kumari
stcnepal

दुवै पार्टी एकीकरण भएपश्चात् पनि गुटगत भागवण्डा खोज्नु नै कारक

काठमाडौ । तत्कालिन नेकपा एमाले र माओवादी एकीकरण हुँदा दुवै पार्टीका स्थायी समिति र केन्द्रीय समितिबाट निर्णय नगराई तत्कालिन नेकपा एमालेका अध्यक्ष र माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच मात्र सहमति गरेर पार्टी एकीकरण गरिएको हुनाले अहिले नेपाल कम्युनिष्ट पार्टी भित्र आन्तरिक द्वन्द्व देखिएको हो । त्यसबेला पार्टीगत निर्णय नभएको र दुई अध्यक्षबीचमा मात्र सहमति भएकाले गर्दा त्यसैबेला दुई पार्टीबीचको एकीकरण ओली र दाहालबीचको सहमति मात्र हो । दुवै पार्टीका वरिष्ठ नेताहरुलाई थाहै नदिई आफूखुसी पार्टी एकीकरण गरिएको फल अहिले नेकपाले भोगिरहेको छ । गएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएर निर्वाचनमा जाँदा उनीहरु अहिलेको अवस्थामा आउन नसक्ने र अहिलेको प्रमुख विपक्षी दल नेपाली कांग्रेस नै ठुलो पार्टी बन्ने सम्भावना देखिएको हुनाले त्यसलाई रोक्न मात्र ओली र दाहालले पार्टी एकीकरण गराएका थिए ।

तत्कालिन नेकपा एमालेभित्र तत्कालिन अवस्थामा रहेका गुट उपगुटहरु अहिले पनि कायमै रहेका छन् । पार्टी अध्यक्ष ओली र पूर्व प्रधानमन्त्री माधव नेपालबीचमा नेकपा एमालेमै रहँदा पनि उनीहरुबीचमा राम्रो सम्बन्ध कायम हुन नसकेको र अहिले पनि सम्बन्धमा कुनै सुधार नआएको हुनाले पनि अहिले नेकपामा समस्या देखिएको हो । नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपश्चात् सबै गुट उपगुटहरु स्वत विघटन गरिएको भए अहिले देखिएको समस्याहरु देखिने नै थिएनन् । पहिला पार्टी एकीकरण गर्दा नै कोदो रोपियो अनि अहिले धानको आशा गर्नु नै बेकार रहेको छ । पार्टीका दुई अध्यक्षहरु मात्र बसेर कुनै निर्णय गर्ने अनि त्यस्ता निर्णयलाई लागु गर्न खोज्ने पार्टीको हित विपरितका कार्य हुन् । तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एकलौटी ढँगले पार्टी सञ्चालन गरेको भन्दै माओवादीबाट मोहन बैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, सीपी गजुरेल, लोकेन्द्र मगर लगायतका धेरै नेतारुले माओवादी पार्टी परित्याग गरिसकेका थिए । अध्यक्ष दाहालले आफ्नो स्वार्थ अनुसार कहिले भट्टराईलाई साथ लिएर बैद्यलाई पेल्ने र कहिले बैद्यलाई साथ लिएर भट्टराईलाई पेल्ने रणनीति प्रयोग गर्दै आएकोमा अहिले पार्टी एकीकरण पश्चात् पनि दाहालले त्यस्तै रणनीति अपनाउँदै आएका छन् । पार्टीगत स्वार्थ भन्दा व्यक्तिगत स्वार्थका लागि माहिर रहेका दाहालले अहिले माधव नेपाल र केपी ओली बीचको सम्बन्ध राम्रो हुन नसकेको फाइदा उठाउन खोजिरहेको प्रष्ट हुँदै गएको छ । पछिल्लो समयमा दाहालले माधव नेपाललाई प्रधानमन्त्री बनाउने आश्वासन दिएका हुनाले पनि माधव नेपाल प्रधानमन्त्री बन्ने आशामा पूर्व एमालेका नेता तथा कार्यकर्ताहरुका विरुद्ध नै खनिएका छन् । दाहालको दोहोरो चरित्रका कारण सँगै जनयुद्ध लडेका र आफ्नै गुरु मोहन बैद्य र दाहालसँग सँगै रहन सकेनन् भने नेपाल कसरी दाहालसँग सँगै बस्न सक्छन् ? पार्टी एकीकरण गर्दा दुवै अध्यक्षहरु आधा आधा समयका लागि प्रधानमन्त्री बन्ने सहमति गरेका भएपनि दाहालले नै आफूलाई पार्टीको कार्यकारी अध्यक्ष दिएको खण्डमा ओलीलाई नै पाँच बर्षसम्म प्रधानमन्त्री भै रहिरहने सहमति दाहालले नै गरेका थिए । पार्टीको कार्यकारी अध्यक्ष भएपनि उनले पार्टी सञ्चालनको कुनै काम गर्न सकेका छैनन । पार्टी एकीकरण पश्चात् पनि पार्टीले पूर्णता पाउन सकेको छैन भने दुवै पार्टी एक भएको भावनात्मक एकता समेत नभएकाले सबै पदहरुमा पूर्व एमाले र पूर्व माओवादी भनेरै भागवण्डा लगाइएको छ अहिलेको समस्याको जड भनेको त्यही हो । दुवै पार्टी एकीकरण भएपश्चात् फेरी पूर्व एमाले र पूर्व माओवादी भनेर भागवण्डाका लगाउनुको औचित्य के ?

गत चैत्र देखि कोरोना भाइरसका कारण मुलुक संकटमा परेको छ । कोरोनाका संक्रमितहरुको संख्या झण्डै १ हजार ५० जना भन्दा बढीले ज्यान गुमाईसकेका छन् । आर्थिक अवस्था डामाडोल भएको छ । जनता खान नपाएर सडकमै भौतारिन थालेका छन् । संक्रमितहरुले उपचार नपाएर ज्यान गुमाउनु परिरहेको छ, यस्तो जटिल अवस्थामा सत्ताधारी दल भने आन्तरिक द्वन्द्वमा फसेर सत्ताकै लुछाचुँडीमा रमाउँदै गएको छ । दाहाल पक्षले विधि विधानको कुरा उठाएपनि त्यो खेल जनतालाई ढाट्ने कार्यमात्र भएको छ । वास्तवमा विधि विधान र पद्दतिको कुरा होइन सत्ता र भागवण्डाकै कारण नेकपाभित्रको आन्तरिक द्वन्द्व चर्किएको हो । पछिल्लो समयमा अध्यक्ष दाहाललाई प्रधानमन्त्री बन्ने रहर जागेको र आफू प्रधानमन्त्री बन्न नसकेको खण्डमा आफूले भनेको मान्छेलाई प्रधानमन्त्री बनाउने र त्यसरी बनाइएको प्रधानमन्त्रीलाई आफ्नो मुठ्ठीभित्र राख्ने उदेश्यका साथ दाहाल गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई मन्त्रि पदबाट तत्काल हटाउन किन प्रधानमन्त्रीलाई दबाब दिईरहेका छन् ? आफ्नी बुहारी खानेपानी मन्त्री विना मगरका काम कारबाहीप्रति जनताको असन्तुष्टि भएबाट उनलाई पदबाट हटाउन खोज्दा किन दाहालले रोकिहाल्छन् त ? यी सबै तथ्यहरुले पुष्टि हुन्छ दाहाल नेपाल एकै ठाउँमा उभिएर सरकारलाई कठपुतली बनाउने खेलमा असफल भएपछि पार्टी विभाजन गर्ने खेलमा लागेका हुन् भनेर । पहिला कोदो रोप्ने अनि धानको आशा गर्ने केपी ओलीको चाहना समेत बेठिक रहेको देखिन्छ ।

footer