kumari
stcnepal

हरेक नेता अँध्यारा छन्, जुविलियन कोही छैन

राजन कार्की

बिर्सियो, भर्जिनराष्ट्र नेपालमा भाँडभैलो गर्नुमा सफलता देख्ने भारतले इतिहास बिर्सियो । इतिहासमा हिन्दुस्तान पनि षडयन्त्र, धोखा र अपराधको साम्राज्य सावित भएको थियो । बृटिस शासनको समयमा भारतवर्षमा हैदर अली, टिपु सुल्तानजस्ता राष्ट्रवादी शासकहरू थिए । तर तिनको चाकडी गरेर र चाप्लुसीको बलमा शेख हयासजस्ता व्यक्ति अमीर (प्रधानमन्त्री) हुन पुगे । शेख हयास टिपु सुल्तानका सामु “आपके पैर तले मेरा जन्नत है” भन्थे । अन्ततः यिनै चाकर शेख हयासले बृटिसको दलाली गरेर मालिक टिपु सुल्तानलाई धोखा दियो । त्यो भारत बृटिश उपनिवेशमा परेपछि ९० वर्षको सङ्घर्ष गर्नुप¥यो, तब बृटिशले इण्डिया छाडेर गयो । आजको भारतले बिर्से पनि भारतको स्वतन्त्रताका लागि नेपालीले पनि ज्यानको बाजी लगाएका थिए । भारतका शासकलाई सम्झना छैन भने १९४७ अघिको इतिहास पढुन् ।

त्यो भारतले नेपालमाथि सधैँ हस्तक्षेपकारी दबाब सिर्जना गर्नु उचित हुनसक्छ ? भारतलाई थाहा छ– भारतीय प्रतिनिधि वेदान्ताचार्य कर्ण सिंहलाई साक्षी राखेर २०६३ साल वैशाख ११ गते संसद पुनःस्थापना गरिएको हो । त्यो भारतले राजासँगै सपथ खाएका गिरिजाप्रसाद कोइरालालाई कार्यवाहक राष्ट्राध्यक्षको मान्यता दिनुहुन्छ ? सत्य के थियो, घटना के भयो ? यसबारेमा न वेदान्ताचार्य कर्ण सिंह बोल्छन्, न भारत बोल्छ ? नेपालमा भारत स्वतन्त्र भएदेखि नै शेख हयासको भूमिकामा छ ।

दुवै ठूला छिमेकीको स्वार्थ र सक्रियता, पश्चिमासमेत प्रवेश गरेपछि वर्तमान नेपालमा षडयन्त्र, धोखा र अपराधको सिलसिला बढ्दै गयो । जलेर बेकम्मा भइसकेका नेतारुपी लाइम लाइटहरू अझै बल्छ कि भनेर विश्वास गर्ने नेपाली कति सोझा ? स्वार्थ पूरा हुन्छ भनेर जलेका लाइमलाइटलाई मतियार बनाउन पल्केका विदेशीहरू खतरनाक बनिरहेछन् । नेपालीले अबेर गर्नुहुन्न– जलेका लाइमलाइटहरू अब फाल्नुपर्छ ।लेख्न त जनादेशको मसीले नै लेखेको संविधान हो । स्वार्थको मसीले लेखेको संविधान स्वार्थका सामु झुक्यो । जसले ठड्यायो संवैधानिक घण्टाघर, समयको आवाज उनैले सुनेनन् । समयको प्रतिनिधित्व गर्न नसक्ने पनि संविधान हुन्छ ?

२०७२ माघ १८ गते, संविधान जारी भएको साँढे चार महिनापछिको अन्नपूर्ण पोष्टमा एमालेका अध्यक्ष केपी ओलीको अभिव्यक्ति छापियो । ‘माओवादीलाई १० अर्ब दिएर संविधान लेखियो, त्यसअघि माओवादीलाई २ अर्ब ३ करोड दिएकै हो ।’ यही सन्दर्भमा माओवादीकै डा.बाबुराम भट्टराईले ‘लडाकुको नाममा दिएको ३ अर्ब प्रचण्डले खाएका हुन्, जुन मुद्दा अख्तियारमा आलै छ ।’ त्यसपछि पनि भट्टराईले भनेका छन्– ‘बुढी गण्डकीको नाममा ९ अर्व ३ पूर्व प्रधानमन्त्रीले बाँडिचुँडी खाए, प्रमाण मसँग छ । प्रमाण दिन नसके झुण्डिएर मर्छु ।’ यो अभिव्यक्ति युट्युवमा हेर्न सुन्न सकिन्छ । यी बेहोरा नभएकाहरूका लागि संविधान र लोकतन्त्र भनेको राष्ट्रिय ढुकुटी मगन्तेका लागि भण्डारा खोलेजस्तो भएन त ? राणाकालमा भाते पाठशाला थियो, लोकतन्त्र भाते पाकशाला बन्यो । भातेमा स्वाभिमान हुने भए राजा फाल्नैपर्छ भन्ने एकजना भाते पाठशालाबाट हुर्केको प्रजातान्त्रिक बाहुनचरी, आजकल राजा नभएर देश बिग्रियो भन्न थालेका छन् ।

इतिहासमा लेखिएको छ– भारत वर्षको सारजहाँ शासनकालमा अमरसिंह राठोरजस्ता कर्मठ राष्ट्रवादी सेनापति थिए । सम्राटको नजिक खतरनाक चाकरीदारको कमी थिएन । राठोरजस्ता इमान्दारलाई नसिध्याए स्वार्थ सिद्ध नहुने भएपछि एक दिन चाप्लुसहरूले सेनापति अमरसिंह राठोरलाई सम्राटले गोप्य मन्त्रणा गर्न बोलावट भएको गलत सूचना दिए र पछाडिको भ्mयालबाट जान खबर गरे । दरवारको पछाडिको भ्mयाल चढ्न लागेका बेलामा सम्राटका चाप्लुसहरूले तरबार हानेर राठोरको हत्या गरिदिए ।

१९०३ को कोतपर्व होस् कि २०४६, २०५८, २०६३ का परिवर्तनहरूमा दरवार बिग्रेकै स्वार्थी चापलुसहरूका कारणले हो । मनमोहन अधिकारी बाहेक शासकहरू विदेशीका सामु झुकेरै देश बिग्रेको हो । यस्ता घटनाहरू इतिहासले टिपेको छ ।म त महाराजा भनेर भारत भ्रमणका बेलामा २१ तोपको सलामी खाने अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर राणा । उनलाई भारतले राजदूत चन्द्रेश्वर प्रसाद नारायण सिंहको हाराहारीमा राखेर १९५० को सन्धि गर्न बाध्य पारिदियो । यसरी अपमानित भएर पनि मोहन शमशेरले राणा शासन बचाउन सकेनन् । १२ बुँदे दिल्ली सम्झौता गर्नेहरूलाई भारतले तिनको हैसियत सहसचिव स्तरकै हो भन्ने कुरा र प्रमुख सामन्त गोयलसँग २०७७ मंसिरमा गोप्य दर्शनभेट गराएर प्रष्ट पारिदियो ? विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले सन २०२० नोभेम्बर २ मा नेपाल आउँदा यिनलाई किन वास्ता गर्थे ?

सोझा नेपालीलाई झुक्याउने नेताहरू कूटनीतिमा स्थापित प्रमाणहरू पढ्दैनन् । १९५० को सन्धिबारे कुरा उठ्न थालेपछि नेहरूले आफ्ना विदेश सचिवलाई समयानुकूल बनाउन होमवर्कका लागि अह्राएका थिए । यो कुरा अबतारसिंह भासिनको नेपाल–भारत, नेपाल–चीन पुस्तकमा लेखेका छन् । हुनसक्छ, यो समयानुकूल भनेको हिमालयसम्ममा भारतीय सीमा विस्तार पनि हुन सक्थ्यो । नेपालले ध्यान दिन सकेन, नेपालले आजसम्म पनि त्यो सन्धि फेर्ने साहस गरेन । ७२ वर्ष पछि पनि भारतले त्यही सन्धिले नेपालको गाला चड्काइरहेको छ, हामी लोकतन्त्रवादी भन्नेलाई चेत छैन ।

जनयुद्धकाल तुवाँलोको पर्खाल थियो, जनआन्दोलन धुवाँको पर्खाल बन्यो । धुवाँ र तुवाँलो छाँटिएपछि देखियो, राजनीतिका कमाण्डरहरूको स्वाधीनता त दयालाग्दा पो रहेछ । हरेक ठूला नेताहरू, पार्टीहरूको राष्ट्र र जनसेवा गर्छु भन्ने प्रतिवद्धता जनमत हासिल गरेर विदेशीको बकस खाने अक्किल पो रहेछ । बहुदलको ३३ वर्ष र लोकतन्त्रको १५ वर्षमा कुन चाहिँ नेतामा स्वाभिमान र नेपालीत्व देखियो ? जुटाउने र उफार्ने त अर्कै रहेछ । त्यो अर्कैका रणनीतिक लोकतन्त्रका लागि एक मत र एक शक्ति बनेका दलहरू, नागरिक समाज र अन्य शक्तिहरूको जुट, गुट र फुट कति बेला हुन्छ, ठम्याउनै सकिन्न । गणतन्त्रका लागि चारै दिशा बाँध्ने तत्वले गणतन्त्र आउनासाथ फुक्काफाल छाडिदियो । अस्थिरता र अराजकता फैलाइदियो । जसरी आयो, लोकतन्त्र आयो, गरिमा र महिमा, अनुशासन र सीमा कायम हुन नसक्दा मर्नथाल्यो । बसन्त पर्व वर्वादीको कोपभाजनमा पर्दैगयो । ताजा दृश्यहरू भावशून्य र हृदयशून्यहरूको भीडमात्र देखिन्छ । ग्रीककालीन कालखण्डमा जस्तो हाम्रा शासनाधिकारीहरू त्रासदीका खलनायक बनेका छन् ।

यस्ता खलनायकलाई कसरी लोकतन्त्रको नायक भन्नु ? बढेको वैराग यही हो । बर्लिनको पर्खाल ढल्यो, नेपालमा बढ्दो बाह्य दबाब र षडयन्त्र, आन्तरिक स्वार्थन्ध दन्तबजानको धुवाँ र तुवाँलोको अग्लदो पर्खाल ढाल्ने कसले ? संविधान र लोकतन्त्र असफल भइसक्यो । असफलतालाई सफलता भन्दैमा ढाँटेको कुरा काटे मिल्ला र ?परिवर्तनका दृष्टान्त र राजनीतिक इतिहास भन्छ– अधुरो कार्यसूचीका कारण चर्चिल र गान्धी जोखिममा परे, गान्धीको त ज्यान नै गयो । नेहरू र जयप्रकाश नारायणको अन्त्य परिणति कष्टप्रद भयो । नेपालको सन्दर्भमा वीपी कोइराला अधुरो कार्यसूची बोकेर बिते । मदन भण्डारी र वीरेन्द्र–ज्ञानेन्द्रको राजकाज पनि अधुरो कार्यसूची नै हो । दुर्दान्त नियतिका मूकसाक्षीहरूलाई वर्तमानको ऐनामा हेर्दा शान्ति र संविधान, सहमति र स्वाधीनताका रचनाकर्ताहरू धुवाँभित्र अलमल, अलपत्र छन् । जुविलियन कोही छैन ।

 

 

footer