kumari
stcnepal

नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक

काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद् राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले लोगो, मस्कट सार्वजनिक गरेका हुन् ।

गन्डकी प्रदेशमा जेठ २२ देखि २८ गते सम्म आयोजना हुने नवौं खेलकुदमा कस्तुरी मृगको मस्कट रहने भएको छ । लोगोको शीर्ष स्थानमा पोखराको पहिचानका रुपमा माछापुछ्रे हिमाल राखिएको छ । त्यस मुनि चार वटा रातो ट्र्याकले प्रदेश नम्बर संकेत गर्छ भने त्यस मुनि पंक्षीको आकृति दिइएको छ । कलाकार भोलानाथ शर्मा पौडेलले बनाएको लोगो र मस्कट राष्ट्रिय खेलकुदका लागि छनोट भएको हो । गत वैशाख ४ गते राखेपले नवौंका लागि लोगो, मस्कट, नारा र गीत निर्माण गरी पेस गर्न पुरस्कारको व्यवस्था सहित सार्वजनिक सूचना जारी गरेको थियो । सूचना अनुसार लोगोका लागि १३ र मस्कटका लागि चार आवेदन परेको थियो । लोगो मध्ये बाट भोलाको कला छनोट भए पनि मस्कटमा चारै आवेदनले मापदण्ड पूरा नगरेपछि भोलालाई नै बनाउने जिम्मा दिइएको राखेपले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुदको नारा ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ रहेको छ । यो नारा खुला प्रतिस्पर्धा बाट शुयोग्यराज काफ्लेले जुराएका हुन् । लोगो र मस्कट बनाउनेले क्रमस: ५० र २५ हजार तथा नारा बनाउनेले १० हजार पुरस्कार पाएका छन् । राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि गीत पेस गर्न पनि सूचना जारी गरेकोमा एउटा मात्र आवेदन परेको तर त्यस गीत प्रतियोगिताका लागि सुहाउँदो नभएकोले पारित नगरिएको जनाएको छ । प्रतियोगिता सुरु हुन २८ दिन बाँकी रहँदा तयारी धमाधम भइरहेको छ । निर्देशिका र बजेट आइनसके पनि प्रतियोगितामा ३६ नियमित र २ प्रदर्शनी खेल समावेश गर्ने निर्णय सहित प्रदेश र विभागीय टोलीहरुले टिम छनोट गरिरहेका छन् ।

 

footer