kumari
stcnepal

पद त्याग्ने कसले, ओली कि दाहालले ?

नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक द्वन्द्व चरम उत्कर्षमा पुगेको छ । कार्तिक २८ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीमाथि १९ पुष्टको राजनीतिक प्रस्तावका नाममा ७२ वटा आरोप लगाउँदै आरोपत्र पार्टीको सचिवालय बैठकमा पेश गरेपछि अध्यक्ष ओली र दाहालबीचको अन्तरद्वन्द्व चरम उत्कर्षमा पुगेको हो । दाहालले प्रधानमन्त्री माथि ७२ आरोप सहितको आरोपत्र सचिवालयमा पेश गरेपछि प्रधानमन्त्री ओली रुष्ट बन्दै आएका छन् । मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफैमाथि दोस्रो अध्यक्षले लगाएको आरोपको एक एक उत्तर दिने भन्दै आफूलाई केही दिनको समय मागेपछि भोली मंसिर १३ गतेसम्मका लागि सचिवालयको बैठक स्थगित भएको छ । भोली बस्ने सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले दाहालले आफूमाथि लगाएको संगीन आरोपहरुको खण्डनपत्र सचिवालयमा पेश गर्ने भएका छन् । मंसिर ३ गते बसेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्रीले अर्का अध्यक्ष दाहालले आफूमाथि लगाएका आरोपहरुको पुष्टि हुन नसकेको अध्यक्ष दाहालले पद छोड्नुपर्ने र आरोप पुष्टि भएको खण्डमा आफूले पद त्याग्ने घोषणा गरेपछि सचिवालय बैठकमै नयाँ तरङ्ग उत्पन्न भएको थियो ।

नेकपाका दुई अध्यक्ष मिल्दापनि पार्टीका वरिष्ठ नेता माधव नेपाल पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीप्रति रुष्ट बन्दै गएका थिए । तत्कालिन नेकपा एमालेमा हुँदा पनि पार्टी अध्यक्ष ओली र नेपालबीचमा राम्रो सम्बन्ध कायम हुन नसकेको फाइदा दाहालले उठाउन खोजेर पूर्व एमालेभित्र रहेका गुट उपगुटहरु भित्र खेलिरहेका छन् । तत्कालिन अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपनि दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुमा भावनात्मक एकता हुन नसकेकै कारण अहिलेसम्म पार्टी समायोजनको काम हुन सकेको छैन । पार्टी विधि विधान अनुसार सञ्चालन हुने भएपनि सरकार सञ्चालन भने संविधान अनुसार हुनुपर्ने भएकाले पार्टीभित्रको आन्तरिक द्वन्द्व सडकमै छताछुल्ल हुन पुगेको हो । सत्ताधारी दलभित्र विधि विधानलाई देखाएर आफ्नो स्वार्थ पुरा गर्न खोजिए पनि वास्तवमा भागवण्डा नै नमिलेकाले पार्टी नै संकटमा परेको छ । नेकपाभित्र पछिल्लो समयमा तिन गुट सक्रिय भएका छन् । त्यसमा एउटा गुटको नेतृत्व पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को गुटको नेतृत्व पुष्पकमल दाहाल र अर्को गुटको नेतृत्व पार्टीका वरिष्ठ नेता माधव नेपालले गरेका छन् । पार्टीभित्रको आन्तरिक समिकरणमा दुई गुट एकातिर मिल्ने वित्तिकै अर्को गुट स्वतः अल्पमतमा पर्ने भएकाले अहिले दाहाल–नेपाल मिलेर ओलीलई एक्ल्याउने प्रयास गरिरहेका र उनीहरुले प्रधानमन्त्री ओलीले दुई पद मध्येका एक पद छोड्नुपर्ने दबाब सचिवालय मार्फत दिईरहेका भएपनि प्रधानमन्त्री ओलीले आउँदो महाधिवेशनसम्म दुवै पद नछाड्ने अडान लिँदै आएका छन् । यदि प्रधानमन्त्री ओलीले अध्यक्ष पद त्योगको खण्डमा अध्यक्ष माधव नेपाललाई बनाउने र प्रधानमन्त्री पद त्यागेको खण्डमा पुष्पकमल दाहाल नै प्रधानमन्त्री बन्ने भद्र सहमति दाहाल नेपालबीचमा भएकाले दाहाल नेपाल जसरी भएपनि प्रधानमन्त्रीलाई एउटा पद छोड्नैपर्ने अडानमा कायम रहेकाले भोली बस्ने सचिवालय बैठक निकै महत्वपूर्ण भएको छ ।

पछिल्लो समयमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिमा समेत दाहाल नेपाल पक्षको बहुमत रहेको भएपनि उनीहरु प्रधानमन्त्रीलाई अहिले नै एक पद छोड्न दबाब दिईरहेका छन् । अध्यक्ष पुष्पकमल दाहालले आफ्नो राजनीतिक प्रस्तावमा घुमाउरो पाराले प्रधानमन्त्रीको राजिनामा माग गरेका छन् । पार्टीकै एक अध्यक्षले अर्को अध्यक्षलाई भ्रष्टाचारको संरक्षक बनेको, भ्रष्टाचारीहरुलाई कुनै कारबाही गर्न नसकेको, सरकार सञ्चालन समेत सही ढँगले नगरेको, सरुवा, बढुवा र नियुक्तिमा एकपक्षीय रुपमा नियुक्ति गरिएको जस्ता ७२ वटा संगीन आरोप लगाएका हुनाले अहिलेकै अवस्थामा नेकपा एकजुट हुन सक्ने सम्भावना न्यून रहेको छ । कम्युनिष्ट पार्टीमा फलामको अनुशासन हुन्छ भन्ने गरिएको भएपनि पार्टीका अध्यक्षले नै अर्का अध्यक्षलाई तल्लो स्तरमा उत्रिएर संगीन आरोपहरु लगाएपछि पार्टीको तल्लो तहमा समेत त्यसको असर परेको र तल्लो तहका नेता तथा कार्यकर्ताहरु समेत पार्टी विभाजनको अवस्थामा पुगेको भन्दै एकका विरुद्ध अर्को पक्ष गाली गलौजमा उत्रिएका हुनाले पार्टी नै असफलताको मार्गतर्फ उन्मुख भएको छ ।

नेकपाको विधान, विधि र पद्दति अनुसार सचिवालय स्थायी कमिटी र केन्द्रीय समितिमा प्रस्तावहरु लैजाँदा दुवै अध्यक्षको सहमतिमा लैजानुपर्ने प्रावधान रहेपनि सचिवालयको बैठकमा पुष्पकमल दाहालले आफूखुसी प्रस्ताव लगेपछि त्यसलाई ओली पक्षीय नेताहरुले आरोपपत्र भन्दै त्यस्तो आरोपपत्र तत्काल फिर्ता लिई दुवै अध्यक्षको सहमतिमा राजनीतिक प्रस्ताव पेश गर्न दाहाललाई आग्रह गरेपनि दाहाल पक्षीय नेताहरु कुनै हालतमा पनि अध्यक्ष दाहालको प्रस्ताव फिर्ता नहुने बताइरहेको बेला दाहालले पार्टीको लेटरप्याड नै प्रयोग गरेर आफूले तयार गरेको आरोपत्र छपाई गरी पार्टीको तल्लो तहसम्म पठाएका हुनाले पार्टीभित्रको आन्तरिक द्वन्द्व अझ चर्किने सम्भावना देखिएको छ । यी सबै कारणहरुले गर्दा र ओली नेपालबीचको तिक्तताले गर्दा त्यसको फाइदा उठाउन दाहाल सक्रिय भएपनि पार्टीको संसदीय दलमा ओली बहुमतमा रहेकाले तत्काल पार्टीभित्रको द्वन्द्व समाधान नहुने र पार्टी नै विभाजन हुन सक्ने हामीले ठानेका छौँ ।

footer