kumari
stcnepal

विभिन्न करकै कारण इन्धनको मूल्यमा बृद्धि

 

काठमाडौ । नेपाल आयल निगमले चालु आर्थिक वर्षको ३ महिनामै साउन, भाद्र र असोज २७ गते सम्ममा ६ लाख किलोलिटर पेट्रोलिमय पदार्थ जसमा पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन, र ग्यास आयात गरेर १४ अर्ब ३७ करोड राजस्व संकलन गरेको छ ।
यो वर्षको पहिलो ३ महिनामै १४ अर्ब रुपैँया राजस्व संकलन भएको छ । यो अवधिमा निगमले ६८ अर्व ९६ करोड ८३ लाख ४३ हजार रुपैँया बराबरको ६ लाख ३२८ किलोलिटर इन्धन आयात गरेको छ ।
सो अवधिमा १ लाख ७४ हजार १ सय किलोलिटर पेट्रोल दुई लाख ६४ हजार ३६२ किलोलिटर डिजेल, २ हजार ३८० किलोलिटर मट्टितेल, ३६ हजार किलोलिटर हवाई इन्धन र १ लाख १८ हजार २९५ मेट्रिकटन ग्यास आयात गरेको छ ।
पछिल्लो समयमा इन्धनको खपत भएसँगै इन्धनको आयात बढ्दै गएको छ । साउनदेखि हालसम्म भन्सार शुल्क वापत् ८ अर्ब ५० करोड रुपैँया संकलन भएको छ । यस्तै पूर्वाधार कर वापत् ४ अर्ब ३८ करोड ४६ लाख २० हजार, सडक मर्मत दस्तुर १ अर्ब २२ करोड, प्रदुषण कर वापत् ६५ करोड संकलन भएको निगमको भनाई रहेको छ । पेट्रोलिमय पदार्थ आयात गरेवापत् भन्सार विन्दुमा नै कर संकलन हुने गर्दछ ।
१ लिटर पेट्रोलमा कुल राजस्व ६३ रुपैँया ३६ पैसा, डिजेलमा ४७ रुपैँया ३ पैसा, मट्टितेलमा १३ रुपैँया ७५ पैसा, हवाई इन्धनमा २६ रुपैँया ३० पैसा र खाना पकाउने ग्यासमा २११ रुपैँया कर लाग्ने गरेको छ ।
भन्सार शुल्क वापत् प्रतिलिटर पेट्रोलमा २५ रुपैँया २० पैसा र ग्यासमा ९१ रुपैँया ८२ पैसा संकलन गर्ने गरिएको छ । मूल्य अभिबृद्ध कर (भ्याट) वापत् पेट्रोलमा २० रुपैँया ८२ पैसा, डिजेलमा १९ रुपैँया ७९ पैसा, हवाई इन्धनमा २१ रुपैँया ८६ पैसा र ग्यासमा २० रुपैँया संकलन हुने गर्दछ । भ्याट भने इन्धनको मूल्य घटबढ सँगै परिवर्तन हुने गर्दछ ।
पूर्वाधार विकास कर वापत् पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैँया संकलन गर्ने गरिएको छ । सडक मर्मत दस्तुर वापत् पेट्रोलमा प्रतिलिटर ४ रुपैँया र डिजेलमा २ रुपैँया संकलन हुने गरेको छ ।
वातावरण शुल्क प्रतिलिटर पेट्रोल र डिजेलमा १ रुपैँया ५० पैसा यस्तै मूल्य स्थिरिकरण कोषमा पेट्रोलमा १ रुपैँया ८१ पैसा डिजेलमा प्रतिलिटिर १ रुपैँया ५० पैसा र ग्यासमा प्रतिसिलिण्डर १८ रुपैँया संकलन हुने गर्दछ ।
विभिन्न शिर्षकमा कर कटाएर आयल निगमले इन्धनमा उपभोक्ता मूल्य तोक्ने गरेको छ । विभिन्न शिर्षकमा लगाइएको उच्च करका कारण उपभोक्ताले चर्को मूल्य तिर्नु परेको छ ।
इन्धनको मूल्य विश्व बजारमा घट्दा पनि नेपालमा भने करकै कारण मूल्य घट्न सकेको छैन भने पछिल्लो समयमा विश्व बजारमा इन्धनको मूल्य बढ्दै गएकाले फेरी इन्धनमा मूल्य बढ्न सके सम्भावना रहेपनि सरकारले भने आफूले लगाएको कर घटाएर जनतालाई राहत दिने प्रयास सम्म गरेको छैन ।

footer