kumari
stcnepal

दाहालको लागि जनहितमा काम र्ने सुवर्ण अवसर

 

काठमाण्डौ । गत मंसिर ४ गते सम्पन्न भएको संसद र प्रदेशसभाको निर्वाचनमा कुनै पनि दलले सरकार निर्माण गर्न आवश्यक पर्ने बहुमत ल्याउन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमाले सहितका दलहरुको सहयोग र समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
माओवादी केन्द्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि भएर कांग्रेसकै नेतृत्वमा बनेको पाँच दलीय गठबन्धनमा रहेर निर्वाचनमा गएको थियो । तर पाँच दलीय गठबन्धनले बहुमत ल्याउन सकेन भने रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी सहित नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राप्रपाले समेत संघीय संसदमा राम्रो उपस्थिति जनाएका कारण अध्यक्ष दाहाल कांग्रेसको बलमा प्रधानमन्त्री बन्न सक्ने अवस्था नदेखेपछि कांग्रेसँगको गठबन्धन तोडेर नेकपा एमालेको गठबन्धनमा पुगेका हुनाले नै उनी प्रधानमन्त्री बनेका हुन् ।
नेकपा एमालेको गठबन्धनमा कांग्रेस र महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी बाहेक अन्य सबै दलहरु सहभागि भएका छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले मुलुकको आर्थिक अवस्था संकटमा पु¥याएको छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको व्यवहारले गर्दा अर्थतन्त्र धरापमा परेको थियो । तत्कालिन प्रधानमन्त्री केपी ओली रहेको बेला १३ महिनालाई आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिती रहेकोमा देउवा सरकारले सत्ता छोड्दा मुस्किलले ७ महिनालाई आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिती रहेको छ । प्रत्येक क्षेत्रमा संकट थपिएको छ ।
पार्टीगत र व्यक्तिगत स्वार्थलाई हेरेर सत्ता सञ्चालन गरिएको परिणाम अहिले देखिँदै गएको छ । पुष्पकमल दाहाल प्रधानमन्त्री भएका छन् । उनी तेस्रो पटक प्रधानमन्त्री भएका हुन् यस भन्दा अगाडिको दाहालको प्रधानमन्त्रीको कार्यकाल छोटो समय भएको र दुवै पटक ९÷९ महिनामात्र प्रधानमन्त्री भएकाले उनले उपलब्धि मूलक काम गर्न सकेका थिएनन् । तर यस पटक उनले काम गर्ने सुवर्ण अवसर पाएका छन् ।
एमालेजस्तो सहयोगी पाएका छन् अब उनले कुनै बहानाबाजी गरेर समय विताउने कार्यमा नलागि सबैलाई विश्वासमा लिएर अघि बढ्नु पर्ने अवस्थामा उनी पुगेका छन् । मुलुकको आर्थिक अवस्था नाजुक अवस्थामा पुगेको छ । आर्थिक अवस्था सुधार गर्ने अवसर दाहाल सरकारको प्रमुख कार्यभार हुनुपर्दछ । पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा कस्तो अर्थतन्त्र र समाज बनाउन चाहेका हुन् भन्ने प्रश्नको उत्तर यस पटक खोजिनेछ । त्यस्तो केही गरेमात्र उनले इतिहासमा आफ्नो सान्दर्भिकता सावित गर्न सक्छन् ।
प्रधानमन्त्री दाहालको राजनीतिक करिअरमा आएको उतार चढाव बीच उनी तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । यस पटक उनी जसरी भएपनि र जुन दलसँग मिलेर पनि उनी प्रधानमन्त्री बन्न चाहान्थे । कांग्रेस गठबन्धनमा रहेका बेला आलोपालो प्रधानमन्त्री बन्न चाहान्थे भने कांग्रेस सभापतिलाई त्यो स्वीकार्य थिएन ।
कांग्रेस संघीय संसदको ठुलो पार्टी भएको हुनाले सभापति देउवा नै पहिलो प्रधानमन्त्री बन्न चाहान्थे । पहिला प्रधानमन्त्री बन्न चाहानुको कारण सम्वैधानिक व्यवस्था पनि कारक रहेको छ । प्रधानमन्त्री बनेर संसदबाट विश्वासको मत लिईसकेपछि २ वर्ष सम्म प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव राख्न नपाइने सम्वैधानिक व्यवस्थाकै कारण देउवा–दाहाल पहिला प्रधानमन्त्री बन्न चाहेका थिए ।
संसदमा कुनै एक दलको बहुमत नभएको र मिलिजुली सरकार निर्माण गर्नुपर्ने बाध्यता रहेकाले गर्दा २ वर्ष पछिको अवस्था के हुन्छ ? राजनीतिक दलहरु कसरी अगाडि बढ्छन् भन्ने आंकलन गरेरै देउवा दाहाल पहिला प्रधानमन्त्री बन्न चाहेको प्रष्ट हुन्छ । कांग्रेसले आफैँले सरकारको नेतृत्व लिने प्रयास गरेपछि मात्र दाहाल एमाले अध्यक्ष ओलीकहाँ पुगेका हुन् । त्यसैको फलस्वरुप प्रधानमन्त्री बन्ने अवसर उनले पाएका हुन् ।
प्रधानमन्त्री दाहालको लागि अहिले काम गर्ने सुवर्ण अवसर मिलेकोले सायद उनको प्रधानमन्त्रीको कार्यकाल यो अन्तिम पटक हुन सक्छ । त्यसैले उनले अहिले जनताको मन छुने गरी पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हक हित र मुलुकमा उत्पन्न भएका समस्याहरुमा केन्द्रित रहेका काम गर्नुपर्दछ ।
सबै दलको सहयोग र समर्थनमा अघि बढेको खण्डमा मात्र दाहाललाई सहज हुन सक्छ । मै सर्वेसर्वा हुँ भनेर अघि बढ्ने प्रयासमा प्रधानमन्त्री लागेको खण्डमा उनी असफल प्रधानमन्त्रीका रुपमा ठहरिने निश्चित जस्तै रहेको छ ।

footer