kumari
stcnepal

विश्वकप क्रिकेट लिग -२ युएईलाई पपुवान्युगिनीले ५६ रनले हरायो

काठमाडौं ।काठमाडौंमा जारी आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा पपुवा न्यूगिनीले यूएईलाई पराजित गरेको छ । आज (शुक्रबार) टियू खेल मैदानमा भएको खेलमा पपुवा न्यूगिनीले यूएईलाई ५६ रनले पराजित गरेको हो । पपुवा न्यूगिनीले दिएको २४७ रनको लक्ष्य पछ्याएको यूएईले ४२ दशमलब २ ओभरमा १९० रन मात्रै बनायो । यूएईका आर्यन लक्राले ५१ रन जोड्दा कप्तान तथा ओपनर मोहमद वासीमले ४१ रन बनाए । बलिङमा पिएनजीका रेली हेकुरेले ३ विकेट लिए भने काबुआ मोरिआ र आसद भालाले २/२ विकेट लिए ।

त्यसअघि यूएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ५० ओभरमा ९ विकेटको क्षतिमा २४६ रन बनाएको थियो । पपुवा न्यूगिनीका लागि तीन ब्याटरले अर्धशतक प्रहार गरेका थिए । ओपनर किप्लिन डोरिगाले ४४ बलमा ५५ रन बनाए । अर्का ओपनिङ ब्‍याट्सम्यान हिरी हिरी ७७ रनको योगदान दिए । सेसे बाउले नटआउट ८१ रन जोडे। उनले १०६ बलमा १० चौका प्रहार गरे । ३२ ओभरमा १८४ रन बनाउदा तीन विकेट गुमाएको पिएनजीले बाँकी ओभरमा ६२ रन मात्र जोड्न सक्यो । बलिङमा यूएईका आयन खानले ३ विकेट लिए भने जुनइद सिद्धिकी र जहूर खानले २/२ विकेट लिए ।

नेपाल, यूएई र पपुवा न्यूगिनी बीच यो सिरिज आइसीसी विश्वकप लिग–२ को अन्तिम सिरिज हो । सात टिमबीचको लिग–२ को अन्तिम सिरिजबाट विश्वकप छनोट, एकदिवसीय मान्यता र विश्वकप क्वालिफायर प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ। चार मध्ये पहिलो खेल जितेसँगै अब एक जिते नेपालको लिग–२ बाटै एकदिवसीय मान्यता जोगिनेछ । बाँकी तीनै खेलमा हात पारे नेपालले लिग–२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ। सिरिजमा नेपालले अब फागुन २८ मा युएई, फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ ।

footer