउँछन्, तर तत्कालिन माओवादीका नेता तथा अध्यक्षले विरोध गर्ने नैतिकता गुमाईसकेका छन् । माधव नेपाल र झलनाथ खनालको साथ लिएर प्रधानमन्त्री ओलीलाई एक्ल्याउनु खोज्नु भन्दा दुवै अध्यक्षले एकै ठाउँमा बसेर न्यायसंगत तवरले निर्णय गरी जतिसक्दो चाँडो एकीकृत पार्टीको महाधिवेशन गरेर समस्याको समाधान खोज्नु उपयुक्त हुनेछ । यदि होइन भने पार्टी विभाजन नै उपयुक्त हुनेछ ।

footer