kumari
stcnepal

कांग्रेस सबै राजकीय पदबाट बाहिर

 

काठमाडौ । गत मंसिरमा सम्पन्न भएको संघीय संसद र प्रदेशसभाको निर्वाचनमा सबैभन्दा ठुलो पार्टी बनेको नेपाली कांग्रेसले सरकार निर्माण गर्न नसकेपछि अहिले कांग्रेसभित्र सभापति शेरबहादुर देउवा रक्षात्मक अवस्थामा पुगेका छन् ।
संस्थापन इतर पक्षले सभापतिदेउवा कै हठका कारण गठबन्धन टुटेको भन्दै देउवालाई सभापतिबाट राजिनामा दिन दबाव दिइरहेका छन् । संस्थापन पक्ष भने अहिले रक्षात्मक अवस्थामा रहेको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्काल नीति अधिवेशन बोलाउन सभापतिलाई आग्रह गरेका छन् ।
तत्कालिन पाँच दलीय गठबन्धन टुटेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेको सहयोगमा अन्य पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका छन् । केन्द्रमा नेकपा एमाले सहितको नयाँ गठबन्धन बनेको हुनाले सातै प्रदेशमा कांग्रेस विपक्षीको भूमिकामा सिमित भएको छ ।
आउँदो फागुन २९ गते राष्ट्रपति, उपराष्ट्रपतिको पाँच वर्षे कार्यकाल समाप्त हुँदैछ । राष्ट्रपति र उपराष्ट्रको पदावधि सकिनु भन्दा एक महिना अघि नै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउनु पर्ने सम्वैधानिक व्यवस्था रहेकाले आउँदो माघ २८ गते भित्रमा नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने भएको छ ।
राष्ट्रपति र उपराष्ट्रपति पनि अब सत्ता गठबन्धनबाटै बन्ने र सभामुख, उपसभामुख, प्रदेश प्रमुख सातवटै प्रदेशका मुख्यमन्त्री, प्रदेश सभा सभामुख, उपसभामुख लगायत सबै राजकीय पदबाट कांग्रेस विमुख हुने निश्चित भएको छ ।
२०४६ सालको राजनीतिक परिवर्तन पछि कांग्रेसले नै सबैभन्दा बढी सरकारको नेतृत्व गर्दै आएको भएपनि यस पटक पनि उसले पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा गएको थियो ।

पाँच दलीय गठबन्धनले सरकार निर्माण गर्न आवश्यक पर्ने सामान्य बहुमतसमेत ल्याउन नसकेको र देउवालाई प्रधानमन्त्री बनाउँदा माओवादी केन्द्रसँग कांग्रेसले आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेको भएपनि कांग्रेसले पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन इन्कार गरेको हुनाले नै ऊ सत्ता बाहिर बस्न बाध्य भएको छ ।
कांग्रेसका सभापति शेर बहादुर देउवा आजसम्म च्याखे थापेर मात्र प्रधानमन्त्री बनेका हुन् । यस पटक पनि उनी जसरी भएपनि प्रधानमन्त्री बन्ने रणनीतिमा भएपनि उनको रणनीति एमालेको अध्यक्ष केपी ओलीले असफल पारिदिएका छन् । अध्यक्ष ओलीकै सक्रियतामा दाहाल प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

footer