kumari
stcnepal

कोशी प्रदेशका सांसदहरूलाई बाँडिने भो बार्षिक डेढ अर्ब रूपैया

काठमाडौं । कोशी प्रदेश सरकारले क्षेत्र विकासका नाममा प्रत्यक्ष निर्वाचित सांसदलाई दुई-दुई करोड र समानुपातिक सांसदलाई एक-एक करोड रुपैयाँ वितरण गर्ने भएको छ । बुधबार प्रदेश सभा चल्दाचल्दैको बजेट अधिवेशन अन्त्य गरेर आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार अध्यादेश मार्फत बजेट सार्वजनिक गरेका हुन् ।

अध्यादेश मार्फत ल्याइएको आर्थिक वर्ष २०८०/०८१ को बजेटको आकार अघिल्लो वर्षभन्दा घटेको छ । यसपटक सरकारले ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट सार्वजनिक गरेको हो । चालू आर्थिक वर्षको बजेट ३९ अर्बको थियो । बिदा हुने बेलामा सर्वत्र आलोचित सांसद विकास कोषलाई कार्की नेतृत्वको सरकारले उच्च प्राथमिकता दिएको हो । यसअघि पनि प्रदेशमा सांसदहरूलाई पैसा बाँडिएको थियो । सुरूमा प्रत्यक्षमा निर्वाचितलाई एक/एक करोड र समानुपातिकलाई ५० लाख दिने व्यवस्था थियो । पछि एक/एक करोड बनाइएको थियो । यसपटक बढाएर प्रत्यक्षलाई दुई करोड र समानुपातिकलाई एक-एक करोड दिइने भएको हो ।

कोशीमा ९३ जनामध्ये ५६ जना प्रत्यक्ष निर्वाचित सांसद छन भने ३७ जना समानुपातिक सांसद छन् । अब प्रदेशमा सांसदहरूलाई मात्रै वार्षिक १ अर्ब ४९ करोड रकम वितरण हुनेछ । सार्वजनिक बजेटमा पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर्ब ३९ करोड ६३ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, कोशी प्रदेशसभा सदस्य पूर्वाधार विकास कार्यक्रममा लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रत्यक्ष निर्वाचन जितेका प्रदेशसभा सदस्यले २ करोड रुपैयाँ र समानुपातिक पद्धतिबाट निर्वाचित प्रदेशसभा सदस्यले १ करोड रुपैयाँको योजना छनोट गर्न पाउनेछन् ।

प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानी योजनाका लागि चार करोड रुपैयाँ विनियोजन गरेको छ । भुमिगत पानी उत्पादन र वितरण सुधारका लागि चार करोड विनियोजन गरेको हो ।

footer