काठमाडौं ।फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) लाई नयाँ मिति दिएको छ । एन्फाले आयोजकलाई पत्र पठाउँदै भदौ २५ देखि कात्तिक ५ गतेसम्म एनएसएल सञ्चालनका लागि समय उपलब्ध गराएको जनाएको छ ।
यसअघि गत चैत अन्तिम बाट दोस्रो संस्करणको एनएसएल आयोजना गर्ने तयारी भए पनि ए डिभिजन क्लब र एनएसएल आयोजक बीच खेलाडी अक्सनको विषयमा विवाद हुँदा तोकिएको समयमा हुन सकेन । एनएसएल र क्लब बीचको विवादले ठूलो रुप लिँदा एन्फाले पनि समयमै यस बारे निर्णय गर्न सकेन र एनएसएल स्थगित भएको थियो । त्यसपछि आयोजकले एन्फा समक्ष भदौ २५ देखि कात्तिक ५ गते सम्मको मिति उपलब्ध गराउन माग गरेको थियो ।
तर एन्फाले भदौ १५ देखि असोज २५ सम्मको नयाँ मिति दिए पनि नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले भदौ २५ देखि कात्तिक ५ गते सम्मकै समय दिन भनेको थियो । त्यसपछि एन्फाले आयोजकले मागेकै मिति उपलब्ध गराएको हो ।