kumari
stcnepal

कस्तो आयो यसपालिको मौद्रीक निति, पूर्ण पाठ सहित

काठमाडौं ।चालू आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दैै जेठ १४ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने घोषणा गरेका थिए । कोभिड महामारी बाट भर्खरै तंग्रिन लागेको अर्थतन्त्रको गति थप चलायमान बन्ने कारण देखाउँदै शर्माले उच्च अंकको आर्थिक वृद्धि लक्ष्य लिएका थिए । अर्थविद्हरूले भने बजेटले लिएको लक्ष्य हासिल गर्न मुस्किल देखिने विश्लेषण गर्दै आएका छन् ।

यही बीचमा नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बजेट मार्फत सरकारले लिएको लक्ष्य हासिल गर्न सहयोग पुर्याउने बताएको छ । गर्भनर महाप्रसाद अधिकारीले सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेगरी मौद्रिक नीति सार्वजनिक गरेको बताए ।

औद्योगिक उत्पादन क्षमता वृद्धिले सहज

यसक्रममा केन्द्रीय बैंकले औद्योगिक उत्पादन बढ्दा बजेटले लिएको उच्च अंकको आर्थिक वृद्धि लक्ष्य भेट्टाउन सकिने सम्भावना देखाएको छ । केन्द्रीय बैंकका तर्फ बाट मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर अधिकारीले भने, ‘कोभिड महामारीले खुम्चिएको औद्योगिक उत्पादन क्षमता निरन्तर वृद्धि भइरहेको छ ।’ जसले चालू वर्षमा नेपालले विगतमा हासिल गर्दै आइरहेको औसतको आर्थिक वृद्धि भन्दा माथि हुने केन्द्रीय बैंकको विश्लेषण छ । गर्भनर अधिकारीले यही आधारलाई देखाउँदै चालू वर्षमा विगतमा हासिल भइरहेको भन्दा उच्च अंकको आर्थिक वृद्धि हासिल हुने बताएका छन् ।

मूल्यवृद्धि, मल अभाव र बाह्य क्षेत्रको दबाब मुख्य चुनौती

यद्यपि, औद्योगिक उत्पादन बढ्नु बाहेक आर्थिक वृद्धिको सूचकका लागि उपयुक्त अन्य सूचक भने नकारात्मक रहेको राष्ट्र बैंकले बताएको छ । औद्योगिक उत्पादन बढ्दा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न केही सहज हुने भएपनि ३ वटा मूख्य सूचक भने चुनौतीको चाङ बनेर खडा हुने केन्द्रीय बैंकको भनाइ छ । चालू आर्थिक वर्षको धान रोपाइँ लगायत अन्य कृषि खेतीमा आवश्यकता अनुसारको रासायनिक मल उपलब्ध हुन सकेको छैन । जसले कृषि उपजको उत्पादन घटाउने र आर्थिक वृद्धिको लक्ष्यलाई नै दबाब सृजना गर्न सक्ने आँकलन मौद्रिक नीतिको छ । यसैगरी, रुस–युक्रेन युद्धका कारण विश्वव्यापीरूपमा बढिरहेको मूल्यवृद्धि समेत उच्च अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्यको चुनौती हो । चालू वर्षमा मूल्यवृद्धि यसअघि गरिएको प्रक्षेपण भन्दा माथि पुगेको छ । रुस युक्रेन युद्धका काण विश्वभर बढेको मूल्यवृद्धि चालू वर्षमा पनि कायम रहन सक्ने भएकाले आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यमा बाधा पुर्याउने आँकलन राष्ट्र बैंकको छ ।

​यसैगरी, बाह्य क्षेत्रमा परेको निरन्तरको दबावले समेत आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्यलाई चूनौति दिने छ । यतिबेला नेपाली मुद्रा इतिहासकै कमजोर स्थितिमा पुगेको छ भने अमेरिकी डलर अहिले सम्मकै बलियो बनेको छ । यसका साथै, नेपालको आयात उच्च गतिमा बढ्नु निर्यात सो अनुसार नहुनुले समेत आर्थिक वृद्धिको लक्ष्यलाई प्रभावित पार्ने आँकलन केन्द्रीय बैंकको छ । अमेरिकी डलरको मूल्य निरन्तर बढ्दा नेपालको आर्थिक गतिविधि नै प्रभावित पर्छ । आयातमुखी अर्थतन्त्र भएकाले विदेश बाट हुने आयातमा नेपालले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । यसैगरी, विश्व बैंक, एसियाली बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत विदेशी मुलुकसँग डलरमा लिएको ऋण बुझाउँदा अपेक्षा गरेभन्दा बढी रकम तिर्नुपर्छ ।

जसले नेपालमा रहेको विदेशी मुद्राको सञ्चिती माथि नै दबाब सृजना गर्ने छ । यद्यपी, डलर बलियो बन्दा पर्यटन बाट हुने कमाई र रेमिट्यान्सको आप्रवाह भने बढ्नेछ । यस्तै, नेपाल बाट हुने निर्यातमा समेत नेपालले लाभ हासिल गर्न सक्छ । तर, समग्रमा डलर बलियो बन्दा नेपालले लाभ भन्दा बढी नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । जसले सरकारले लिएको उच्च अंकको आर्थिक वृद्धि लक्ष्यलाई नै प्रभावित बनाउने केन्द्रीय बैंकले प्रक्षेपण गरेको छ ।

 

 

 

 

footer