kumari
stcnepal

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज जवाफी बहस हुने

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरू हुने भएको छ । सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्दैछन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपाने सहितका चारजना अधिवक्ताले जवाफी बहस गर्नेछन् । जवाफी बस शुक्रबार दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिइसकेका छन् ।

उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. ईन्द्रजीत राईलगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ । यसअघि बहसको समय बाँडफाँटका हिसाबले बुधबार सम्मका लागि समय तोकिएको थियो । तर, प्रतिवादीको बहसमा धेरै वकिलहरूले नाम टिपाएकाले थप एक दिन बहस लम्बिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा यही जेठ १० गते अभियोगपत्र दर्ता गरेको थियो । त्यसपछि आरोपीहरुको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस सुरु भएको हो । तीन दिन सरकारी वकिल र उजुरीकर्ताका तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकिलहरुको बहस भइरहेको छ ।

उक्त घटनामा ३० ज नालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरु विरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोही अनुसार सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो । त्यसमाथि सार्वजनिक ओहदामा बसेका व्यक्तिको हकमा थप तीन वर्ष सजाय हुनसक्छ । कैदका साथै २८ करोड ८१ लाख बिगो समेतको माग गरिएको छ । उक्त घटनाका आरोपी १२ जना अझै फरार छन् ।

footer