kumari
stcnepal

सबै प्रकारका खेलकुद पदकधारीहरूको पुरस्कारको रकममा उल्लेखनिय बृद्धी

काठमाडौं ।ओलम्पिक, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुद (साग)मा पदक जिते नेपाली खेलाडीले पाउने सरकारी पुरस्कार रकममा उल्लेख्य वृद्धि गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गर्ने प्रस्तावमा विहीबार मन्त्रिपरिषद्को बैठकले शैद्धान्तिक सहमती दिए सँगै कार्यान्वयनमा आउने भएको हो । पुरस्कार कार्यविधि खेलकुद नियमावलीमै गाभेर लागू गर्न लागिएको छ ।

नयाँ व्यवस्था अनुसार ओलम्पिक खेलकुद अन्तर्गत ग्रिष्मकालीन, शीतकालीन र पारा ओलम्पिक सँगै फिफा विश्वकप फुटबलमा पदक विजेतालाई समान पुरस्कारको व्यवस्था गरिएको छ । यी खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीले एकल खेलतर्फ १ करोड ३० लाख र सामूहिक खेल तर्फ जनही ५२ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । रजत जितेमा एकल तर्फ ९७ लाख र सामुहिक खेल तर्फ जनही ४५ लाख तथा कांस्य जितेमा एकल तर्फ ६५ लाख र सामूहिक तर्फ जनही २६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै स्वर्ण विजेता खेलाडी तथा टिमको प्रमुख प्रशिक्षकले १३ लाख, रजत विजेताले ७ लाख ८० हजार र कांस्य विजेताले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । स्वर्ण विजेता खेलाडी तथा टिमको सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले ६ लाख ५० हजार, रजत जितेमा ३ लाख ९० हजार र कांस्य जितेमा २ लाख ९२ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । स्वर्ण, रजत र कांस्य जित्ने खेल संघले क्रमसः १९ लाख ५० हजार, १५ लाख ६० हजार र ११ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

यसअघि २०७२ सालमा बनाइएको कार्यविधि अनुसार ओलम्पिक स्वर्ण जित्ने खेलाडीले एकल खेल तर्फ १ करोड र सामूहिक तर्फ ४० लाख, रजत विजेता खेलाडीले एक तर्फ ७५ लाख र सामुहिक तर्फ ३५ लाख तथा रजत विजेता खेलाडीले एकल तर्फ ५० लाख र सामुहिक खेल तर्फ २० लाख रुपैयाँ पुरस्कार पाउँदै आएका थिए । नयाँ कार्यविधि अनुसार एसियाली खेलकुदमा स्वर्ण जित्ने खेलाडीले एकल खेल तर्फ ३२ लाख ५० हजार र सामुहिक खेल तर्फ १३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । रजत विजेताले एकल खेल तर्फ १९ लाख ५० हजार तथा सामुहिक खेल तर्फ ६ लाख ५० हजार र कांस्य विजेताले एकल तर्फ १३ लाख र सामूहिक खेल तर्फ ३ लाख ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

स्वर्ण विजेता खेलाडी तथा टिमको प्रशिक्षकले ६ लाख ५० हजार, रजत विजेताले ३ लाख ९० हजार र कांस्य विजेताले २ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले स्वर्ण, रजत र कांस्य जितेमा क्रमसः ३ लाख २५ हजार, १ लाख ९५ हजार र १ लाख ३० हजार रुपैयाँ पाउनेछन् । खेल संघले पनि क्रमसः १३ लाख, ६ लाख ५० हजार र ३ लाख ९० हजार पुरस्कार पाउनेछन् । दक्षिण एसियाली खेलकुद (साग)तर्फ स्वर्ण विजेता खेलाडीले एकल खेल तर्फ ११ लाख ७० हजार, सामूहिक खेल तर्फ ७ लाख ८० हजार रुपैयाँ पाउनेछन् । अघिल्लो व्यवस्था अनुसार सागमा स्वर्ण जित्नेले एकल तर्फ ९ लाख र सामुहिक तर्फ ६ लाख पाउँदै आएका थिए । रजत विजेता खेलाडीले एकल तर्फ ७ लाख ८० हजार र सामुहिक तर्फ ५ लाख २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । कांस्य जित्नेले एकल तर्फ ३ लाख ९० हजार र सामुहिक तर्फ २ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउँछन् ।

सागमा स्वर्ण जित्ने खेलाडी तथा टिमको प्रशिक्षकले ६ लाख २५ हजार, रजत जित्नेले ३ लाख ९० हजार र कांस्य जित्ने खेलाडीका प्रशिक्षकले २ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले पनि स्वर्ण, रजत र कांस्य अनुसार क्रमासः ३ लाख ९० हजार, २ लाख ६० हजार र १ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । स्वर्ण, रजत र कांस्य जित्ने खेल संघले क्रमसः ६ लाख ५० हजार, ३ लाख ९० हजार र २ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले १ लाख र अन्तर्राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले २ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार पाउने व्यवस्था कार्यविधिमा गरिएको छ ।

 

 

footer