kumari
stcnepal

नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलोमा ग्याँस बोकेको बुलेटमा लागेको आगो नियन्त्रणमा

चितवन ।चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्याँस बोकेको बुलेटमा लागेको आगो नियन्त्रणमा आएको छ । नेपाली सेना, नेपाल प्रहरी र भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बुलेटको क्याविन र अगाडिको टायर क्षति भएको छ । सो ग्याँस बुलेट भारतको उडिसा स्थित पैरवी ग्याँस कम्पनी बाट धादिङ स्थित श्रीराम ग्याँस उद्योगको लागि ल्याएको र ग्याँस भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । नारायणगढ बाट मुग्लिन तर्फ जाँदै गरेको यूपी १७ एटी ८६२७ नम्बरको बुलेटमा दिउँसो १ बजेतिर आगलागी भएको थियो । बुलेटमा लागेको आगो नियन्त्रणमा लिने क्रममा नारायणगढ मुग्लिन सडकखण्डमा सवारी आवागमन रोकिएको थियो ।

आगो नियन्त्रणमा लिएपछि दिउँसो २ बजे देखि सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

footer