kumari
stcnepal

भारतले धान निर्यातमा नेपाल माथि लगाएको प्रतिबन्ध हटायो, अब नेपालमा चामल सस्तो हुने

वीरगञ्ज ।भारतले नेपाल आउने धानमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ । भारतले नेपालका लागि निर्यात गर्दा पुनः भन्सार नलिने भएको हो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग) ले १४ कात्तिकमा सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा भन्सार दर शून्य कायम गरेको जनाएको छ ।

यसअघि भारत सरकारले २३ भदौमा सूचना जारी गरेर नेपालको लागि समेत धान निर्यात गर्दा २० प्रतिशत भन्सार शुल्क लाग्ने बताएको थियो । सूचना जारी भएलगत्तै वीरगञ्ज उद्योग वाणिज्य संघ, नेपाल चामल, दाल, तेल संघले विरोध जनाएको थियो । संघले नेपाल तथा भारतका सम्बन्धित निकायमा गई नेपालका लागि धान निर्यातमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएर शून्य भन्सारमा झार्न पहल गर्दै आएको थियो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले भारतले धानको निर्यातमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएपछि चामल उद्योगीलाई राहत मिलेको बताए ।‘भारत बाट धान ल्याउँदा २० प्रतिशत भन्सार शुल्क तिर्नुपर्दा चामल उद्योगहरु बन्द हुने अवस्थामा पुगेका थिए, नेपाली उपभोक्ताले महँगोमा चामल किनेर खानुपर्ने बाध्यता बनेको थियो,’ उनले भने, ‘भारतले धान निर्यातमा पुनः शून्य भन्सार नीतिले उद्योगीलाई मात्रै हैन, सबै नेपालीलाई राहत मिलेको छ ।’

भारतले जारी गरेको सूचनामा धान, भुसी (खैरो) चामल, अर्ध-मिलेको वा पूर्ण-मिलेको चामल, पोलिस गरिएको वा ग्लेज्ड अथवा उमालेको चामल र बासमती चामल बाहेकमा भन्सार नलाग्ने उल्लेख गरेको छ । यस्तै अर्गानिक गैर-बासमती चामल निर्यातमा पनि भन्सार लाग्दैन । तर त्यसका लागि ४ वटा शर्त राखिएको छ ।

९ सेप्टेम्बर २०२२ भन्दा यता भन्सारमा आएका धानमा पनि भन्सार लाग्ने छैन । धान नेपाल निर्यात गर्दा रक्सौल स्थित भन्सार स्टेसन, जोगबनी वा सुनौली जता बाट गरे पनि ६ लाख मेट्रिक टन भन्दा बढी गर्न नपाउने शर्त छ । लेटर अफ क्रेडिट ९ सेप्टेम्बर २०२२ बाट मात्रै खोलिने उल्लेख गर्दै त्यसअघि नै भारतीय र विदेशी बैंक बीच विनिमय भइसक्नुपर्ने लगायत शर्त राखिएको छ ।

नेपाल चामल, दाल, तेल संघका अध्यक्ष समेत रहेका गुप्ताले ६ लाख मेट्रिकटन धान आयात गर्न पाउने अनुमति पाएकोमा खुशी व्यक्त गरे । गत वर्ष नेपालले भारत बाट साढे ५ लाख मेट्रिकटन धान आयात गरेको थियो । नेपालका चामल उद्योगहरुको विकास, विस्तार र प्रबर्द्धन सँगै नयाँ चामल उद्योगहरु स्थापनामा यसले मद्दत पुग्ने गुप्ताको भनाइ छ । भारत बाट धान आयात गर्न पाउँदा उपभोक्ताले सस्तो मूल्यमा गुणस्तरीय चामल प्राप्त गर्ने दाबी उनको छ ।

footer