kumari
stcnepal

के लोकतन्त्र भनेको कुनै दुर्लभ फूल हो ?

पछिल्लो समयमा मुलकु आक्रान्त छ । जनता असुरक्षित भएको महसुस गरिरहेका छन् । कोरोना भाइरसका कारण दिनदिनै संक्रमितहरुको संख्या बढिरहेको छ भने निधन हुनेहरुको संख्या समेत बढ्दै गएको छ । वर्षायामले गर्दा बाढी पहिरोका कारण सयौं जनताले अनाहकमा ज्यान गुमाउनु परिरहेको छ । दिनहुँ सञ्चार माध्यममा बाढी पहिरोको कारण ज्यान गुमाउने र घरबारविहिन हुनेका बारेमा समाचारहरु प्रकाशित भइरहेका छन् । यति हुँदापनि सरकारको ध्यान त्यतातिर जान सकेको छैन । डोजर विकासले गर्दा बाढी पहिरो गएको छ । पर्यावरण बारेमा जनतालाई अवगत गराउन नसक्दा र कमिसनको लागि डोजरे विकास गरेको हुनाले मुलकु विकासतर्फ होइन विनासतर्फ उन्मुख भईरहेको छ । त्यस विषयमा न त संघीय संसद न त प्रदेश सरकार र न त स्थानीय सरकारहरुले नै ध्यान दिएका छन् । कोरोना भाइरसका कारण जनताले अनाहकमा दुःख पाईरहेका छन भने जनताले चुनेर पठाएका आफ्ना जनप्रतिनिधिहरुले समेत त्यस विषयमा गहन छलफल र बहसै चलाएका छैनन् ।

जनताका समस्याको समाधान गर्ने र सरकारलाई समस्याका बारेमा जानकारी गराउने प्रमुख थलो भनेको संसद हो । सरकारले संसदलाई स्थगित गरेर आफू आलोचनाबाट बच्न चाहिरहेको छ । अनाहकमा संसदको बैठक स्थगित गरिएको छ । संसद नभएपछि संस्थागत रुपमा जनताका समस्याहरु राख्ने ठाउँ नै शुन्य रहेको छ । सत्ताधारी दलभित्रको आन्तरिक द्वन्द्वले गर्दा संसदको बैठक स्थगित मात्र गरिएको छैन, सरकारका काम कारबाहीका विषयमा बोल्ने थलो नै बन्द भएको छ । कोरोना भाइरसले गर्दा जनतालाई सडकमा आउन दिइएको छैन । सभा सम्मेलन नारा जुलुस गर्न रोक लगाइएको छ । त्यसमा पनि लामो समयसम्म लागु गरिएको लकडाउन, सटडाउन र निषेधाज्ञाले गर्दा जनता आक्रान्त भएका छन् । उनीहरु दैनिकी रोजिरोटीकै लागि भौतारिँदै आएका छन् । त्यही कारण नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपीओली सरकारलाई हाइसञ्चो भएको छ । प्रधानमन्त्री सहित उनको मन्त्रिपरिषद्का सदस्यहरु मुलुकमा सुशासन कायम भएको भन्दै जनतालाई ढाँटिरहेका छन् । जनतालाई घरमा थुनेर राखेपछि विरोध गर्ने अवस्था रहँदैन त्यही कारण शुशासन भयो भन्नु दिउँसै सूर्यको रापलाई हत्केलाले छेकेँ भन्नु सरह मात्र हो । प्रत्येक वर्ष बर्षायाममा जनताले बाढी पहिरोबाट ज्यान गुमाउनु परेको छ भने कतिपय जनताको उठिबास समेत हुने गरेको भएपनि आजसम्म कुनै पनि तहको सरकारका कार्यक्रममा प्रयावरणले प्राथमिकता पाउन सकेको देखिँदैन । भाषा मिलाउन झुठा प्रतिवेदन तयार गरी जनतामा भ्रम सिर्जनागर्ने काम समेत हुन थालेको छ । प्राथमिकतामा पर्यावरणलाई राखेर जनताको सहयोगमा काम थाल्नुपर्नेमा जनताले थाहा पाइहाल्लान् भनेर होटलमा बसेर पर्यावरणका लागि झुठा प्रतिवेदनहरु तयार गरिने भएको हुनाले बाढी पहिरोको कारण प्रत्येक वर्ष ठुलो मात्रामा धनजनको क्षति हुँदै आएको छ । स्रोत र सत्ताको नजिक भएकाहरुलाई प्रकोपले छिट्टै प्रभाव नपारेपनि गरिब जनताको लागि त्यो अभिषाप बन्दै गएको छ । सत्ताको नजिक हुने र बन्नेलाई प्रकोपले छिट्टै प्रभाव नपर्ने गरेको धेरै उदाहरणहरु रहेका छन् । सत्ता नजिक हुनेहरुलाई प्रकोपको बेला राहत वितरणको नाममा हेलिकोप्टरमा शयर गर्ने र नाम मात्रको राहत बाँडेर आफू चर्चित हुने र आफ्नो भोट बैंकलाई सरकारी ढुकुटीबाट राहत बाँडेर आफू चुनावको बेला सुरक्षित हुने अवसर मिल्ने गरेको छ । केही राहत पाएपनि जनताले आफू संकटको बेला राहत महसुस गर्नु अलग्गै हो तर त्यो राहत सरकारी ढुकुटीबाटै बाँडिएको हो नेताको गोजिबाट होइन भन्ने विचरा जनतालाई के थाहा ?

जनताले चाहेको खण्डमा जस्तो सुकै व्यवस्थापपनि परिवर्तन हुन सक्छ । लोकतन्त्र पनि सुदृढ हुन सक्छ । लोकतन्त्र भनेको जनताको तन्त्र भन्ने बुझिन्छ । तर सही रुपमा लोकतन्त्रको प्रयोग भएको छैन । लोकतन्त्र पनि कहिल्यै पनि खतरामुक्त हुन सक्दैन । विश्वका धेरै मुलुकहरुमा आ आफैँ देश र माटो सुहाउँदो व्यवस्था लागु गरिएको छ । लोकतन्त्रले जनताका समस्या समाधान गर्न सक्छ भनिएपनि पछिल्लो समयमा लोकतन्त्रपनि सिमित व्यक्तिहरुका लागि कमाईखाने भाँडो सावित हुँदै गएको छ । लोकतन्त्र भनेको जनताले पाँच वर्षमा मत हालेर आफ्ना जनप्रतिनिधिहरुलाई छान्नुमात्र होइन लोकतन्त्र भनेको त व्यवहारमै लागु हुनुपर्दछ । केही सिमित व्यक्तिहरुले मोजमस्तीगर्ने तर बहुसंख्यक जनताले भोकभोकै मर्नुपर्ने व्यवस्थालाई लोकतन्त्रको परिभाषा भित्र राख्नु किमाथ उचित हुन सक्दैन । कुनै एक राजनीतिक दलले निर्वाचनमा बहुमत ल्याएको खण्डमा उसले सरकारको नेतृत्व लिएपनि उसको विपक्षमा विपक्षीहरुको बहुमत रहेको हुन्छ भन्नुको अर्थ हो लोकतन्त्र भनेको पनि अल्पमतले बहुमतलाई शासन गर्ने व्यवस्था नै हो । विश्वका धेरै देशहरुमा लोकतन्त्रलाई आ आफ्नै देश अनुसारको परिभाषाभित्र राखिएको छ । त्यसैले त्यस्ता देशहरुले विकासको चरणलाई प्राथमिकतामा राखेका छन् त्यहाँ भ्रष्टाचार र कुशासन नगन्यमात्रामा रहेको छ त्यही कारण ती देश विकाशिल अवस्थामा पुगेको भएपनि हाम्रो देशमा भने सत्तामा पुग्नेहरुे नै सत्तालाई आफ्नो आमाको दाइजो र घर जग्गाको लालपुर्जा सम्झिने गरेको हुनाले सत्ताबाट जनता कहिल्यै सन्तुष्ट हुन सकेका छैनन्, हुने अवस्थ समेत देखिएको छैन ।

लोकतन्त्रको नाममा मुलुकमा लुटतन्त्र मच्चाईरहेको छ । पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि लोकतन्त्रकै बद्नाम गर्न थालिएको छ । त्यही कारण लोकतन्त्र भनेको लुटेराहरुको बँगैचामा मात्र फल्ने एक प्रकारको दुर्लभ फुलको नाम जस्तो भएको छ । राजनीतिक दलहरुको अकर्मण्यता र नालायीपनले गर्दा नेपाली जनताले जस्तोसुकै तन्त्र आएपनि कुशासन भ्रष्टाचार अन्याय नै सहेर बस्नुपर्ने बाध्यता रहेको छ । प्रधानमन्त्री केपीओलीबाट जनताले ठुलो आशा एवं भरोसा गरेका भएपनि प्रधानमन्त्री ओलीको पछिल्लो व्यवहार र काम गराई हेर्दा उनीपनि सत्ता हत्याउनैका लागि झुठको सहारा लिएर जनतालाई ठगिरहेका रहेछन् भन्ने प्रमाणित हुँदै गएको छ । लोकतन्त्र भनेको सिमित व्यक्तिलाई सत्तामा पु¥याउने र भ्रष्टाचार कुशासन अन्याय सहेर बस्नु नै लोकतन्त्रको मर्म र धर्म हो भने जनता भन्न बाध्य हुनेछन् जुन जोगी आएपनि कानै चिरेको भनेर भन्ने हाम्रो ठम्याई छ ।

footer