kumari
stcnepal

जे भइरहेछ, ख्रुस्चेव, इदिअमिन र चाउचेस्कुले जस्तो भइरहेछ

 

राजन कार्की
पार्टी व्यवस्था, पूर्वको धरान, मध्यमा राजधानी र सुदूरपश्चिमको धनगडीमा स्वतन्त्र उमेदवार हर्क राई, बालेन्द्र साह, गोपाल हमालले चुनाव जित्नुको सङ्केत के हो ? स्वतन्त्र विश्लेषकहरु भन्छन्– यो जनताको लोकतान्त्रिक विद्रोह हो । देश परिवर्तनको सङ्घारमा पुग्यो ।
स्थानीय निकायको निर्वाचनमा सत्तामा रहेका ५ दलीय गठबन्धनले विपक्षीलाई हराउने एकसूत्रीय युद्धनीति अपनाइयो । स्थानीय निकायलाई पार्टीकरण गरियो । जनयुद्धको अन्त्य, २०६३ को जनआन्दोलन, २०६५ को गणतन्त्रले २०७९ साल आइपुग्दा पनि तात्वीक नयाँ कुरा केही गर्न सकेन, प्रतिक्षारत जनतालाई केही दिन सकेन । राष्ट्रिय नीति र जीवनलाई झन झन कमजोर पार्दै लग्यो । उत्तरी क्षिमेक िसशंकित भएर सशक्त हुँदै छिरेको छ, दक्षिणको छिमेकी कालापानी, लिपुलेकसमेत खाइसकेर बेटी भी नही देंगे, रोटी भी नही देंगे भन्दै युक्रेन बनादेंगे भनेर छिरेको छ । भूपरिबेष्ठित नेपाल भूराजनीतिक द्वन्द्वमा फस्दै युक्रेनको पक्षमा उभिन पुगेको छ । जो युक्रेनको पक्षमा खडा हुन्छ, ऊ रुसको शत्रुराष्ट्र हो भन्ने रुसको भनाइमा नेपाल रुससँगै उभिएको चीनको पनि शत्रुराष्ट्र बन्न पुगेको छ ।
अर्थात् नेपाल युक्रेनको नियति भोग्नका लागि अभिशप्त हुँदैन ।
बागद्वारा पवित्र छ, बागमती महामारी किटाणु बोकेर बग्न बाध्य भएझैं लोकतन्त्र स्वर्ग हो, राजनीतिका बेइमान खेलाडीहरुले लोकतन्त्रलाई असफल बनाइदिए । महगो मूल्य चुकाउन देश र जनता बाध्य पारिएका छन् ।
योगी नरहरिनाथले भनेका थिए– छाता आफै ओढुनुपर्छ, अर्कोलाई दियो भने उसैले ओढ्छ । राजा ज्ञानेन्द्रले ओढ्न सकेनन्, नेताहरुले ओढे । नेताहरुले माल पाएर चाल पाएनन्, ओढ्न सकेनन्, दिल्लीलाई दिए, उसैले ओढ्यो । संविधान जारी भएपछि र पछिल्ला घटनाक्रमले त नेपालको छाता पश्चिमाले ओढ्न थालेका छन् । नेता लोकतन्त्र बाँदरले नरिवल समातेजसरी समातेर बसेका छन् । जनता लोकतन्त्र कौवालाई बेल पाकेजस्तो हेरेर बसेका छन् । देश लखनौं लूटको अखडा बन्नपुग्यो ।
२०६३ सालपछि नेपालमा जे भइरहेछ, ख्रुस्चेव, इदिअमिन र चाउचेस्कुकाल जस्तो भइरहेछ ।

जनयुद्धबाट त्राहीमाम भएका जनताले ०६२–६३ को परिवर्तनमा साथ दिए, बसन्त परिवर्तन आयो भन्ठाने । त्यसपछि भाषणको पेडा खुब पाक्यो, कागजी फूल खुब फुल्यो । न पेडाको स्वाद पाइयो, न फूलको सुगन्ध ? देशको भाग्य र भविष्य परिवर्तन गर्ने ली क्वान युजस्ता बलियो देशभक्ति भएका नेताहरु जन्मिएको देख्न पाइएन । जो जन्मिए, बाहुबली, भ्रष्टबली, नैतिकहीन, लोकलज्जा नभएकामात्र जन्मिए ।
जनआन्दोलनमा जनताको जुन उत्साह थियो, त्यो कसरी मरिसकेछ भन्ने नतिजा त ०७९ को पालिका निर्वाचनमा देखियो । धरानमा एक्लै बेथिति भयो भनेर भन्दै हिड्ने हर्क राई, राजधानीमा शान्त स्वभावका र चर्चै नभएका बालेन्द्र साही, धनगडीमा स्वतन्त्र हैसियतका गोपाल हमालले चुनाव जिते, जनताले जिताइदिए । भाषणबाज भ्रष्ट नेताहरु भन्छन्– जनता बहुलाए, जनताले नोभोट गरेका हुन्, नकारात्मक भोट हो । यथार्थमा नेताहरुले मन बुझाउन गरेको आत्मरतीमात्र हो यो । जनताको मतलाई अपमान गर्नेहरुलाई जनताले पाखा लगाउने सन्देश दिएका हुन् ।
हो, सुधारिएको राष्ट्रिय पञ्चायतको सदस्यको चुनाव २०३८ मा नानीमैयाले जिताउने काठमाडौंका जनताले संविधानसभाको ०७० को दोस्रो निर्वाचनमा प्रचण्डलाई हराएकै हुन् । २०१५ सालको चुनावमा पुष्पलाललाइ अस्वीकार गरेर गणेशमान सिंहलाई जिताएका थिए । ०४३ सालमा पद्मरत्न तुलाधरले जिते, पछि गाई काट्न खान पाउनुपर्छ भनेपछि उनैलाई हराइदिए । ०४८ को चुनावमा मदन भण्डारीले सन्तनेता कृष्णप्रसाद भट्टराईलाई हराएको इतिहास छ । यही काठमाडौंबाट ०५१ को चुनावमा विद्या भण्डारीले दमन ढुंगानालाई, मनमोहन अधिकारीले प्रकाशमानलाई हराएका थिए ।
जनताको मनस्थिति ठिक छ । जनतालाई मानसिक कमजोरी ठानेर स्वार्थमा बहकिने र बग्ने नेताहरुको चरित्र नगरवधुको जस्तो छ । जनताको जनमतलाई होइन, जनमतप्रति जवाफदेही नहुने नेतातन्त्र गलत छन् । लोकतन्त्रमा जनताले दण्ड दिने भनेको चुनावमै हो । पालिका चुनावमा अपराजेय जनताले जुन सन्देश दिएका छन्, त्यो सन्देश पार्टीहरुले बुझेनन् भने पक्का छ, संघीय चुनावमा मै हुँ भन्ने नेताहरु पराजीत हुनेछन् ।
सत्य के हो भने १५ वर्षको यिनको शासनकला रत्नपार्कको चटकेको जस्तो देखियो । लोकतन्त्रमा चटक देखाएर जनतालाई सधैं मूर्ख बनाउन सकिन्न । चटक हेर्दा हेर्दा परिवर्तनले उत्साहित लोकको उत्साह नेताहरुले सत्ताको पोखरीमा डुबुल्की मारेको देखेर निरास भइसकेको छ । नेता र पार्टीहरुको रिसोर्ट र रङ्गीन जीवनशैली, आमनागरिकमाथिको अन्यायले नागरिकमा आक्रोश बढ्दै गएको छ । पार्टीवालाहरू राजस्व लुटिरहने, भुइँमान्छे नाना, खाना र छानाको खोजीमा भौंतारिनुपर्ने कारणले नेतातन्त्र ‘सराप’ सिद्ध हुँदैगयो । न‘बुद्ध शान्ति’ आयो, न लि क्वान यु समृद्धि ? मात्र अपराध मौलायो । अपराधको दुर्गन्ध अर्थात् नेपालको लोकतन्त्रको गर्भगृहबाट इदिअमिन, ख्रुश्चेव वा चाउचेस्कुको झझल्को पो जन्मियो ।
यति ठूलो परिवर्तनमा जनताले साथ दिए पनि १६९८ मा बिनाअपराध भीम मल्ल मारिएपछि उनकीसतीले दिएको सरापबाट अझै नेपाली माटो मुक्त भइसकेको रहेनछ ।सबै मिलेर बनाए देश बनाउन सकिन्छ भन्ने भावना अझै पलाएन । लोकतन्त्र भनेको लुट्नु हो भनेर दलहरु लुट्न अभ्यस्त भएका छन् ।
यथार्थमा मुलुक १९७५ को सिक्किमभन्दा पनि खतरनाक मोडमा पुगिसकेको छ । त्यो मोड युक्रेन हो । युक्रेनको नियतिबाट बचाउने राजनेता वर्तमान नेपालको आवश्यकता हो । यही आवश्यकताको संचेतना हो हर्क राई, बालेन्द्र साह र गोपाल हमालहरू । चेतना भया ।
सूर्य उदायो, रुख हरियै भयो, हसियाहथौडा चम्कियो । अन्य पार्टीका चुनाव चिन्हहरूले पनि मौका पाए । नयाँ नेपाल बनाउने, न्यायपूर्ण नेपाल बनाउने, समानतापूर्ण नेपाल निर्माण गर्ने खाका कतैबाट आएन । अन्याय, अत्याचार, हिंसा, बलात्कार, हत्या, भ्रष्टाचार समाचारदेखि महालेखाको रिपोर्टसम्ममा उल्लेख भयो तर अदालतमा समेत राजनीतिकरण भएपछि कसैमाथि कारवाही भएन । विधि कागजमा सिमित भयो । जनतामाथि महगी र करको सिस्नोपानी हान्नेहरूले जनतालाई कहिल्यै हेरेनन् । जहिले पनि विजेता पार्टीहरू नै बने, लोकका लागि लोकतन्त्र आउँदै आएन ।
२०६३ मा राजतन्त्रलाई पराजीत गरेर सत्तासीन बन्न सफल भएका नेपोलियनहरु ०७९ सालमा आइपुग्दा आफै पराजीत भएका छन् । त्यो पराजयको प्रमाण हो हर्क राई, वालेन्द्र साह र गोपाल हमालहरू ।
इतिहास साक्षी छ– नेपोलियन आफ्नै अहंकार र बढी आत्मविश्वासका कारणले वाटर लूको युध्दमा पराजीत हुनुप¥यो । उनी वीर थिए, उनले वीरताको सम्मान त पाए तर उनी सेन्ट हेलेनाको टापुको खोरमाखुम्चिनुप¥यो । नेपोलियनले सेन्ट हेलेनाको टापुमा बन्दी जीवन बिताउनु परेपछि छोरालाई चिठी लेखे ः छोरा, समयलाई चिनेर अघि बढ्नु । मेरा पालामा बन्दूकले सबैलाई बसमा राख्न सकिन्थ्यो । अब समय परिवर्तन भएको छ । तिमीले मानिसको मन, बिचार र भावनालाई परिवर्तन गरेर उनीहरुलाई बसमा पार्ने प्रयास गर्नु ।
पालिका निर्वाचन परिणामबाट यही सन्देश हो लोकतान्त्रिक नामधारी पार्टीका नेताहरूलाई ।
हरेक नेताले आफ्नो अनुहार जनादेशको यही ऐनामा हेर्न जरुरी छ ।
इतिहासकार भन्छन् ः जनतामाथि निरंकूशता लाद्ने खु्रस्चेवलाई जनताले नून खानीमा लखेटे । महासर्वसत्तावादी स्टालीन आफ्ना तीनजना अति विश्वासपात्रको हातबाट मारिनुप¥यो । मानवताको इतिहासमा कलंकित व्यक्तित्व हिटलरले आत्महत्या गर्नुप¥यो । विरोधीको टाउको काटेर फुटबल खेल्ने र विरोधीको मुटु कलेजोको भुटुवा स्वाद मानीमानी खाने इदी अमीन अन्ततः जनताव्दारा जंगल भाग्नुप¥यो । रोमनियाका चाउचेस्कु अर्का उदाहरण हुन्, जसको दरवारमा बाथरुमको पाइनसमेत सूनको थियो । त्यस्ता धनाध्ये, सौखिन, सामन्तलाई जनताले दरवारको बार्दलीबाटै फ्याँकीदिए । यतिबेलाश्रीलङ्का प्रधानमन्त्री महेन्द्र राजापाक्ष सेनाको व्यारेकमा शरण लिइरहेका छन् । शोषण र अति जनताका लागि पाच्य हुँदैन भन्ने यी उदाहरण हुन् यी । यस्ता उदाहरणबाट हाम्रा नेताहरु भयभित छैनन् भने उनीहरू आफ्ना लागि चिहान खनिरहेका छन् भनेर जाने हुन्छ ।
हेक्कारहोस्, विभेद, निषेध, हैकमवाद, हुकुमीतन्त्र, निरंकूशतन्त्र जनतालाई स्वीकार हुन्न । अतिवाद चलाउनेहरुको अन्त्य अत्यन्त दयनीय हुनेगर्छ । जनताले खबरदार गरिदिएका छन्, बुझे हातमा श्रीखण्ड, नबुझे अधिनायकबादसर्वनाश हो । चेतना भया, १९६० को दशकमा चीनमा चम्किएका कम्युनिष्ट नेता माओत्सेतुंगजस्ता महान नेताको एकतन्त्रबाद पनि अन्ततः जनताका सामु घुँडा टेकेर झुक्यो । जनताका सामु झुक्ने कहिल्यै सानो हुँुदैनन् ।पुजनीय हुन्छन् । सम्मानित हुन्छन् ।
इन्ड अफ दी हिस्टी एण्ड लास्ट किंग जुन नेताले पढेन, उ अबुझ हो । अबुझ नेता भनेको बर्तमान नेपालको दलीयतन्त्र हो, जुन सौभाग्यका नाममा दुर्भाग्य बन्नपुग्यो ।
हाम्रा २०६३ सालका होनहार नेताका शिरमा ख्रुस्चेव, इदिअमिन र चाउचेस्कुको भूत चढेको छ । जनताले पालिका निर्वाचनमा मतादेशबाट मन्छिने काम गरेका छन् । भूत भागेन भने संघीय निर्वाचनमा सातो झार्ने पक्का छन् ।
बाँकी राजा फालेर महाराजा बनेका नेताहरू नै जानुन् ।

footer