kumari
stcnepal

आफ्नो बैक खातामा राखेको पैसाप्रति सजग रहन राष्ट्र बैकको अनुरोध

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई आफ्नो बैंक खातामा भएको पैसाप्रति सजग हुन आग्रह गरेको छ । पछिल्लो समयमा विद्युतीय भुक्तानीका उपकरण बाट ठगी धन्दा भइरहेको र धेरैको खाताबाट रकम हराएको भन्दै राष्ट्र बैंकले सूचना मार्फत सजग गराएको हो ।

राष्ट्र बैंकले कतैबाट आफ्नो मोबाइल नम्बरमा वान टाइम पासवर्ड (ओटीपी) नम्बर आए त्यसको जानकारी आफ्नो सम्बन्धित बैक वा राष्ट्र बैंकमा गराउन भनेको छ । अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट अईपीएस, मोबाइल वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटहरूमा रकमान्तर गर्ने प्रवृत्ति बढेको राष्ट्र बैंकले जनाएको छ ।

विगत केही समयदेखि अनधिकृत व्यक्तिहरूले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई ग्राहक पहिचान (केवाईसी)सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहक बाट ओटीपी (निश्चित अंकको नम्बर उल्लेख भएको म्यासेज जस्ता विवरण माग्ने गरेको राष्ट्र बैंकले जनाएको छ । यस्ता विवरण मागिएमा तुरुन्त नजिकको बैंकलाई जानकारी गराउन भनिएको छ ।

यस्ता ठगीबाट बच्नका लागि अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरू उपलब्ध नगराउन पनि राष्ट्र बैंकले भनेको छ । कसैले यस प्रकारका घटना घटाएमा वा घटाउनका लागि उत्प्रेरित गरेमा सो को जानकारी तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउन आग्रह गरिएको छ । यस्ता गतिविधि थाहा भएमा राष्ट्र बैंकको इमेल ठेगाना gunaso_psd@nrb.org.np मा जानकारी गराउन पनि भनिएको छ ।

footer