kumari
stcnepal

वैशाख १५ र १६ गते १९ औं एसियन गेम्सको लागि एथलेटिक्सको छनोट हुने

काठमाडौं । सेप्टेम्बरमा चीनको हान्झोउ शहरमा आयोजना हुने १९औं एसियन गेम्सको लागि एथलेटिक्सको छनोट यही बैशाख १५ र १६ गते हुने भएको छ । नेपाल एथलेटिक्स संघका सचिव राधाकृष्ण (आरके) विष्टले आइतबार सूचना जारी गर्दै एसियाली खेलकुदका लागि दुईदिने प्रारम्भिक छनोट हुने जनाएका छन् । छनोट प्रतियोगिता त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा हुनेछ ।

‘एसियाडमा एथलेटिक्स खेलको पनि सहभागिता हुने हुँदा खेलाडीहरुको दक्षतालाई मध्यनजर गर्दै प्रारम्भिक छनौट प्रतियोगिता गर्नु पर्ने भएकोले काठमाडीको दशरग रंगशालामा २०७९ वैशाख १५ र १६ गतेका दिन छनौट गर्ने जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

छनोटमा सहभागिताका लागि एथलेटिक्स संघले चार मापदण्ड समेत तोकेको छ । जसमा १३औं दक्षिण एसियाली खेलकुदमा पदक विजेता खेलाडीहरु, दक्षिण एशीयाली खेलकुद पछिका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक विजेता खेलाडीहरु, १३औं दक्षिण एसियाली खेलकुदमा बन्द प्रशिक्षणमा समावेश भएका खेलाडीहरु र म्याराथनको हकमा नेपालगन्ज, पोखरा र नेपाल आर्मी म्यारथनका उत्कृष्ट खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।

छनोटमा ५ विभा समावेश गरिएको छ । जसमध्ये ८०० र १५०० मिटर इभेन्टमा पुरुषको मात्र समावेश छ भने ५०००, १०००० मिटर र म्याराथनमा भने पुरुष र महिला दुवै समावेश गरिएको छ । एसियन गेम्स चीनको होन्झोउमा सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुनेछ । यसैबीच एसियाडका लागि खेलाडी छनोट गर्न बक्सिङ संघले आयोजना गर्न लागेको प्रतियोगिताको मिति फेरबदल गरिएको छ । यसअघि वैशाख १२ देखि १५ सम्मका लागि निर्धारित प्रतियोगिता वैशाख १४ देखि १७ गते सम्म हुने जानकारी बक्सिङ संघले दिएको छ ।

 

 

footer