kumari
stcnepal

कांग्रेसलाई तर्साउन र एमालेलाई, दबावमा राख्न समाजवादी मोर्चा

 

सत्ता गठबन्धनमा रहेका दलहरु मध्येका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र माओवादी केन्द्रबाट विभाजित भएको नेत्र विक्रम चन्दले नेतृत्व गरेको पार्टी सहितको पार्टीहरुले समाजवादी मोर्चा बनाएका छन् । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेलाई एकल्याउन र सत्ताको प्रमुख घटक नेपाली कांग्रेसलाई दबावमा राख्ने रणनीतिक उदेश्य लिएर मोर्चा बनाएका हुन् । समाजवादी मोर्चा बनाएर पार्टी बनाउने रणनीति लिएका छन् । नेपालमा कम्युनिष्ट नामधारी पार्टीहरुको संख्या २०÷२२ वटा भएपनि उनीहरुले स–साना पसल चलाईरहेकाले गर्दा कम्युनिष्टहरु एकै ठाउँमा उभिन सक्ने अवस्था भने देखिएको छैन ।
व्यक्तिगत स्वार्थले गर्दा कम्युनिष्ट एकै ठाउँमा बस्न नसकेका हुन् । माओवादी केन्द्र र नेकपा एमाले मिलेर नेपाल कम्युनिष्ट पार्टी निर्माण गरेका भएपनि सो पार्टी समेत चल्न सकेन र विभाजित भयो । पार्टीगत स्वार्थ भन्दा पनि व्यक्तिगत स्वार्थले गर्दा पार्टी विभाजित हुँदै आएको अवस्थामा निर्माण भएको समाजवादी मोर्चा किन र केका लागि भन्ने प्रश्न उठिरहेको बेला त्यस्ता प्रश्नहरुको उत्तर नै नखोजी सत्ता स्वार्थकै लागि मात्र मोर्चा गठन गरिएको आरोप मोर्चा गठन नहुँदै लागेको थियो । कांग्रेसलाई तर्साउन र एमालेलाई दबावमा राख्न मोर्चा निर्माण गरिएको हो भने त्यो किमार्थ उचित छैन ।
नेपालका कम्युनिष्टहरु एकै पार्टीमा बस्नु भनेको भ्यागुताको धार्नी पु¥याउनु सरह हो । कम्युनिष्ट पार्टीहरु सबै एकै ठाउँमा उभिन सकेको खण्डमा उनीहरुले संघीय संसद र प्रदेशसभामा समेत सहज रुपमा बहुमत ल्याउन सक्ने विगतको निर्वाचनले देखाईसकेको छ । नेकपा एमालेलाई एक्ल्याउने उदेश्यले मात्र साजवादी मोर्चा बनाएको जस्तो अहिले देखिएको छ । नेकपा एमाले अहिले पनि कम्युनिष्ट पार्टीहरु मध्येको सबैभन्दा ठुलो र शक्तिशाली पार्टी रहेको छ । संघीय संसद र प्रदेशसभामा ऊ प्रमुख प्रतिपक्षी रहेको छ भने कोशी प्रदेशमा अल्पमतको सरकार सञ्चालन गरिरहेको छ । नेकपा एमालेको मुलुकभरमा नै संगठनात्मक अवस्था राम्रो रहेको छ भने माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत अन्य कम्युनिष्ट पार्टीहरुको अवस्था निकै कमजोर रहेको हुनाले उनीहरुले जनताको सेवा र हकहितका लागि होइन पार्टीगत र व्यक्तिगत स्वार्थ पूरा गर्नैका लागि समाजवादी मोर्चा बनाएका हुन् ।
माओवादी केन्द्रको अवस्था दिनप्रतिदिन खस्कँदै गएको र आफू कमजोर अवस्थामा पुग्न सक्ने आंकलन गरेरै पुष्पकमल दाहालले मोर्चा बनाउने रणनीति लिएका हुन् । अध्यक्ष दाहालको यो रणनीतिका मुख्य दुई उदेश्य रहेको देखिन्छ । पहिलो हो नेकपा एमालेलाई एक्ल्याउनु, एमालेलाई एक्ल्याएर एमालेका नेता तथा कार्यकर्ताहरुलाई मोर्चामा ल्याउने पहिलो रणनीतिक उदेश्य रहेको छ भने अर्को हो त्यही मोर्चाको बल देखाएर नेपाली कांग्रेसलाई दवावमा राख्ने । मोर्चामा सहभागि हुने दलहरु माओवादी केन्द्र संघीय संसदमा ३२ सांसद रहेका छन् । नेकपा एकीकृत समाजवादीका १० र जनता समाजवादीका १२ गरी जम्मा ५४ सांसदको नेतृत्व गर्ने अवसर पुष्पकमल दाहालले खोजेका हुन् । मोर्चा बनाएर मोर्चाको सहयोग विना कांग्रेस एमाले कसले पनि सरकार निर्माण गर्न नसक्ने अवस्था मोर्चा गठबन्धनपछि निर्माण हुने भएकाले गर्दा पुष्पकमल दाहालले लामो समयसम्म आफू प्रधानमन्त्रीमै टिकिरहने रणनीतिक उदेश्यका साथ मोर्चा गठनको निर्णय लिएका थिए । मोर्चाको गठन पछि कांग्रेसलाई दवामा राख्न सकिने विश्वास दाहाल, माधव नेपाल र उपेन्द्र यादवले लिएका छन् । त्यही कारणले गर्दा उनीहरु मोर्चा गठन गर्न सहमत भएका थिए ।
अहिलेको सत्ता गठबन्धनले प्रधानमन्त्री दाहाललाई २ वर्षसम्म प्रधानमन्त्रीमा रहिरहने निर्णय पहिला नै गरेको र दाहाल पछि नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई डेढ वर्ष प्रधानमन्त्री बनाउने र पछिल्लो डेढ वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर प्रधानमन्त्री बन्ने र उनैको नेतृत्वको सरकार २०८४ मा संघीय संसद र प्रदेशसभाको निर्वाचन गराउने सहमति सत्ता गठबन्धनमा भएकाले गर्दा त्यो सहमतिलाई पछिल्लो समयमा तोड्नका लागि मोर्चा निर्माण गरिएको हो । मोर्चा निर्माण पछि कांग्रेसले आफ्नो अवस्था हेरेर निर्णय गर्न सक्ने भएकाले गर्दा कांग्रेस र एमालेले नचाहाँदा नचाहँदै पनि कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बन्न सक्ने अवस्था आउन सक्छ । दाहालले कांग्रेसलाई दवावमा राख्ने प्रमुख उदेश्यले नै मोर्चा बनाएको भन्दै कांग्रेसका नेताहरुले अब कांग्रेसले सत्ता छोड्नुपर्ने बताइरहेका छन् ।
कांग्रेसभित्र अहिले पनि सत्ताको विपक्षमा ठुलो आवाज उठेको छ । प्रधानमन्त्री दाहालले एकलौटी ढँगले सरकार सञ्चालन गरेको र कांग्रेसका मन्त्रीहरु निरिह भएको आवाज उठिरहेका बेला कांग्रेसलाई दबावमा राख्न मोर्चा गठन गरिएको हुनाले कांग्रेस सहितको सत्ता गठबन्धनको सरकार लामो समयसम्म सञ्चालन हुन सक्नेमा आशंका उब्जिएको छ ।
नेकपा एमाले सहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेमकिपा सहितका पार्टीहरु अहिले विपक्षी दलमा रहेका हुनाले उनीहरुको संख्या संघीय संसदमा १ सय २४ पुग्ने भएकाले विपक्षी दललाई अन्य पार्टीहरुले सहयोग र समर्थन नगरुन् भनेर प्रधानमन्त्री दाहालले मधेशवादी दलहरुलाई समेत मोर्चामा आउन आग्रह गरेका थिए । राप्रपा, रास्वपा, एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टी एकै ठाउँमा उभिन सकेको खण्डमा अर्को सरकार निर्माण हुन सक्ने भएकाले गर्दा अर्को बैकल्पिक सरकार निर्माण नहोस् भनेर आ आफ्नो स्वार्थका लागि समाजवादी मोर्चा गठन गरिएको छ ।
मोर्चा गठन भएपनि त्यस्ता दलहरुको नीति, सिद्धान्त नै अलग अलग भएको र माओवादी केन्द्र र अध्यक्ष पुष्पकमल दाहालमाथि अनेक प्रकारका आरोप लाग्दै आएकोमा ती आरोपलाई माधव नेपाल, उपेन्द्र यादवलगायतका अन्य नेताहरु सहजै रुपमा दाहालमाथिका आरोप स्वीकार गर्न तयार होलान् भन्ने प्रश्न समेत उठेको छ । केही समयका लागि मोर्चा गठन भएपनि सो मोर्चा समेत लामो समयसम्म चल्न सक्ने सम्भावना देखिँदैन । कम्युनिष्टहरुमा एकको अस्तित्व अर्कोले सहजै स्वीकार गर्न सक्ने स्वभाव र चरित्र नै नभएकाले गर्दा त्यस्तो मोर्चाको हालत पनि नेपाल कम्युनिष्ट पार्टीकै जस्तो हुने हामीले ठहर गरेका छौँ । त्यसैले भन्न सकिन्छ भ्यागुताको धार्नी पु¥याउन मुस्किल भनेर ।

footer