kumari
stcnepal

साफ च्याम्पियनसिप फुटवल : नेपाल कुवेत सँग ३ – १ ले पराजित

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको बुधवार भएको उद्घाटन खेलमा नेपाली टोली कुवेत सँग ३-१ गोलले पराजित भएको छ । कुवेतले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो । नेपालले भने एक मात्र गोल दोस्रो हाफमा गरेको थियो । भारतको बैंगलोर स्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा कुवेतका लागि पहिलो गोल खेल सुरु भएको २३ औँ मिनेटमा कप्तान खालिद हाजिहले गरेका थिए ।   दोस्रो गोल भने निर्धारित समयको ४२ औँ मिनेटमा सबाइब अलखालदीले गरेका हुन् ।  कुवेतका लागि तेस्रो गोल निर्धारित समयको ६५औँ मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमार्फत गरेका हुन् । नेपालका रक्षापंक्तिका अनुभवी खेलाडी अनन्त तामाङले पेनाल्टी बक्सभित्र हातले बल छोएपछि कुवेतले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।

नेपालका लागि भने ६८ औँ मिनेटमा अञ्जन विष्टले गोल फर्काएका थिए ।  खेलको दोस्रो हाफमा नेपालले कुवेतलाई गतिलो चुनौती दिएको थियो । दोस्रो हाफमा नेपाली खेलाडीले कुवेतको पोस्टमा पनि केही गतिला प्रहार गरेका थिए । नेपाली टोलीको रक्षापंक्तिका खेलाडी अनन्त तामाङले राष्ट्रिय टोलीबाट खेलेको यो ५० औँ खेल थियो । साफ च्याम्पियनसिप दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको यो १४ औँ संस्करण हो । यस पटक साफ च्याम्पियनसिपमा आठ वटा राष्ट्रको सहभागिता रहेको छ ।

प्रतियोगितामा नेपालसहित आयोजक भारत, बङ्गलादेश, भुटान, पाकिस्तान, मालदिभ्स, कुवेत र लेबनानले प्रतिस्पर्धा गर्दैछन् । विश्व फुटबल महासङ्घ (फिफा) को प्रतिबन्धमा परेका कारण श्रीलंकाले भने यो संस्करणमा सहभागिता जनाउन पाएन । यस पटक कुवेत र लेबनानलाई भने आमन्त्रित टोलीको रूपमा सहभागी गराइएको हो । नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता टोली हो । पहिलो दिन बुधवार साँझ आयोजक भारत र पाकिस्तानबीच अर्को खेल हुनेछ ।

यस पटक प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै साविक विजेता भारत, कुवेत र पाकिस्तान छन् । समूह बी’ मा भने लेबनान, मालदिभ्स, भुटान र बङ्गलादेश रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल असार ९ गने भारतसँग खेल्नेछ । नेपालले तेस्रो तथा अन्तिम खेल असार १२ गने पाकिस्तानसँग खेल्नेछ । सबैभन्दा बढी साफ च्याम्पियनसिपको उपाधि जित्ने राष्ट्र भारत हो । भारतले हालसम्म आठ पटकसाफ च्याम्पियनसिपको उपाधि जितेको छ । यसैगरी मालदिभ्सले दुईपटक साफ च्याम्पियनसिप जितेको छ । बङ्गलादेश, श्रीलंका र अफगानिस्तानले एकरएक पटक उपाधि जितेका छन् । अफगानिस्तान भने यस पटक प्रतियोगितामा सहभागी छैन ।

footer