सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी

533
shares

काठमाडौं । नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आजदेखि नेपाली सेनाको मानार्थ महारथी बनेका छन् । जंगीअड्डाको अभिलेखअनुसार भारतीय सेनाध्यक्ष नरवणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं व्यक्ति भएका छन् ।

बुधबार काठमाडौं आइपुगेका नरवणेले विभिन्न ऐतिहासिक सम्पदा र पशुपतिनाथको दर्शन गरे । यसक्रममा उनी नेपाली ढाकाटोपीमा समेत सजिए । भ्रमणको दोस्रो दिन आज (बिहीबार) उनले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्ने कार्यसूची छ ।

नेपाली सेनाले उपलब्ध गराएको विवरणअनुसार सन् १९५० देखि एकअर्काको देशमा मानार्थ सेना प्रमुखको सम्मान दिने चलन रहीआएको छ । तर, सैनिक इतिहासका जानकारहरु त्यसअघिबाट नै यस किसिमको सम्मान दिन थालिएको बताउँछन् ।

सेनाका अवकाश प्राप्त सहायक रथी प्रेमसिंह बस्न्यातको दाबीअनुसार राणा प्रधानमन्त्री वीर शमशेरको पालाबाटै यो परम्पराको सुरुवात् भएको हो । उनका अनुसार तत्कालीन व्रिटिस इन्डियाले गोर्खा सैनिकलाई आफ्नो मातहतमा काम गराउनका लागि प्रोत्साहन स्वरुप मानार्थको सम्मान दिने चलन सुरु गरेको थियो । त्यसबेला महासेनानीबाट सम्मान दिन सुरु गरिएको उनको भनाइ छ ।

राणा शासनका बेला जंगबहादुर, रणदीप लगायतले गार्खालीलाई ‘लाहुर’मा जान निरुत्साहित गर्ने नीति लिएको उनी बताउँछन् । वीर शमशेरका पालाबाट भने ब्रिटिस इन्डियाले सम्मानको प्रलोभन देखाएर लाहुरमा लैजान थालेको उनको भनाइ छ ।

दोस्रो विश्वयुद्धको अन्त्यपछि २४ अक्टोबर १९४५ मा नेपाल भ्रमण गरेका बेलामा ब्रिटिस इण्डियाको तर्फबाट सेना प्रमुख सर क्लाउडेलाई पहिलो पटक मानार्थ जर्नेलको सम्मान दिइएको इतिहासविदहरु बताउँछन् । उनीहरुका अनुसार तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले उनलाई मानार्थ जर्नेलको दर्ज्यानी चिह्न दिएका थिए ।

जंगीअड्डाको अभिलेखले पनि भारत स्वतन्त्र हुनुअगावैबाट नेपाल र भारतका सैनिकबीच एकअर्काको देशमा भ्रमण गर्ने कार्यको सुरुवात भइसकेको देखाउँछ । मानार्थको सम्मान दिने प्रचलनको इतिहासबारे विभिन्न खाल्का दाबी भेटिए पनि यो सम्मान दिने चलन ब्रिटिस इन्डियाकै समयबाट सुरु भएको अधिकांश सैन्य इतिहासका जानकारहरुको भनाइ छ । त्यसबेला यसको उद्देश्य गोर्खालीलाई ‘लाहुर’मा लैजानु भए पनि हाल भारतले सुरक्षा रणनीतिका कारण यसलाई महत्व दिने गरेको छ ।

नेपाली सेनाले पनि यस प्रकारको चलनले छिमेकी राष्ट्रबीचको आपसी सम्मान र पारस्परिक विश्वासलाई प्रतिबिम्बित गर्ने बताउँदै परम्परागत चलनलाई निरन्तरता दिँदै आएको छ । यद्यपि, राजनीतिक वृत्त र नागरिक स्तरबाट यो परम्परामाथि पुनर्विचार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports