kumari
stcnepal

नेकपा एकीकृत समाजवादीका बहुमत नेताहरू एमाले सँग मिल्न तयार, माधव नेपाललाई संकट

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका बहुमत नेता विभाजन गरेको एमाले सँग मिलेर जानुपर्ने पक्षमा उभिएका छन्। अध्यक्ष नेपाल बाहेक बरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने लगायतले तत्काल एकीकरण नगरे पनि एमाले सँग मिलेर बामपन्थी मोर्चा बनाउनुपर्नेमा जोड दिन थालेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र बनाउन सकिने र नेपाली कांग्रेस सँग गठबन्धन गरेरै आगामी निर्वाचनमा जानुपर्ने बताइरहेका बेला एकीकृत समाजवादी त्यसमा राजी देखिएको छैन।

बामपन्थी मोर्चा बनाउनुपर्ने र त्यो एमाले बाहेकको हुन नसक्ने एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले बताएका थिए। एक जना नेता भन्छन्,‘हाम्रो बिमति एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली प्रति थियो। तर एमाले बाहेकको मोर्चा बनाएर दक्षिणपन्थी शक्तिलाई सहयोग गर्ने होइन।’ अध्यक्ष माधवकुमार नेपाल एमाले पराजित गराउने अभियानमा लागे पनि पछिल्लो पटक विकसित राजनीतिक परिस्थिति र स्थानीय निर्वाचनमा माओवादी र कांग्रेसले हेपेका कारण पनि बहुमत नेताले फरक विचार राख्न थालेका छन्। उनीहरूले कतिपय बैठकमा नै एमाले सँग मिलेर जानुपर्ने राजीखुसी अभिव्यक्त गर्न थालेका हुन्।

‘हामीले प्रवित्तिको विरोधमा समाजवादी रोजेका थियौं। यसको अर्थ एमाले निर्माणमा हाम्रो योगदान विर्सने र कांग्रेस–माओवादीको हेपाहा व्यवाहार सहने थिएन’, उच्च स्रोतले भन्यो।बामपन्थीको मात्र समाजवादी केन्द्र नबनेको खण्डमा बामपन्थी मोर्चा बनाएर आगामी चुनावमा एमालेकै नेतृत्वमा मैदानमा जान सकिने प्रस्ताव पनि अगाडि बढाइएको छ। एमालेलाई फकाउनका निम्ति भिम रावल, घनश्याम भुसाल लगायत सँग पनि निरन्तर संवाद भइरहेको समाजवादीका नेता बताउँछन्।

footer