kumari
stcnepal

कांग्रेस, कम्युनिष्ट गणतन्त्र भनेको यही हो ?

राजन कार्की

जनताले अब सोध्ने बेला भयो– कांग्रेस, कम्युनिष्ट गणतन्त्र भनेकोयहीहो ?
गणतन्त्र भनेको यही हो भने यो लुटतन्त्रलाई जनताले गणतन्त्र किन मानिरहने ? नेताहरुको स्वविवेक र फरमानमा चल्ने त जहाँनियाँ शासन थियो, अधिनायकवाद थियो ।
राणा शासन घोषित अधिनायकवाद थियो, अहिलेको लोकतन्त्र अघोषित अधिनायकवाद हो । विधिको शासनको नाममा संवैधानिक अधिनायकवाद । नेपालको कुन चाहिं संवैधानिक निकाय विधिले चलेको छ ? न्यायालयमा समेत राजनीति र आइएनजीओ प्रभावशाली हुन्छ भने यस्तो शासनलाई लोकतन्त्र भन्ने, मान्ने ? यो त लोकतन्त्रकै अपमान भएन र ?

लोकतन्त्रमा लोक प्राथमिकतामा हुन्छन् । लोकका आवाज सुनिन्छन् । लोकका अपेक्षाको कदर हुन्छ । लोकादेशमा शासन चल्छ । नेपालमा त बोकाको टाउको देखाएर कुकुरको मासु बेचेजस्तो, संविधान देखाएर नेताहरुको सेटिङमा पो शासन चलिरहेको छ । चुनाव, संसद, सरकार, नियुक्ती, सदर, बदर, आदेश, परमादेश, उजुरी, फैसला सबै सेटिङ्मा । योभन्दा अलोकप्रिय लोकतन्त्र संसारमै देख्न सकिन्न ।
जनयुद्ध भयो, जनआन्दोलन भयो । पद्धति परिवर्तन भयो । धर्म फालियो, राजतन्त्र फालियो । केका लागि ? यस्तै छाडातन्त्र, सेटिङ तन्त्रका लागि हो ? गणतन्त्र गणको तन्त्र हो अर्थात जनताको तन्त्र । गणतन्त्र आएको १५ वर्ष भयो, गनायोमात्र । बागमतीको फोहर र गणतन्त्र उस्तै छ, कहिले पनि सफा नहुने । १२ वर्षदेखि सफाइ अभियान थालेको बागमतीबाट हजारौं टन फोहर निस्कियो तर सफा भएन । बुझ्नुपर्ने चुरो के रहेछ भने सफाइ पहिले मन, वचन र कर्मबाट हुनुपर्ने रहेछ । भाषणको सफाइले केही पनि सफा नुहुने रहेछ । बागमती सभ्यताको भाषण भए, फोहर निकालिए । आज फोहर निकाल्यो भोलि बागमती उस्तै । बागमती सफा गर्नुपर्छ भन्ने राजधानीबासीमा चेत नै छैन । अचेत भन्नु विवेकहीन भन्नु उही कुरा त हो ।

प्रभाव र दवाव समूहबाहेक आमलोक पीडामा छ । पीडित लोकको आवाज सुन्ने कोही छैन । पीडितहरु लोक हुन् कि किरा फट्याङ्ग्रा, कुनै हिसाव किताव छैन । प्रभावशालीहरु काजु खाएर ¥याल काढिरहेका छन्, लोक नाना, खाना, अक्सिजन, उपचार, सुरक्षा केही नपाएर मरिरहेका छन् । लोक मरेकोमा लोकनेता चिन्तित छैनन् । यस्तो संवेदनहीन व्यवस्थालाई लोकतन्त्र सफल भयो भनेर ढोल पिटिरहने हाम्रा नेतातन्त्र देखेर विश्व नै छक्क परिरहेको छ ।
सवाल लोकको हो । लोक यतिबिघ्न सहनशील छन् कि जतिसुकै नेतातन्त्रले किचे पनि मिचे पनि लोक विद्रोह गर्न सक्दैनन् । बोल्नसक्नेलाई आफ्नो पछुवा कार्यकर्ता बनाएका छन् । कमजोर लोक आँसु पिएर बाँचेका छन् । यस्तो लोकतन्त्र भन्नु र सतीको सरापबाट देश मुक्त भएको छैन भन्नुमा मेल खान्छ ।

राजनीति पनि त्यस्तै छ । विवेकहीन छ । त्यसकारण त सर्वहाराको व्यवस्था, समतामूलक व्यवस्था, नयाँ नेपाल बनाउने अठोटका भाषण खुब गरिए । मन, बचन र कर्म भ्रष्टाचारी छ, अनैतिक र निष्ठाहीन छ । भाषणले राजनीति सुध्रिने होइन रहेछ । यहीकारण त ८ वर्ष लगाएर ल्याएको संविधान ६ वर्षमै सडकमा पुग्यो । नोज डाइभ ग¥यो । यस्तो संविधानले कसरी देश बचाउँछ, बनाउँछ ?
०४६ सालमा बहुदल आएदेखि अग्रगमनकारी जो थिए, क्रान्तिकारी जो छन्, धर्म र राजतन्त्र फालेर गणतन्त्र ल्याउने जो अगुवा थिए, आज पनि तिनकै हालीमुहाली छ राजनीतिक सत्तामा । नेतृत्व गण जनतालाई भ्रमित पारेर आफ्ना स्वार्थ पूरा त गरिरहेका छन् तर कुबाटोमाछन् र आफैलाई धोका दिइरहेका छन् । विभेद र निषेधलाई प्रेमबाट, पापकर्मलाई सदाचारबाट, लोभलाई दानबाट, भ्रमपूर्ण अभिव्यक्तिलाई सत्यवाद विजय पाउन सकिन्छ । तर लोकतन्त्र हाँक्ने चालकहरू सत्ता, शक्ति र सम्पत्तिलाई विजय ठानिरहेका छन् र राजनीतिमा नम्बरी सफल व्यवसायी बनिरहेका छन् । राजनीति समाजसेवा थियो, व्यवसाय बनाइदिए ।

गणतन्त्रमा जनताको मत काम लागेन । राजनीतिक भागबण्डामा न्यायाधीश बनेकाले संसद बोलाइदिए, प्रधानमन्त्री बनाइदिए । हरेक समस्याको समाधान न्यायालयमा बसेका राजनीतिक पण्डाहरुको हातमा पो पुग्यो ।
कहाँ छ ? संसदीय मर्यादाको सवाल ? न्यायाधीश हरिकृष्ण कार्कीको टिमले सर्वोच्च अदालतको कार्य प्रणालीबारे दिएको रिपोर्टमा स्पष्ट लेखियो– न्यायाधीश र अधिवक्ताहरू नै सेटिङमा चल्छन्, फैसला सेटिङमा हुन्छ । यस्तो अदालतले दिएको फैसलामा देश चल्छ भने यो सेटिङ्मा चलेको कि स्वच्छ न्यायमा चलेको हो ?

महा गल्ती भयो ? अन्यायको मूल्य देश र जनताले चुकाउनु परिरहेछ ।बुझ्नुपर्ने ऐतिहासिक घटनाक्रम हो– हिटलर र मुसोलिनी न राजा थिए, न राजाका सन्तान । यस्तै चरित्र हाम्रा नेताहरुमा हलक्कै बढेको छ । जुन देशमा राष्ट्रिय हित र जनताको कल्याणभन्दा सत्ता प्राप्तिका षडयन्त्र हुन्छन्, सत्तालोलुपता, सत्ता हत्याउ शासन गर र आर्जन गर भन्ने मुख्य उद्देश्यले प्रमुखता पाउँछ, त्योदेशको पतन अवश्यम्भावी हुन्छ । हामी पतनमुखी बनेका छौं ।
विदेशीले परिवर्तन ल्याइदिने, विदेशी एजेण्डा लाद्ने र थाहा पाएर पनि सच्याउन नसक्नेहरू राजनीति र सत्ता सधैं आफ्नो पडकमा रहन्छ भनेर लागेका छन् । यस्तो राजनीति अर्काको लागि शिखण्डीको भूमिकामा देखिएका छन् । राजनीतिमा दूरदृष्टिको अभाव छ र सत्तास्वार्थको दबाब छ, अनुशासन र नैतिकता पटक्कै छैन । यस्तै दलीय दलदलमा राष्ट्रका युगसमय गुज्रिरहेको छ । नेपालको राजनीतिमा घातीहरू कति छन् कति । रामले होइन, विदेशीहरूले परिवर्तनका लागि ठूलोलगानी गरिदिए, परिवर्तन ल्याइदिए । जो नेपाली नेता छन्, ती विभीषण लाग्छन्, घाती देखिन्छन् । जनताको मनले एकजनालाई पनि आफ्नो नेता भनेर सम्मान गर्दैनन् ।
नेपालमाथि कपटी खेल जारी छ ।

नेपालको गरिबी र पञ्चमांगी चरित्रका राजनीतिक नेताहरूलाई प्रयोग गरेर नेपाललाई अर्को भेटिकन सिटी बनाउनु पर्छ भन्नेहरू यतिबेला नाना, खानासँगै बाइबल बोेकेर गाउँ गाउँ, स्कूल कलेज, विश्वविद्यालयसम्म छिरेका छन् । यहीकारणले गर्दा राष्ट्रिय एकता खलबलिदैछ । सद्भाव र धर्म संस्कृतिमा विचलन आउन थालेको छ । इतिहासमाथि वैरभाव सिर्जना गरिदैछ । यिनै हुन् विदेशीका एजेण्डा र यिनै एजेण्डाका बिभीषण बनेका छन् लोकतान्त्रिक नेताहरू ।

जनताले बुझ्नुपर्छ, यस्ता विभीषणबाट देश बन्दैन । जनता बच्दैनन् ।
जनता बाँच्नका लागि जनता आफैले आफ्नो बचावट गर्नुपर्छ । भयको वातावरणबाट विद्रोहको आवाजसहित सडकमा निस्कनुपर्छ । अन्यथा मृत्युबाट लोकलाई बचाउन कुनै नेता अघिसर्नेवाला देखिने छैनन् ।

 

footer