kumari
stcnepal

अहिले जाडो कहिलेसम्म, के भन्दछन मौसम विद्ध ?

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा जाडो महसुस हुँदै आएको छ । बिहानको समयमा त बाक्लो ज्याकेट नै लगाउनुपर्ने खालको चिसो महसुस भएको छ । तर यो अवस्था अब कम हुँदै जाने र गर्मी बढ्ने मौसमविदको पूर्वानुमान छ । मौसमविद् प्रतिभा मानन्धरले अब पानी पर्न कम हुँदै जाने र न्यानो पनि हुने बताइन् । ‘हिजोको भन्दा आज सुधारात्मक छ । आज भन्दा भोलि सुधार हुन्छ,’ मानन्धरले भनिन्, ‘पानी पर्ने क्रम पनि कम हुने र न्यानो पनि हुँदै जान्छ ।’

अर्का मौसमविद विनोद पोख्रेलले पनि केही दिनयता देशभर भएको वर्षा आजदेखि कम हुँदै जाने बताए । जलवाष्प सहितको पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनयता पानी परेको छ । बिहीबार भने काठमाडौं उपत्यका आसपासका अग्ला डाँडामा हिउँ नै पर्‍यो ।नेपालको आकाशको उपल्लो तहमा पश्चिमी वायु जहिले पनि बहिरहेको हुन्छ । यसमा जलवाष्प बढी भयो भने पानी पर्छ । वर्षायामको बेला पश्चिमी वायुलाई पूर्वी वायुले प्रतिस्थापन गर्छ । वर्षायाम सकिएपछि पुनः पश्चिमी वायुले प्रभाव जमाउँछ । अहिले मनसुनपूर्वको समय भएकाले क्रमशः पूर्वी वायुले प्रभाव बढाउँदै जाने समय हो । तर पश्चिमी वायुको प्रभाव अहिले पनि कायमै छ ।

क्यारेबियन समुद्र हुँदै हिमाल माथि बाट नेपाल प्रवेश गर्ने हिउँ पार्ने प्रणाली अहिलेसम्म पनि उपल्लो तहमा कायमै रहेकाले पनि हिउँ पर्ने, वर्षा हुने र चिसो महसुस हुने गरेको मौसमविद् बताउँछन् । अत्यधिक जाडो हुने मंसिर, पुस र माघ महिनामा नपरेको हिउँ चैतमा पर्नु र मनसुन पूर्वको समयमा पनि लामो समयसम्म पानी पर्नुलाई मौसमविद्हरू वातावरण असन्तुलनको असर हुनसक्ने अनुमान गर्छन् ।मौसमविद् पोख्रेल चैतमा चिसो महसुस हुनुलाई असामान्य मान्न नसकिए पनि हिउँ नै पर्नु र लामो समयसम्म वर्षा हुनु अध्ययनको विषय हुनसक्ने बताउँछन् । ‘यस्तो हुँदै हुँदैन भन्न त सकिँदैन तर यो अध्ययनको विषय हो,’ उनले भने । उनले आजदेखि पानी पर्न कम हुँदै जाने र चिसो पनि हट्दै जाने बताए ।

 

footer